कुलमानको नयाँ पार्टी

कुलमानको नयाँ पार्टी

उर्जा, जलस्रोत तथा सिन्चाइमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ताको लागि आन्तरिक गृहकार्य तीब्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जान लागेको चर्चा चलिरहेको बेला उनले नयाँ पार्टी बनाएर आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको बताइएको छ । 

रास्वपा छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ,कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकाल लगायतलाई समेटेर घिसिङले दल खोल्न लागेको स्रोतले बताएको छ । बुझिएअनुसार केही दिनमै नाम टुंगो लगाएर निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिने तयारी छ । चुनाव चिन्ह 'बिजुलीको चिम' राख्ने मोटामोटी सहमति भइसकेको बताइन्छ । 

केही दिनअघि बालुवाटारमा जेन-जी अगुवाहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई  चुनाव लड्ने हो ? भनेर सोधेकी थिइन् । उनले प्रष्ट जवाफ नदिए पनि निर्वाचनमा जाने संकेत दिएका थिए । 

‘चुनावको प्रसंग उठेपछि प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईं के गर्ने हो भनेर सोध्नुभएको थियो’, बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘मन्त्रीज्यूले स्पष्ट जवाफ त दिनुभएन, तर उहाँको संकेत चुनाव लड्छु नै भन्ने थियो ।’

त्यसो त, घिसिङको नेतृत्वमा रास्वपा पुर्नगठन गर्न लागेको चर्चासमेत नचलेको होइन । यो प्रक्रियामा लागेका रास्वपाका केही नेताले नक्खु कारागारमा रहेका सभापति रवि लामिछानेसँग केही चरण छलफल पनि गरेका थिए । तर, रविले नेतृत्व छोड्न आफू जेलमुक्त हुनुपर्ने शर्त राखेपछि घिसिङ नयाँ पार्टी खोल्ने तयारीमा लागेको बताइन्छ । 

केही समययता घिसिङ, पूर्व शिक्षामन्त्री श्रेष्ठ र ढकाल प्रायः दैनिकजसो भेटिरहेकाे उनीहरूकाे सामाजिक सञ्जालकाे गतिविधिबाट पनि प्रष्ट हुन्छ । अधिकांश समय गाउँघरमा बस्न रुचाउने ढकाल दल गठनकै लागि पछिल्लो समय काठमाडौँ केन्द्रित भएको स्रोतले बतायो ।

टिप्पणीहरू