आफ्नै देश घुम्दा चित्त नबुझ्ने कुरा

आफ्नै देश घुम्दा चित्त नबुझ्ने कुरा

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक हो । हिमाल, पहाड र तराईले नेपालको सुन्दरतालाई अझै बढाएको छ । नेपालको सुन्दरता हेर्न विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । साहसिक गतिविधिका निम्ति नेपाल उत्तम गन्तव्यमा पर्दछ । पछिल्लो समय पर्यटकको रोजाइमा पदयात्रा (हाइकिङ) परेको छ । पदयात्राका लागि नेपालमा दर्जनौं गन्तव्य छन् । 

म आफैं पनि हरेकचोटि नेपाल आएको बेला पदयात्रामा निस्किन्छु । मैले पदयात्रा गर्न थालेको १० वर्ष भइसकेको छ । प्रकृतिसँग रमाउँदै गरिने पदयात्राले व्यस्त जीवनशैली र तनावबीच शरीर र मन दुवैलाई ‘रिफ्रेस’ गराउँछ । हालसम्म मैले एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, कालापत्थर, शिवपुरी, बारेभीर, पोखरा, चितवन, लुम्बिनी, दार्जिलिङ, नगरकोट, धुलिखेलको पदयात्रा गरेको छु । 

ती ठाउँ जाँदा मलाई नेपालमा पर्यटन विकासको राम्रो सम्भावना छ भन्ने महसुस हुन्छ । सरकारले ती क्षेत्रलाई व्यवस्थित गर्न सके पर्यटकीय क्षेत्रबाट राज्यले राम्रो आम्दानी गर्न सक्छ । त्यसका लागि पर्यटकलाई आवश्यक सेवासुविधाको व्यवस्थापन गर्न सक्नुपर्छ । पदयात्रा गर्नेसँग सरकारले पैसा लिइरहँदा व्यवस्थापनको चरम अभाव छ । 

सबैभन्दा आवश्यक र प्राथमिकता दिएर सुधार गर्नुपर्ने सडकको हो । सडक दयनीय अवस्थामा छन् । बाटो छिचोल्नै धेरै गाह्रो छ । दोस्रो समस्या सरसफाईको हो । अधिकांश होटलमा सरसफाइको चरम अभाव छ । ओछ्यानमा बिच्छ्याएको तन्ना, सिरानीको खोल लामो समयदेखि नधोएकोजस्तो देखिन्छ । मैले यात्रा गर्दा मनलाग्दी गाडीभाडा लिएको भेटें ।

सिन्धुपाल्चोकको पाँचपोखरी ट्रेकका लागि जाँदा काठमाडौंदेखि छिमीसम्म एक जनाको ६५० रुपैयाँ लिइयो । होटल र यातायात व्यवसायीले मनलाग्दी पैसा लिइरहँदा लाङटाङ राष्ट्रिय निकुञ्जले लिने राजश्व भने एकदमै न्यून छ । ठूलो संख्यामा पर्यटक आउने गरेकोमा निकुञ्जले प्रतिव्यक्ति जम्मा एक हजार रुपैयाँ मात्र लिने गरेको छ । 

राजश्व बढाउन सकेमा राज्यले राम्रै आम्दानी गर्न सक्छ । त्यहाँ कार्टेलिङ सिष्टम भएकाले पर्यटकले निकै समस्या खेप्दै आएका छन् । एउटा होटलले ५० जना ग्राहक नपाएसम्म अर्को होटलले राख्न नपाउने व्यवस्था पाँचपोखरी क्षेत्रमा लागु गरिएको छ । खाना मीठो नभए पनि जुन होटलमा राख्यो, त्यहीँ बस्नुपर्ने बाध्यता छ । सबै होटलमा पाउने खाना प्रायः उस्तै छ । 

दाल, भात र तरकारी मात्रै सर्भ हुँदा वाक्क लाग्ने गरेको छ । खानाका परिकार फेर्न निकै जरुरी छ ।   पाँचपोखरीका होटलमा गाँजा र रक्सीको बिक्री भइरहेको पाएँ । उनीहरूले आफ्नै बारीमा गाँजा उब्जाएर खुलेआम पाँच सय रुपैयाँमा बिक्री गरिरहेका छन् । सरकारले यो नियन्त्रण गर्न निकै आवश्यक छ । यसले मानवीय क्षतिको जोखिम निम्त्याउँछ । अन्नपूर्ण बेसक्याम्पमा छोङरोङदेखि नै इन्टरनेट, बत्तीको सेवासुविधा छ । यद्यपि, त्यहाँ तातोपानी छैन । तातोपानीको व्यवस्थापन गर्न धेरै खर्च लाग्दैन, तैपनि गरेको पाइएन । तातोपानी नहुँदा पर्यटकलाई असहज भएको अनुभूति गरेँ । पाँचपोखरीमा बत्ती र इन्टरनेट दुवैको सेवासुविधा छैन । 

देउरालीभन्दा माथि कतैपनि बत्ती जडान गरिएको छैन । नेटवर्कले नटिप्ने भएकाले कुनै व्यक्ति त्यहाँ फसेमा उद्धार गर्न निकै समस्या छ । कुनैपनि होटलमा मूल्यसूची टाँगिएको छैन । जसका कारण अन्नपूर्णमा जथाभावी शुल्क लिइरहेको अवस्था छ । एउटा पर्यटकलाई दुई हजार लिइरहँदा अर्कोलाई २५ सय लिइरहेका छन् । यसले विश्वसनीयतामा गम्भीर संकट ल्याउँछ । 

होटल व्यवसायीले ग्राहकबाट महँगो शुल्क लिइरहँदा राज्यलाई तिर्नुपर्ने राजश्व भने तिरेका छैनन् । त्यहाँ सबै ‘ह्याण्ड टु ह्याण्ड’ कारोबार हुन्छ । उनीहरुले सोही व्यवसायबाट काठमाडौंमा घर बनाइसकेका छन् । तर, सरकार राजश्वविहिन छ । सरकारले राजश्वको दायरामा ल्याउने हो भने राज्यकोषमा धेरै रकम संकलन हुन्छ । जुन रकम बाटोघाटो र पर्यटकीय स्थल सुधारमा प्रयोग गर्न सकिन्छ ।

– माधव थपलिया, हाल : टेक्सस, अमेरिका
 

टिप्पणीहरू