गृहको पत्र प्रसाईंको कार्यालयमा, २६ गते वार्तामा बोलाइयो

गृहको पत्र प्रसाईंको कार्यालयमा, २६ गते वार्तामा बोलाइयो

राजसंस्था पुर्नस्थापनाका लागि मंसिर पहिलो सातादेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले वार्तामा बोलाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेल आज दिउँसो गृह मन्त्रालयको पत्र बोकेर भक्तपुरस्थित 'नागरिक बचाउ महाअभियान'को कार्यालय पुगेका थिए । प्रसाईं हाल भारतमा रहेका कारण महाअभियानका प्रवक्ता माधव कल्पितले पत्र बुझेका छन् । 

कल्पितका अनुसार पत्रमा सरकारले कात्तिक २६ गते बिहान १० बजे वार्तामा आउन भनेको छ । यसअघि विज्ञप्ति जारी गरेर प्रसाईंलाई वार्तामा बोलाए पनि छलफलबाट ठोस निष्कर्ष निस्किएको थिएन । 

मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाई स्वदेश फर्किएपछि वार्तामा जाने कि नजाने भन्नेबारे निर्णय हुने प्रवक्ता कल्पितले बताएका छन् । प्रसाईले आन्दोलनमा सहभागी हुन भारतबाट एक लाख मानिस काठमाडौँ आउन लागेको अभिव्यक्ति दिएपछि पछिल्लो समय सुरक्षा निकायले चनाखोपूर्ण ढंगले उनको गतिविधिलाई नियालिरहेको छ ।
 

टिप्पणीहरू