मैले यसै नेपाल छाडेको हो र !
जसले देश छाड्छ उसलाई मात्रै गहिरो अनुभूति हुन्छ आफ्नो मातृभूमिको । आफू जन्मिएको, बसिरहेको भन्दा राम्रो ठाउँ रोज्नु मानवीय स्वभाव हो । मान्छेहरू आफ्नो गाउँ, ठाउँ, समाज, देश कि रहरले छाड्छन् कि त बाध्यताले । देशभित्र बसाइँसराइले त्यति फरक पार्दैन किनभने आफ्नो भाषा, संस्कृति मिल्ने ठाउँ खोजेर गएका हुन्छन् । जब कोही विदेश भासिन्छ र परदेशी बन्छ, साँच्चिकै ऊ गुमनाम हुन्छ ।
म त्यही परदेशी हुँ । सबैभन्दा बलवान समय रहेछ । सानैमा पैसा कमाउनु यतिबेला अभिशाप लाग्दै छ । व्यापार, सत्ता र हतियार आफूसँग भइञ्जेल मात्रै रहेछन् । हातबाट गुमेपछि त्यो पाउनु अति मुश्किल रहेछ । त्यसको महत्त्व आफूबाट फुत्किएपछि जो–कोहीलाई थाहा हुन्छ । जवानीको मात केही पनि होइन, जब पैसाको मात लाग्छ त्यो जति अन्धो र भयंकर कोही हुँदैन । म पनि पैसाले मात्तिएको थिएँ सानै उमेरमा । मेरो अभिमान त्यतिबेला चुरचुर भयो, जतिबेला स्कूल बस कुरिरहेकी पाँच वर्षीया छोरीको चोकोफन चकलेट खाने चाहना पूरा गर्न सकिनँ ।
त्यो दिनको कुरा सम्झँदा मन चसक्क हुन्छ । ०५० सालतिर दैनिक एक लाख व्यापार हुने मेरो ‘मित्र एग्रो भेटेरेनरी’ पसल चालै नपाई यसरी सुक्दै गयो कि २०६९ को साउन १ पुग्दा बिहान ९ बजेसम्म ५ रुपैयाँ पनि व्यापार भएको थिएन । त्यही दिन धुलिखेले गोपालसाहु (हाल स्वर्गीय) ले एउटा चोकोफन चकलेट पनि पत्याएनन् । त्यो दिन भित्रभित्रै भक्कानिएर रोएँ । अनि पहिलोचोटि झल्याँस्स भएँ तर अभिमान भने खस्केको थिएन । बनेपामा दुइटा घर थिए । चोकैमा एग्रोभेट पसल छँदै थियोे । एउटा टोयोटा माइक्रोबस, २ वटा टाटा मिनी ट्रक, ५ वटा महिन्द्रा बोलेरो पिक अप, एउटा टाटा डिआइ गाडी थिए । काभ्रेको एक नम्बर काभ्रे टाइम्स पत्रिका र नामी रेडियो एबिसी एफएम छँदै छ भन्ने ठूलो भ्रम थियो ।
वास्तवमा त्यो बाहिर देखिने कुरा थियो, भित्र त दुवै घर बैंकमा धितो थियोे । गाडी सबै बैंकका नाममा थिए । गाडीमा जुँगे ड्राइभरबाहेक अरूले कहिल्यै नाफा देखाउँदैनथे । ४ गाडी पार्टनरसिपमा दिएको थिएँ । पार्टनरले किस्ता बुझाउने बेला पूरा किस्ता पनि दिँदैनथे । रेडियोमा नाम चलेका नेता र पत्रकार साझेदार थिए तर सहयोग थिएन । रेडियोमा स्टाफलाई तलब खुलाउन सुको आम्दानी थिएन ।
भरिएर पोखिनु र उम्लिएर पोखिनुमा पनि अन्तर हुने रहेछ । पहिला अभिमानमा पोखिन्थेँ । अहिले बरफ पग्लिएझैँ पोखिँदै छु ।
रेडियो बजाउन दैनिक ७ हजारको पेट्रोल लाग्थ्यो । आत्माराम थापाको उग्रचण्डी पेट्रोल पम्पमा १ लाख सधैँ उधारो बाँकी रहन्थ्यो । मात्रै नाफामा त्यही काभ्रे टाइम्स पत्रिका थियोे । २०६९ मा पुग्दा भीम ढकाल, ज्ञानबहादुर श्रेष्ठको पसलबाट पालैपालो चामल उधारोमा लिएको घरमा पत्तो थिएन । एग्रोभेट पसलको लगानी रेडियोमा र गाडीमा गरेपछि काभ्रे जिल्लाकै पहिलो र देशकै दश नम्बरमा आउने पसल विस्तारै सुक्यो । प्रतिस्पर्धामा अरु एग्रोभेट आए । कम्पनी र साहुहरूले पत्याउन छोडे । म बाहिर सकुशल देखिए पनि भित्रभित्रै मक्किएको थिएँ । राति अबेर घर जान्थें । लुकेर भट्टी पस्ने बानी लागिसकेको थियोे । २०६९ कै अर्को एउटा घटना– घरबाट चारदोबाटोको स्कूल बससम्म छोराछोरीलाई मोटरसाइकलमा राखेर पुर्याउन आउँदै थिएँ । बुडोलको ओरालो नपुग्दै तेल सकियो । खल्तीमा एक रूपैयाँ थिएन । उग्रचण्डी पेट्रोल पम्पमा उधारो माग्दा रेडियोकै त्यत्रो उधारो बाँकी छ, अब तपाईंलाई आत्माराम दाइले उधारो नदिनु भन्नुभएको छ– पम्पमा काम गर्ने केटोले यसो भनेपछि नाजवाफ मोटरसाइकल डोर्याएर हिँडे ।
