‘गलतलाई गलत भन्न सिकौं, श्रीमान् !
समाज अराजक बन्दै छ । जसले नकारात्मक अभिव्यक्ति दिन्छ वा उन्मादी गतिविधि गर्छ, उसैलाई समाजले मनपराइरहेको अवस्था छ । देशद्रोही र समाजद्रोही गतिविधि गर्ने त्यस्ता व्यक्तिहरू अदालतबाट जोगिइरहेका छन् ।
अपराध जति नै ठूलो भएतापनि न्यायालयले धमाधम सामान्य धरौटी, बन्दी प्रत्यक्षीकरण र साधारण तारिखमा छोड्दाको परिणाम आजको दण्डहीन समाज हो । राजा फर्काउने भन्दै दुर्गा प्रसाईँले गत चैत १५ गते तीनकुनेमा गरेको आन्दोलनमा दुई जनाको निधन भयो । भौतिक संरचनामा ठूलो क्षति पुग्यो । भारतबाट समातेर ल्याइएका उनलाई उच्च अदालत, पाटनले धरौटीमा रिहा गर्यो । राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर अपराधअन्तर्गत मुद्दा चलाइएकोमा केही लाख धरौटी लिएर फ्यास्स छाडियो ।
यता, भीडलाई उक्साउने राप्रपाका नेताहरू धवलसमशेर राणा र रवीन्द्र मिश्रलाई पनि पहिले बन्दी प्रत्यक्षीकरण र पछि धरौटीमा हिरासतमुक्त गरियो । प्रसाईँले सँधै समाजलाई उक्साउने खालको अभिव्यक्ति दिने गरेका छन् । पटकपटक पक्राउ परिसकेका उनी हरेकपल्ट अदालतबाटै जोगिँदै आएका छन् । राज्यविरुद्धकै कसुर गर्दापनि अदालतले मुखमा क्यान्सरपीडित भन्दै चोख्याउने गरेको छ ।
भदौ २३ र २४ गते सरकारी कार्यालय दनदनी बल्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको फौज आन्दोलनकारीलाई पानी बाँड्नमै व्यस्त थियो । केही मीटरको दूरीमै दमकल हुँदाहुँदै पनि आगो निभाउन नगएपछि महानगर नेतृत्वको चर्को विरोध भइरहेको छ ।
मेयरको दाहिने हात मानिने राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कारबाहीस्वरूप सरोज गुरागाईँले उनलाई ६ महिनाका लागि निलम्बन गरेकोमा उच्च अदालत, पाटनले काम गर्न दिन आदेश गर्यो । कामुको अवधि ६ महिनाका लागि हुनेमा झण्डै तीन वर्षदेखि महानगर प्रहरी बलको प्रमुख भइरहेका उनलाई अदालतले हटाउनुको साटो निलम्बनको निर्णय पनि उल्टाइदिएको हो ।
अदालतका कारण कारबाहीबाट जोगिएका तिनै पाण्डे अदालत जल्दा ‘खुच्चिङ’ भनेर बसेको पाइयो । २४ गते आगो लगाइएकोमा २५ गतेसम्म सिंहदरबार, सर्वोच्च अदालत जलिरहेको थियो । महानगरले चाहेको भए, अरु नजोगिएतापनि सिंहदरबार र सर्वोच्च जल्नबाट जोगिन्थ्यो । यता, न्यायाधीशहरूले ज्यान बचाएर भाग्नुपर्यो । अपराध गर्नेहरूलाई सजायको साटो उन्मुक्ति दिँदा अराजकताको बिजारोपण गर्नेहरू यसरी नै हौसिँदै गएका छन् ।
अहिले सरकारी सम्पत्तिमा आगो लगाउने र लगाउन उक्साउनेहरूले भोलि जे पनि गर्न सक्छन् । त्यो दुर्घटनाबाट मुलुकलाई जोगाउन न्यायालय गम्भीर हुनुपर्छ । न्यायाधीशहरूले पनि ‘गलतलाई गलत र सहीलाई सही’ भन्न सक्नुपर्छ । नत्र देशले भविष्यमा ठूलो क्षति खेप्नुपर्ने हुनसक्छ ।
– उपेन्द्रराज तिमल्सिना
टिप्पणीहरू