काँग्रेस नेतालाई डर : ‘जो चोर, उसैको ठूलो स्वर’ पो भन्ने हुन् कि ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नेताको नाम भजाउँदै बुख्याँचा खडा गरेर हावामा तरबार चलाउने कम्युनिष्ट शैली नेपाली काँग्रेसमा भित्रिएको टिप्पणी गरेका छन्। उनले जनतामा विश्वास जगाउने गरी महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रहसमेत गरेका छन्।
सामाजिक सञ्जालमा लेखेका छन्,‘कांग्रेसको महाधिवेशन कसैले रोक्दैन, रोक्न सक्दैन, यो समयमै भएरै छाड्छ। महाधिवेशन रोक्न थालियो भन्दै बुख्याँचा खडा गरेर हावामा तरवार चलाउने कम्युनिस्ट शैली कांग्रेसमा राम्रैसँग भित्रिएको देखियो। हुन त यो कम्युनिष्टसँगको लामो उठबसको प्रभाव पनि होला।’
उनले थप भनेका छन्, ‘कांग्रेसको केन्द्रीय कार्यालय जलेको छ, जिल्ला तहका कार्यालय पनि तोडफोड भएका छन्, जलेका छन्। सभापतिमाथि कुटपिट भएको छ। लोकप्रिय भनिएका महामन्त्रीहरूका घर पनि जलेका छन्। सयौं कांग्रेसीका घरहरू लुटिए, तोडफोड भए, आगजनी भए। यो त सत्य हो?’
नेता काफ्लेले नेपाली काँग्रेस थुप्रै प्रश्नबाट घेरिएको पनि बताए। पार्टीका पदाधिकारीबीचको स्वार्थ, तानातान र नेतृत्वको होडबाजीसँग जनताले पार्टीमाथि गरेका प्रश्न जोडिएको उल्लेख गर्दै उनले हालको नेतृत्वमा रहेका सबै पदाधिकारी सत्ताको भागबण्डामा सामेल रहेको आरोप लगाए।
‘सरकार सञ्चालनको संयन्त्रमा बसेर राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्ने नीतिगत निर्णयमा मज्जाले सहभागी थिए,’ उनले भने, ‘आफ्नो स्वार्थअनुरूपको भाग खाएका पनि थिए। यो त आरोप होइन नि? ‘जो चोर, उसैको ठूलो स्वर’ भनेर हामीलाई कसैले भनिदियो भने के होला हालत?’
उनले भने, ‘हामीले नै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेका हौं, संघर्ष पनि गरेका हौं र जनतासामु लोककल्याणको वाचा पनि गरेका हौं। त्यो बखत अब आइन्दा कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन भनेर जनतालाई आश्वस्त पनि पारेका हौं। त्यसो भन्ने युवाहरू आज पार्टी नेतृत्वमै छौं।’
उनका अनुसार, जनताले निर्वाचित गरी सरकार सञ्चालनमा सहभागिता रहे पनि जनतामाझ गरेका वाचा प्रतिकाँग्रेस इमान्दार नदेखिएको कारण प्रश्नहरू उठेका छन्। यसको सामना सिङ्गो पार्टीले गर्नुपर्ने उनको भनाइ छ। जनताका प्रश्नलाई नजरअन्दाज गरेर वा ढाकछोप गरेर पानीमाथिको ओभानो बन्न खोज्नु अर्को ठगी भएको काफ्लेले ठहर गरे।
‘हाम्रो नेतृत्वमा जारी गरिएको संविधानमा हामीले जनताका ३१ प्रकारका आधारभूत हक प्रबन्ध गरेका छौं। तिनलाई हामीले कागजको खोस्टोमा लेखेर रद्दीको टोकरीमा फालेको सम्झेका त होइनौं? त्यही संविधान लेख्नका लागि त्यत्रो संघर्ष भयो। हजारौंको ज्यान गयो, मानिस अङ्गभङ्ग भए। हामीचाहिँ सत्ताको होडमा आपसमा खोसाखोसी गरेर बस्न सुहाउँछ?’ काफ्लेले प्रश्न उठाए।
‘लोकतान्त्रिक समाजवादको यात्रा कहाँ पुग्यो?’ भन्दै उनले शिक्षामा र स्वास्थ्यमा भएको व्यापार, त्यसमा पार्टी नेतृत्वको साझेदारी र जनतालाई झुक्याउने कार्य नै अहिलेको विकृति भएको ठहर गरेका छन् ।
‘नेतृत्वमा रहेकाहरू जनताका मुद्दाबाट टाढा भएर यो अवस्था सिर्जना भएको हो भनेर दुनियाँले भन्दैछन्। अनि म ठीक छु भन्दै हिँड्दा त लाज पनि लाग्दैन र, महोदय?’ काफ्लेको प्रश्न छ ।
‘आफूलाई केन्द्रमा राखेर होइन, जनतालाई केन्द्रमा राखेर कुरा गरौं। पार्टी कार्यालयमा त वीपी, गणेशमान, सुवर्णशम्शेर, किशुनजी, गिरिजाबाबु, महेन्द्रनारायण निधि, सुशील कोइराला, शैलजा आचार्य, भीमबहादुर तामाङका फोटोहरू पक्कै झुण्डिएका छन्। यसको मतलब तिनले देखाएको देश, जनता र लोकतन्त्रप्रतिको त्याग र समर्पणको बाटो चिनौं भन्ने हो,’ उनले भने, ‘जनता र तिनका हक बेवास्ता गरेर पार्टीको इतिहास भजाएर खाने दिन गए। जनताले हाम्रो राजनीतिक इमान्दारिताको परीक्षा गरिरहेका छन्, यसमा समीक्षा गरौं न।’
‘विचार, चरित्र, नीति, कार्यक्रम, इमान र नैतिकतामा प्रतिबद्ध भएर अधिवेशनमा जाऊँ, जनताबीचमा जाऊँ, आमचुनावमा जाऊँ। अधिवेशन आजै गरौं या भोलि नै, यो सहज विषय हो,’ उनले भने, ‘यसलाई जटिल बनाउनु पर्दैन। यसमा राजनीति गर्नुको मतलब हामी अझै पनि जनताको जीविका, सरोकार र लोककल्याणका मुद्दामा सिरियस छैनौं।’
‘म फेरि पनि अपील गर्दछु — जनताका हकको कार्यान्वयनमा केन्द्रित बनौं। आडम्बर, ढोङ र पाखण्डबाट माथि उठेर जनताप्रति इमान्दार बन्ने सन्देश बोकेर मात्र अधिवेशनमा अहिले नै जाऔं, तर सच्चिएर। आमचुनावमा जाऔं एकताबद्ध भएर,’ काँग्रेस नेता काफ्लेले भनेका छन्।
टिप्पणीहरू