भ्रष्टाचार गर्ने हाकिम, पैसा जम्मा गर्ने बुहारी

भ्रष्टाचार गर्ने हाकिम, पैसा जम्मा गर्ने बुहारी

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख दानबहादुर श्रेष्ठले भ्रष्टाचारबाट कमाएको करोडौँ रुपैयाँ आफ्नै बुहारीको नाममा लगानी गरेको तथ्य बाहिरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा श्रेष्ठविरुद्ध झण्डै साढे एक करोड रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

श्रेष्ठ इलाम डिभिजन वन कार्यालयका तत्कालीन डिभिजनल वन अधिकृत (दशौँ तह) रहँदा गैरकानुनी ढंगले करोडौँ सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि सेवा प्रवेश गरेको ०४८ असारदेखि ०८० फागुनसम्म श्रेष्ठको वैधानिक आय दुई करोड १६ लाख ५० हजार देखिए पनि खर्च तीन करोड ६० लाखभन्दा बढी भएको निष्कर्ष निकालेको छ।

एक करोड ४३ लाख १८ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको र पेश गरिएको सम्पत्ति विवरण समेत मेल नखाएकाले अख्तियारले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार, श्रेष्ठले गैरकानुनी कमाइको रकम बुहारी भावना बरुवाल सञ्चालक रहेको फरेस्ट एण्ड इन्भाइरोमेन्ट रिसर्च अर्गानाइजेशन प्रालि मा लगानी गरेको पाइएको छ । सम्पत्ति जफतका लागि श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ र बुहारी भावना बरुवाल दुवैलाई सह–प्रतिवादी बनाइएको छ।

टिप्पणीहरू