जेनजी विध्वंसमा संलग्नविरुद्ध विशेष अदालतको किटानी जाहेरी
जेनजी आन्दोलनको नाममा विध्वंश मच्याउनेमाथि विशेष अदालत काठमाडौंले पनि प्रहरीमा किटानी जाहेरी दिएको छ । अदालतले आज जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जाहेरीसँगै सिसिटीभी फुटेजलगायत प्रमाण पनि प्रहरीलाई बुझाइएको छ । जाहेरीमा तोडफोड र आगजनीबाट अदालतमा ६ करोड ८८ लाख २८ हजार रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख गरिएको उनले बताए ।
यसअघि सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि तोडफोड, आगजनी र लुटपाट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
जेनजीका नाममा गत भदौ २४ गते ओर्लिएको भीडमा अराजक वा स्वार्थी समूह मिसिँदा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्री निवास, प्रहरी भवनलगायत सयौं सरकारी संरचना, निजी आवास र व्यापारिक प्रतिष्ठानहरु जलाइएको थियो ।
टिप्पणीहरू