सुत्केरीको मृत्युपछि किष्ट अस्पतालमा लफडा
डेलिभरीको क्रममा एक सुत्केरीको मृत्यु भएपछि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा लफडा भएको छ । मृतकको परिवारले अस्पतालमा ढुंगामुढा गरेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गर्भवती भएदेखि नै सोही अस्पतालमा नियमित चेकजाँच गराइरहेकी खोटाङकी ३२ वर्षीया मीना राईको अस्ति मृत्यु भएको हो ।
छोरी जन्माएपछि अत्याधिक रक्तस्राव हुन थालेकोमा उनको निधन भएपछि परिवारले अस्पतालमा निरन्तर आन्दोलन गरिरहेका छन् । आफन्त राज थेबेका अनुसार उनी डेलिभरीको डेटभन्दा पाँच दिनअगावै अस्पताल भर्ना भएकी थिइन् । हिँड्दै अस्पताल गएकी मीनाको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको उनको आरोप छ ।
‘चाडबाडमा सिनियर डाक्टर नहुने रहेछन् । एउटा सुई हान्नुपर्ने ठाउँमा दुईटा सुई हानिदिएछन् । बच्चा जन्माएपछि लगातार रक्तस्राव भइरहेकोमा उहाँको अस्ति निधन भएको हो ।’
जनआस्थासँग उनले भने,‘चाडबाडमा सिनियर डाक्टर नहुने रहेछन् । एउटा सुई हान्नुपर्ने ठाउँमा दुईटा सुई हानिदिएछन् । बच्चा जन्माएपछि लगातार रक्तस्राव भइरहेकोमा उहाँको अस्ति निधन भएको हो ।’ नवजात शिशुको अवस्था पनि एकदमै गम्भीर रहेको उनको भनाइ छ । अस्पतालले बच्चा पढाउने र जागिर लगाउने सहमति नगरेसम्म आन्दोलन नरोकिने थेबे बताउँछन् ।
अगाडि थपे,‘हाम्रो माग अस्पतालले बच्चा पढाइदिनुपर्ने र ठूलो भएपछि जागिर लगाइदिनुपर्ने भन्ने हो । यसअघि वार्तामा बस्यौं तर उहाँहरुले हामीलाई टार्न खोज्नुभयो । उहाँहरुले माग सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिनेछौं ।’ मृतकका आफन्त र प्रहरीबीच दुईपटक भिडन्त भइसकेको छ भने प्रहरीले भर्खरै उनीहरुमाथि अश्रुग्याँस पनि प्रहार गरेको छ ।
आन्दोलनमा प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईलगायतको सहभागिता छ । उनीहरुले माग सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन् ।
टिप्पणीहरू