नबिलका डेपुटी एनआइसीमा, सट्याकसुटुक बालुवाटारमा
एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओको जिम्मेवारी दिने निर्णय गरेको छ ।
आगामी चार वर्षका लागि नियुक्त शाक्यले ३० दिनभित्र पदीय जिम्मेवारी सम्हाल्नेछन् । हाल नबिल बैंकको वरिष्ठ डेपुटी सिइओमा कार्यरत शाक्य उताको जिम्मेवारी छाडेर अब एनआइसी जाने छन् । एनआइसीका यसअघिका सिइओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
तर,शाक्यको नियुक्तिको खबरपछि केन्द्रीय बैंकका हाकिमहरुले ‘क’ वर्गका वाणिज्य बैंकलाई जारी गरेको एकीकृत निर्देशनको संस्थागत सुशासनसम्बन्धी व्यवस्था इ. प्रा.निर्देशन नंं. ६-०८१ को निर्देशन नम्बर २० (३) मा रहेको व्यवस्था पल्टाएका छन् । उक्त बुँदामा लेखिएको छ, ‘इजाजतपत्रप्राप्त क वर्गका वाणिज्य बैंकमा कार्यरत दोस्रो वरियताको पदाधिकारी सेवाबाट हटेपछि ६ महिनाको अवधि व्यतित नभई इजाजतपत्रप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन पाउने छैन ।’
उनीहरुले सिइओ र डेपुटी सिइओहरुलाई लगाएको कुलिङ पिरियडबारे पनि चर्चा गरेका छन् । यसअघि हलोदेखि हाइड्रोसम्मको नारा घन्काउँदै तत्कालीन मेगा बैंकमा सिइओ बन्न पुगेका अनिलकेशरी शाह पुनः नबिल बैंकको डेपुटी सिइओमा फर्केर केही महिनापछि सिइओ बनेपछि राष्ट्र बैंकले विशेषगरी सिइओ र डेपुटी सिइओमा कुलिङ पिरियडको व्यवस्था गरेको थियो । सिइओले छ महिनासम्म अर्को बैंकमा समान पद वा पद घटुवा भएर जान नपाइने र डेपुटीले समान पदमा छ महिनासम्म जान नपाउने उक्त व्यवस्थामा छ ।
नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिलमा आफूभन्दा कनिष्ठ मनोज ज्ञवालीलाई विनोद चौधरी समूहले सिइओ बनाएपछि आफ्नो ढोका बन्द भएको महसुस गरेका थिए । अहिले एक तहमाथिको सिइओमा जाँदा कुलिङ पिरियड अभावमा उनले नबिलको महत्वपूर्ण बिजनेस उता सार्ने आशंका कतिपयको छ । शाक्य विरोधीहरु भन्छन्, ‘समान पदमा जान रोक लगाउने तर माथिल्लो पदमा जान पाउने भन्ने कुरोमा दम देखिएन । यसमा पुनरावलोकन गरिनुपर्छ ।’
यता,राष्ट्र बैंकका एकजना कार्यकारी निर्देशकले भनेका छन्, ‘गभर्नर, डेपुटी गभर्नरले उक्त नियुक्तिलाई कसरी लिएका छन् भन्ने कुरो बुझेपछि मात्रै हामी कर्मचारीले मुख खोलौंला । कुलिङ पिरियडको उद्देश्यवारे विचार गर्दा अब सिइओलाई घटुवा भएर जान नपाइने भनेझैँ डेपुटीलाई पनि अर्को बैंकको सिइओमा जाँदा छ महिनाको कुलिङ हुनुपर्ने हो कि भन्ने चर्चा आजदेखि चल्न थालेको छ ।’
टिप्पणीहरू