छोराछोरीलाई फुटपाथबाट हिँड्न अह्राएँ । मोटरसाइकल डोर्याउँदा पसिना–पसिनाले भिजेको थिएँ । सोचें– ओहो, म त कुहिएको फर्सीजस्तै भएछु । मैले यो जहाज पार लगाउने शक्ति आफूमा देखिन । छोराछोरीलाई स्कूल पठाएपछि पसलको कुर्सीमा बसेर फेरि सोच्न पुगेँ । म अब यहाँ यसरी बसिरहेँ भने डिप्रेसनमा जान्छु भन्ने लाग्यो । गते र बार त थाहा भएन साल २०६९, महिनाचाहिँ साउन थियो । हो, त्यही दिन देश छाड्ने निर्णय लिएको थिएँ । २०७० असार २ गते त्यो निर्णय एक वर्ष नपुग्दै साकार त भयो तर विदेश कहाँ सजिलो रै’छ र ? मलाई त तावाबाट उम्किएको माछा भुङग्रोमा परेजस्तै भयो । कुहिरोमा हराएको कागजस्तो । विदेश त घाँटीमा अड्किएको तातो पिँडालु जस्तो ।
यहाँ लेखीसाध्य छैन, कति लेखौँ कति भनौँ ? कति लुकाएर राखौँ ? हो, जीवनमा कहिल्यै नसोचेका घटना भइछाड्यो । न कल्पना थियो यो विदेश । न सपना नै थियो, न कुनै योजना बुनेको थिएँ । धेरै पर पुगेछु । हिँडेर जाने हो भने यो जुनीमै नपुगिने ठाउँ । अर्कैको देशमा, अर्कैको भाषामा । ट्रान्जिट भूमि गन्दा तीन दर्जन पुगे होलान् मैले टेकेका देशहरू । विश्वकै शक्तिशाली देश अमेरिका पनि बसियो, युरोपका गल्लीमा बौलाहाझैं भौंतारियो तर हरेक रात नेपालकै सपना आइरह्यो । अब बाँच्नुलाई के गर्व गर्नु ? यी दिन त्यत्तिकै आएका होइनन् । हरेक दिनले अनमोल छाप छोडेर गएका छन् । दुःख पाउनुपर्छ, संघर्ष गर्नुपर्छ अनि थाहा हुन्छ जिन्दगी कति मीठो छ भनेर ! हो, हरेक मान्छेका परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन । त्यही परिस्थितिसँग जुध्न नसकेर देशबाट भागेको मान्छे म । कहिले–काहीँ समयले यति छल गर्छ कि कसरी बताऊँ ? त्यही छल नै जिन्दगीको गतिलो पाठ बन्दोरहेछ । आज यही कुरा यहाँ लेख्नुपर्यो जो मैले जिन्दगीमा सोचेकै थिइनँ ।
म आफैँ कहिलेकाहीँ फेसबुकका स्टाटसमा पोखिन्छु, छ्ताछुल्ल हुने गरी । भरिएर पोखिनु र उम्लिएर पोखिनुमा पनि अन्तर हुने रहेछ । पहिला अभिमानमा पोखिन्थेँ । अहिले बरफ पग्लिएझैँ पोखिँदै छु । पोखिनलाई पनि जानिरहनु पर्दोरहेनछ । जब भरिन्छौँ नि थोपाहरू स्वतः अलग हुँदा रहेछन् । जमेर एकढिक्का भई बस्न धेरै गाह्रो हुँदो हो र त, हेर्दा निर्धक्क सेतै जमेर बसेको त्यो हिमपहाड पनि आफैँमा पग्लिएर पोखिइदिन्छ र बगिदिन्छ हिमनदी ।
‘धेरै कुरा गर्नु थियो, सम्भव कहाँ हुँदोरहेछ र ! कति सपनाहरू बेवारिसे भए, नाता प्रमाणित नभएको अवैध सन्तानजस्तो । बादलझैं उड्छ मन, सुदूर क्षितिज छुँदै । भावनामा पुग्छु आफ्नै सालनाल गाडिएको जन्मठाउँ । जन्मदेखि मृत्युबीचको यात्रा हो, जीवन । अटल र अविरल हुन्न त्यो पनि । सकुँला, नसकुँला तर तपाईं हाम्रो हृदय जोड्ने एउटा साँघु बनाउने मन छ एउटा गतिलो आत्मकथा लेखेर ।’
बिदेशमा केही कमाइ हुन्न, मात्रै दुःख छ । हरेक दिन पोष्टबक्स खोल्दा आउँछन् तिर्नुपर्ने बिलहरू । हामी त कमारोजस्ता पो हुने रहेछाैँ– कमाउँदै सरकारलाई तिर्दै । नेपाली रूपैयाँमा भन्दा लाख लाखमा तलब बुझ्ने तर बचत हजारमा पनि नहुने अवस्थालाई के राम्रो भन्नु विदेश ? यो परदेशमा गज्जबको सम्पत्ति विवरण छ, मसँग कैयौं थान यस्ता याद छन् । अध्ययनको अतृप्ति भोक छ, मैले टेकेका भूगोल, एकमुठी सास र अनमोल सिर्जनाका बिस्कुन छन् । जो कृतिका रूपमा तपाईंहरूमाझ ल्याउने वाचा गर्दै अहिले बिदा माग्छु ।
– बेलायत
टिप्पणीहरू