वरिष्ठ अधिवक्तासङ्ग पूर्व राष्ट्रपतिको सल्लाह
जेनजी मुभमेन्टपछि मुलुकमा उत्पन्न परिस्थितिबारे विभिन्न पक्षसँग निरन्तर संवादमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविद्ध भिमार्जुन आचार्यसँग छलफल गर्नुभएको छ ।
बालुवाटारस्थित भण्डारीकी जेठी छोरी उषाकिरणको निवासमा हिजो उहाँहरूबीच भेटवार्ता भएको हो । भदौ २४ गते भंगालस्थित निवास ध्वस्त भएपछि उहाँको बसोबास उषाकिरणको घरमा हुँदै आएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेत सहभागी रहेको उक्त भेटमा प्रतिनिधिसभाको आगामी निर्वाचन,संविधान र कानुनको अवस्थालगायत समसामयिक विषयमा विमर्श भएको बताइएको छ । त्यसक्रममा पूर्व राष्ट्रपति भण्डारीले निर्वाचनबाटै निकास खोज्नुपर्ने धारणा राखेको संविधानविद् आचार्यले जानकारी दिनुभयो ।
संसद पुनर्स्थापनाले जेनजीको माग सम्बोधन नहुने उल्लेख गर्दै उहाँले चुनावको वातावरण बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । तोकिएको समयमा निर्वाचन नहुँदा आउनसक्ने संवैधानिक संकटबारे पूर्व राष्ट्रपतिले संविधानविद्ध आचार्यसँग चासो राख्नुभयो ।
सुशीला कार्की नेतृत्वको सरकार परिवर्तन हुनसक्ने आमचर्चा र त्यसले निम्त्याउन सक्ने राजनीतिक तथा संवैधानिक जटिलताबारे पनि उहाँहरुबीच छलफल भएको बताइएको छ । हिजै पूर्व राष्ट्रपति भण्डारीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
यसअघि उहाँले प्रधान सेनापति अशोकराज सिग्देल र एक पूर्वप्रधानसेनापतिलाई त्यहीँ भेटघाट गरिसक्नुभएको छ ।
टिप्पणीहरू