सुशीलाको नेतृत्वप्रति बिद्या भण्डारी सकारात्मक
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुशीला कार्की नेतृत्व वर्तमान सरकारप्रति सकारात्मक धारणा राख्नुभएको छ ।
प्राप्त म्याण्डेडअनुसार सरकार निर्वाचन गराउने दिशामा अघि बढेको भन्दै उहाँले सन्तुष्टि व्यक्त गर्नुभएको हो । आज बिहान आफूलाई भेट्न आएका गृहमन्त्री ओमप्रकाश अर्यालसँगको अन्तरंग कुराकानीमा उहाँले भन्नुभयो- 'सरकारले गरेका प्रयास सकारात्मक दिशामा छन्, यो तल-माथि हुनु भएन ।'
प्रधानमन्त्री कार्कीको व्यक्तित्वको प्रशंसा गर्दै उहाँले सरकार सफल हुने विश्वास समेत व्यक्त गर्नुभएको बताइएको छ । आम नागरिकले सरकारप्रति ठूलो भरोशा राखेको बताउँदै भण्डारीले यसलाई अवसरका रूपमा लिएर काम गर्न गृहमन्त्री अर्याललाई सुझाव दिएको जानकार स्रोतले सुनायो ।
पूर्वराष्ट्रपति भेट्न गृहमन्त्री अर्याल आज बिहान ११ बजे बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निवास पुग्नुभएको थियो । भेटका क्रममा मुख्यत: फागुन २१ को निर्वाचन र मुलुकको राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार ०७० सालको दोस्रो संविधानसभा निर्वाचन गराउन कुन-कुन पक्षलाई कसरी मनाइएको थियो भन्नेबारे भण्डारीले लामो अनुभव सुनाउँदै दलहरूलाई विश्वासमा लिन गृहमन्त्रीलाई सुझाव दिनुभएको छ । राजनीतिक दलहरूको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको थियो । अहिलेजस्तै चुनाव गराउने म्याण्डेड पाएको सरकारले घोषित मितिमै संविधान सभाको निर्वाचन गराएको थियो । तत्कालीन अवस्थामा भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो ।
चर्को राजनीतिक विवादका बीच खिलराजको नेतृत्वमा सरकार बनाएको स्मरण गर्दै उहाँले त्यतिबेला आफूले जोखिम मोलेको अनुभव पनि सुनाउनुभयो । उहाँले भन्नुभयो- 'त्यतिबेला दलहरू चुनावको लागि तयार थिए, दलहरूकै सहमतिमा त्यो सरकार बनेको थियो । र, बाह्य शक्तिहरू पनि चुनाव हुनुपर्ने पक्षमा थिए ।'
तर, अहिले सरकार र राजनीतिक दलहरूबीच विश्वासको वातावरण बन्न नसकेको भन्दै उहाँले त्यसतर्फ गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभएको स्रोतले जानकारी दिएको छ । सरकारप्रति आममान्छेले भरोशा गरेको भए पनि दलहरू तयार नभएसम्म चुनाव सम्भव नहुने धारणा उहाँले राख्नुभयो ।
नागरिक समाज र मिडियालाई पनि विश्वासमा लिएर चुनावी वातावरण बनाउनेतर्फ ध्यान दिन पूर्वराष्ट्रपति भण्डारीले सल्लाह दिनुभएको छ । 'कांग्रेस ढिलो चाँडो चुनावमा जाने मनस्थितिमा देखिन्छ । एमालेले पनि विस्तारै निर्णय गर्छ होला', उहाँको भनाइ उदृत गर्दै स्रोतले भन्यो, 'नागरिक समाजलाई पनि मुभिलाज गर्न सके दलहरूलाई पनि दबाब पर्छ र चुनावको वातावरण बनाउन सकिन्छ ।'
टिप्पणीहरू