सुरक्षा प्रमुखहरुमाथि विदेशीसामु बिकेको आरोप

सुरक्षा प्रमुखहरुमाथि विदेशीसामु बिकेको आरोप

एमालेको सचिवालय बैठकमा सहभागी भएर निस्किएका अधिकांश नेताको एउटै निश्कर्ष देखियो– ओलीको सोच सप्रिएन, मुलुक नराम्ररी द्वन्द्वमा फस्ने भयो । नेता–कार्यकर्ताको व्यापक दबावपछि सचिवालय बैठक बोलाउन बाध्य बनेका निवर्तमान प्रधानमन्त्री ओलीले बैठकमा ‘संसद पुनःस्थापनाको माग लिएर आन्दोलन गर्ने र फागुन २१ गते हुने निर्वाचनमा सहभागी नबन्ने, धारणा राख्दै त्यसमा आफ्नो अडान पेश गरेपछि अन्य नेताको ठहर हो, यो ।

एक सचिवालय सदस्यका अनुसार युवा संघका महेश बस्नेतको उक्साहटमा ओलीले ‘टोलटोलमा युवा सुरक्षा दस्ता परिचालन गर्ने र संसद पुनःस्थापनाको आन्दोलन चर्काउने’ प्रस्ताव राखेका हुन् । केही सचिवालय सदस्यले ओलीको यस्तो प्रस्ताव आउनुको कारण केलाउँदै भने, ‘आफू कारबाहीबाट बच्न र माओवादी नेता कृष्णबहादुर महराझैं निरीह अवस्थामा पुग्नबाट जोगिन युवाहरूलाई भिडाउने भए, देशलाई भड्खालोमा पार्ने भए ।’ जे–जस्ता अडान राखेर पार्टीलाई अहिलेको सरकारविरुद्ध परिचालन गर्न खोजे पनि ओली निकै डराएको स्थितिमा रहेको ती नेताले जानकारी दिएका छन् । 

जेनजी आन्दोलन के थियो र कसरी भयो भन्ने सन्दर्भमा उनको विश्लेषण पनि उदेक लाग्दो छ । आफ्नो असक्षमता र नालायकीले यस्तो स्थिति सिर्जना भएको स्वीकार्न ओली तयार देखिँदैनन् । बरु सचिवालय बैठकमा उनले सबै दोष विदेशी षड्यन्त्रकारीलाई लगाएका छन् । सुरक्षा निकायका सबै प्रमुखहरू विदेशीसामु बिकेको आरोपसमेत लगाएका थिए । बैठकमा भारत वा अमेरिका कुनै मुलुकको नाम नतोके पनि पटकपटक विदेशी हस्तक्षेपले यस्तो अवस्था सिर्जना भएको दोहोर्‍याए । आफ्नो नेतृत्वमा सरकार सञ्चालन गरेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरू कसैले सहयोग नगरेको उनको गुनासो थियो । कांग्रे्रेसका विभिन्न नेताले किचलो झिकेको र भाग मात्र खोजेको जानकारीसमेत सचिवालयलाई दिए ।

कांग्रेसमा जम्मा एक जना मात्रै इमान्दार भेटिए– ती देउवा हुन् भन्ने ओलीको भनाइ थियो । माओवादी अध्यक्ष प्रचण्डलाई भने विश्वास गर्नै नसकिने व्यक्ति भन्दै दन्दनी आगो बलिरहँदा समेत प्रधानमन्त्री बन्न कस्सिएको आरोप लगाए । समाचार स्रोतका अनुसार बैठकमा प्रचण्डबारे टिप्पणी गर्दै उनले भनेका थिए, ‘भदौ २४ गतेसमेत आफू प्रधानमन्त्री बन्न प्रचण्ड हौसिएका थिए । यसैनिम्ति सिंहदरबारमा अन्य दलको भेला डाके । तर, जब आफ्नै घरमा आगो लागेको थाहा पाए त्यसपछि भागेर सेनाको शरणमा पुगेका हुन् ।’ 

सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न आफूले सिफारिस गरेको कुरालाई ओलीले अस्वीकार गरेका छन् । आफूलाई भेट्न सेना प्रमुख र राष्ट्रपति हेलिकप्टर चढेर मकवानपुरको सुपारीटारस्थित ब्यारेकमा आएको बताउँदै उनले सचिवालय बैठकमा भने, ‘उनीहरू दुवैलाई मैले संसद विघटन गर्नुहुँदैन, संविधानभित्रैबाट विकल्पको खोजी गर्नुपर्छ भनेको थिएँ । पछि संसद विघटन गर्न लागेको जानकारी पाएर फोन गरें तर फोन उठाएनन् । संसद विघटन गर्ने कुरामा मेरो समर्थन थिएन र छैन ।’ उनको तर्क थियो, ‘निर्वाचित प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिमार्फत बिघटन गर्दा त त्यसलाई अदालतले पुनःस्थापित गरिदियो र असंवैधानिक ठहर्‍यायो भने बाहिरको प्रधानमन्त्रीले कसरी संसद विघटनको सिफारिस गर्न सक्छ ? त्यस्तो सिफारिस र विघटनलाई कसरी वैधानिक मान्न सकिन्छ ?’ आफूले संविधान सम्मत निकासका लागि लेखेर दिएको तर राष्ट्रपति र सेना असंवैधानिक बाटो हिँडेको उनले स्पष्ट पारेका थिए । 

सेनाले स्थिति नियन्त्रणभन्दा बाहिर गइसक्यो, अब राजीनामा दिनुको विकल्प छैन भनेपछि हुन्छ भनेको उनले सचिवालय बैठकलाई जानकारी गराए । बैठकमा नेताहरूले अब पार्टी अध्यक्षबाट पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, पार्टीलाई नयाँ ढंगले अघि बढ्न निकास दिनुहोस् भनी आग्रह गर्दा उनको उल्टो प्रश्न थियो, ‘मैले किन राजीनामा दिने ? के गल्ती गरेँ र अध्यक्ष छोड्नुपर्ने ?’ योगेश भट्टराई र गोकर्ण विष्टलगायतले बैठकमा झम्टिएको स्मरण गर्दै एक नेताले जानकारी दिएअनुसार ओलीको आक्रोश थियो, ‘तपाईँहरू किन जान्ने भएर बाहिर धेरै बोल्नुपर्‍यो ? जे कुरा गर्नु छ, भित्रै गर्ने हो, कुरा बैठकमा राख्ने हो । बाहिर बोले ठीक हुँदैन ।’ जवाफमा भट्टराईले भनेका थिए, ‘जे नहुनु भइसक्यो– अब के को बाहिर, के को भित्र ? मैले कहीँ–कतै असभ्य भाषा बोलेको छैन । नेतृत्व परिवर्तन गर्नुपर्‍यो । पार्टी पुनर्गठन गर्नुपर्‍यो भनेर बाहिर–भित्र जहाँ पनि भन्छु, जहिले पनि भन्छु ।’ 

केपी ओलीलाई काँध थापेर हिँडिरहेका केही नेता भने काँध फेर्ने लाइनमा पुगेका छन् । उपाध्यक्ष विष्णु पौडेललगायत केही नेता अब पार्टी अध्यक्षका रूपमा विद्या भण्डारीलाई नै अगाडि ल्याउनुपर्छ भन्न थालेका छन् । तर, विष्णु रिमाललगायत केपी ओलीले पार्टी अध्यक्षको जिम्मेवारी छाड्नेबित्तिकै हैसियतविहीन अवस्थामा पुग्ने निश्चित भएका नेताचाहिँ भनिरहेका छन्– पार्टी संकटमा परेको बेला नेतृत्वको रक्षा गर्नुपर्छ, खेदो गर्नु हुँदैन, त्यसले पार्टीलाई कमजोर बनाउँछ ।’

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू