‘लिनिङ स्पोर्ट्स’ को ट्रेडमार्क चोर्नेको पसल बन्द गर्न आदेश
जिल्ला प्रशासन कार्यालय,काठमाडौंले उद्योग विभागले गरेको आदेश कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर,काठमाडौंसँग सहयोग मागेको छ । प्रशासनले आज परिसरलाई एउटा पत्र पठाउँदै आदेश कार्यान्वयनका लागि आवश्यक सहयोग गरिदिन भनेको हो ।
‘उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीबाट भएको अन्तरकालीन आदेश समेतका कागजातसमेत पाना ४ यसैसाथ संलग्न छ’,पत्रमा भनिएको छ,‘व्यहोरा संलग्न पत्रबाट अवगत गरी सो सम्बन्धमा तत्काल आवश्यक सहयोग हुन त्यहाँ कार्यालयमा पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
चिनियाँ ब्राण्डेड कम्पनी ‘लिनिङ स्पोर्टस’ को आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनीले ट्रेडमार्क चोरेर सामान उत्पादन र बिक्री गर्ने रिलोड फुटवेयर,सुनापति फेन्सी स्टोर,म्याप फेशन,दोर्जे कलेक्सन,हाम्रो अनलाइन, अनलाइन हब, तपाईँको अनलाइनविरुद्ध उद्योग विभागमा मुद्दा दायर गरेको थियो ।
‘नक्कली सामानको उत्पादन तथा बिक्री वितरणमा रोक लगाई पाऊँ’ भन्दै कम्पनीले दायर गरेको मुद्दाको दर्ता नम्बर ०८१–टीएम–१९१५ रहेको छ । विभागका महानिर्देशक ज्ञवालीको इजलासले गत कात्तिक १७ गते लाइनिङ ट्रेडमार्क र त्यसको लोगो प्रयोग गरी सामान उत्पादन र बिक्रीवितरण नगर्नु–नगराउनु भनि अन्तरकालीन आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ,‘हाललाई लिनिङ नामक ट्रेडमार्क र सोको लोगोको प्रयोग गरी तयारी पोशाकहरु (स्पोर्टस वेयर), जुत्तालगायतका सामग्रीहरु अनलाइन, अफलाइन, वाट्सएप र पसलमा राखि बिक्री वितरण नगर्नु–नगराउनु ।’
साथै, ती सामान अनलाइनमार्फत र पसलमा राखि बेचेको पाइएमा अनलाइन पोर्टल र पसल तुरुन्त बन्द गराउन मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश दिइएको हो । आदेश कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएकोमा प्रशासनले आवश्यक सहयोगका लागि प्रहरीलाई अनुरोध गरेको हो ।
टिप्पणीहरू