निर्वाचन भन्ने, आयोग नजाने
गत भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशले राज्य सत्ता र राजनीतिमा ठूलो हलचल ल्याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै नेताहरू सैनिक सुरक्षामा पुगे भने मुलुक संकटकालीन अवस्थातिर धकेलियो ।
भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको डेढ महिना बितिसकेको छ । प्रधानमन्त्री पदको शपथ लिएको केही मीनेटमै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधि सभा विघटनको सिफारिस गरिएको थियो ।
राष्ट्रपति पौडेलले सोहीबमोजिम संसद् विघटन गर्दै आउँदो फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेका छन्। तोकिएको समयमा निर्वाचन सम्पन्न भएको अवस्थामा नयाँ पुस्ता र नयाँ सोचको उदय हुने विश्वास गरिएको छ।
तर निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको म्याद (कात्तिक मसान्त) नजिकिँदै गर्दा जेनजी आन्दोलनका अगुवाहरू भने अझै तयारीमा जुटेका छैनन्। आयोगका अनुसार सो अवधिभित्र दर्ता प्रमाणपत्र नलिए चुनावमा सहभागी हुन पाइँदैन।
जेन जी : सडकमा ऐक्यबद्ध, राजनीतिमा छरपस्ट
सडकमा एकसाथ होमिएका जेनजीहरू अहिले विभाजित छन्। उनका माग, एजेन्डा र उद्देश्यहरू फरक–फरक दिशामा गइरहेका छन्। आन्दोलनले क्षतविक्षत बनाएका पुराना दलहरू भने पुनः संगठित हुँदै चुनावी तयारीमा जुटिसकेका छन्।
दल दर्तामा निवेदन दिनेहरू
चुनाव घोषणापछि विभिन्न पेशा र पृष्ठभूमिका व्यक्तिहरू दल दर्ताका लागि आयोगमा पुगेका छन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। उनले चुनाव चिन्ह ‘माटोको ढिस्को’ मागेका छन्। एक महिना बित्दासमेत उनको दल दर्ता हुन सकेको छैन।
त्यस्तै, डा. गोपीलाल न्यौपानेले ‘नेपाल लिबरल पार्टी’ घोषणा गर्दै चुनाव चिन्ह ‘सिक्का’ सहित कात्तिक २ गते निवेदन दिएका छन्। डा. सुरेन्द्र भण्डारीले असोज ९ गते ‘नेपाल नागरिक पार्टी’का लागि निवेदन दिएका थिए।
व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले समाजशास्त्री दिनेशप्रसाद प्रसाईंको अध्यक्षतामा ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरी असोज ३० गते निवेदन दिएका छन्। यसको चुनाव चिन्ह ‘ज्योति’ प्रस्ताव गरिएको छ।
त्यस्तै, युवा नेता हिराप्रसाद सोतीले कात्तिक २ गते ‘राष्ट्रिय जेनजी पार्टी’ दर्ताका लागि निवेदन दिएका छन्। सो दलले चुनाव चिन्ह ‘क्रस खुकुरी’ मागेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’को ‘कम्युनिष्ट पार्टी नेपाल’ र रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ पनि दर्ता प्रक्रियामा छन्।
घोषणा त भयो, निवेदन अझै छैन
जेन जीका प्रमुख अगुवा मिरज ढुंगानाले कात्तिक १ गते पत्रकार सम्मेलनमार्फत नयाँ दल गठनको घोषणा गरेका थिए। तर दुई साता बित्दा पनि उनले आयोगमा निवेदन दिएका छैनन्। दल दर्ताको समयसीमा नजिकिँदै जाँदा ढुंगानाको मौनताले अन्यौलता सिर्जना गरेको छ — के उनी पछाडि हटे, कि कुनै नयाँ शक्ति वा गठबन्धनको खोजीमा छन्?
दल दर्ता प्रक्रियामा डेढ दर्जन
निर्वाचन कार्यतालिकाअनुसार फागुनको निर्वाचनमा सहभागी हुन चाहने दलले कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनुपर्छ। तर आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म एउटै नयाँ दल पनि औपचारिक रूपमा दर्ता भएको छैन।
‘हाल १७ वटा दल दर्ता प्रक्रियामा छन्,’ भट्टराईले भने, ‘तर कसैले पनि सम्पूर्ण कागजात बुझाउनुभएको छैन। हामीले मागेका कागजात पेश गरेपछि मात्रै दर्ता प्रक्रिया पूरा हुन्छ।’
हाल एक सय २४ दल
आयोगका अनुसार हालसम्म दर्ता प्रमाणपत्र लिएका दलहरूको संख्या एक सय २४ पुगेको छ। यीमध्ये पुराना दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि लिएर विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसम्म छन्।
अन्य साना दलहरूमा नेपाल मजदुर किसान पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय एकता पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), हाम्रो नेपाली पार्टी, परिवर्तन पार्टी र सयौं नामसहितका दल दर्ता भइसकेका छन्।
टिप्पणीहरू