विदेशी शक्तिको नाम किट्नुपर्दैन ?
जुनियरलाई टपक्कै टिपेर स्तुतिगानमा लगाउने एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पुस्ताका नेतालाई पनि जिल्याउने बाटोमा पुगेका छन् । उनका पछिल्ला गतिविधि र तयारी महेश बस्नेत, भानुभक्त ढकाल, सूर्य थापालाई स्थापित र अरूलाई विस्थापित गर्नेतिर उन्मुख रहेको नेताहरू दावी गर्छन् ।
‘ओलीले महेश बस्नेत, सूर्य थापा, विष्णु रिमाल र भानुभक्त ढकाललाई जिम्मा दिन लागेको हो ?’ भन्ने प्रश्नमा एमालेका एक जना सचिवले त्यस्तै संकेत गरे । एकातिर यी पात्र हावी हुने, अर्कोतिर दोस्रो पुस्ताकाले निरीहता देखाउँदा स्थिति ओलीकै इशारामा नाच्नुपर्नेतर्फ केन्द्रित हुँदै गएको ती नेताको जिकिर छ । युवा नेताको खुलेर तारिफ गर्नुपर्दा ओलीले शंकर पोख्रेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, त्यसपछि राजन भट्टराई, भानुभक्त ढकाल र महेश बस्नेततिर संकेत गर्दछन् । यस्तोमा ओलीले विष्णु पौडेलको समेत नाम लिन छाडिसके । बरु बिष्णु रिमालको दुःखसुखको साथी पार्वत गुरुङलाई रुचाउने गरेको नेताहरू बताउँछन् ।
‘बूढाको तयारी यस्तै स्तुति र चाकरीमा रमाउनेतिर नै होला । चाकडीको चटारो छ । केन्द्रीय कमिटीको बैठकमा रघुवीर महासेठले मुखै फोरेर अध्यक्षज्यू, वरिपरिको घेरा फराकिलो बनाउनुस्, त्यसले नै हो तपाईंलाई एक्ल्याएको भनेर मञ्चबाटै भनिदिए,’ स्रोतले भन्यो । योगेश भट्टराईसहितका केही नेताले महासचिव शंकर पोखरेललाई अध्यक्षमा तपाईं अघि बढ्नु न त नभनेका होइनन् ।
‘मलाई विष्णु पौडेलले मान्नुहुन्न, ईश्वर पोख्रेलले मान्नुहुन्न, सुरेन्द्र पाण्डेले मान्नुहुन्न । यतिले नमानेपछि म अध्यक्ष बन्न सम्भव छैन’ भन्नुभएछ शंकर कमरेडले । अहिलेको परिस्थिति जस्तो भए पनि महाधिवेशनबाट ओली सर्वसम्मत हुँदैनन् भन्नेमा नेताहरू प्रष्ट छन् । कोही नभए टंक कार्कीलाई भए पनि उठाउँछन् । ओलीलाई अप्ठ्यारोमा पार्न केही नेताले ईश्वर पोखरेललाई अगाडि बढाउने सल्लाह पनि गरेका छन् । ‘ठ्याक्क नम्बर टु भएर बसेका तर अलि निरीह मान्छे रहेछन् । आँटै गर्दैनन् । केमा फसेका छन् थाहा छैन,’ स्रोतले भन्यो ।
अर्कोतिर विष्णु पौडेलले पनि सिधै ओलीसँग लड्न आँट नगर्ने नेताहरू बताउँछन् । ‘उहाँको शंकर आए कुनै हालतमा नछोड्ने, ओलीसँग नलड्ने नीति हो कि जस्तो लाग्छ,’ स्रोतले भन्यो । पकड बनाउनकै लागि ओलीले जिल्लामा आफूअनुकूल सदस्यता बाँडेको नेताहरू बताउँछन् । ‘तलबाट प्रतिनिधि त्यसैगरी आउँछन् । एकदम गजब छ, केही समस्या छैन भन्ने पारेका छन् अध्यक्षलाई,’ उही स्रोतले भन्यो ।
तत्काल नेतृत्व छोड्न दबाब परेपछि परिस्थितिलाई अर्कैतिर मोड्न ओलीले मंसिरभित्रै आफैं अनुकूलको महाधिवेशन घोषणा गरिदिए । त्यसैले उनको विरोधी स्वरलाई मत्थर बनाएको हो । स्रोत भन्छ, ‘दुई महिनालाई कसैले पनि नेतृत्वबाट हट्नैपर्छ भनेर अडान लिने र थप दबाब बढाउने कुरा भएन ।’
महाधिवेशनको मिति नआएको भए बबाल हुने अवस्था रहेको नेताहरू बताउँछन् । एक वर्ष अवधि बाँकी रहँदै महाधिवेशन घोषणा भएपछि उषाकिरण तिम्सिनाले जस्तो अहिले नै छोडिहाल भनेर अरूले कराउन सकेनन् । बैठकमा धेरैले बाहिरको कारण यस्तो भयो, उस्तो भयो भन्ने प्रश्न उठाए । तर, अर्काथरीले यस्ता अमूर्त कुरा नगर्न सजग गराएका थिए । ‘विदेशीले यस्तो गरे, उस्तो गरे मात्रै भनेर हुँदैन ।
बलियो सरकारलाई हटाइदिने शक्ति को हो ? नाम त लिनुपर्यो भन्ने कुरा जोडतोडले उठे,’ स्रोत भन्छ, ‘अमेरिका हो कि, भारत हो कि, चीन हो कि, रुस हो कि ? जापान पो सरकार गिराइदिने शक्ति हो कि ? त्यस्तै हो भने अब एकखाले राष्ट्रिय मुक्ति युद्ध लड्नुपर्ने भयो ।’ यी विषयमा ओलीले प्रष्ट खुलेर कुरा राखेनन् । सेनाले आफूलाई राखेको ठाउँ कहाँ हो भनेर समेत केही बोलेनन् । ‘विदेशीले खेले भन्ने तर ठ्याक्कै यही नै हो भन्न नसक्ने यस्तो पनि हुन्छ ? जसको नामै नभनी कुनै निशाना कसरी लाग्ला ?’ एमाले स्रोतले भन्यो ।
सूचनामै फेल
माक्र्सवादीहरू आन्तरिक कुरा प्रधान हुन्छ भन्दै बहस गर्छन् । तर, यत्रो घटना हुँदा सूचना पाउन नसक्नेलाई के शक्तिशाली भन्ने ? ‘देशकै उच्च तहमा बस्नेले भाग्ने स्थिति आउँदासमेत किन सूचना पाउनुभएन ?’ स्रोत भन्छ, ‘आन्तरिक समस्या किन उल्लेख नगर्ने ? बाह्य कारण मात्र भनेर हुन्छ ? आफ्नो कमी–कमजोरी खुलस्त नभन्ने, नस्वीकार्ने पार्टी द्वन्द्वात्मक भौतिकवादी हुन्छ ?’ आन्तरिक प्रमुख कारणमा ओलीको आफ्नै अहंम थियो । माओवादीले विपक्षी भएको रिस फेर्यो । रास्वपा पुराना दलसँग बदलाको भावनामा लाग्यो ।
टिप्पणीहरू