दुर्गाको दिल्लीमा बास, भारतीय पुलिसको त्रास
जेनजी आन्दोलनमा सैनिक भूमिकाउपर प्रश्न उठिरहेका बेला उसले गरेको एउटा कामको भने तारिफ भइरहेको छ । त्यो हो– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इन्गेज गराएर बैंकहरूमाथि थप तोडफोड हुन नदिनु । उनलाई प्रधानमन्त्री बनाउने भन्दा पनि हिंसा र विध्वंशमा सामेल हुन नपाओस् भनेर त्यसरी जंगी अड्डामा लोभ देखाइदेखाइ अल्मल्याइएको स्रोत बताउँछ ।
‘इन्गेज नगराएको भए बैंक लुट्न सक्थ्यो,’ उच्च सरकारी स्रोतले भन्यो, ‘खासगरी मारवाडी ग्रुपको जुन लुटपाट र क्षति भएको छ । त्यो दुर्गां प्रसाईंका मान्छेले गराएको हो । त्यही भएर त ऊ दिल्ली गएर लुक्यो नि !’
नेपालमा आफूलाई अप्ठ्यारो पर्न सक्ने भएकोले प्रसाइँ गत हप्तासम्म दिल्लीमा लुक्दा पनि उतैका प्रहरीको निगरानीमा रहेको स्रोतले दावी ग¥यो । ‘नेपालमा समस्या पर्ने देखिएपछि दुर्गा भागेर दिल्लीमा लुकेको तर त्यहाँ पनि इण्डियन पुलिसले कडा निगरानीमा राख्न थालेपछि लाचार भएर भर्खरै काठमाडौं फर्किएको छ ।’
सरकारी स्रोतले भन्यो, ‘कुनै समय एमाले र माओवादीले बोकेका प्रसाईं उनीहरूविरुद्ध नै लाग्न पुगे । राजावादी मुद्दा बोकेपछि चैत १५ गते काठमाडौंमा आगजनी र लुटपाटको घटना गराए । पत्रकारलाई आगो लगाएर मार्ने, व्यापारिक प्रतिष्ठान लुट्नेदेखि संसद भवनभित्र छिर्नेसम्मको तयारी त्यतिखेर निस्तेज भएको थियो ।
जेनजी आन्दोलनको मौका छोपेर भदौ २३ गतेको घुसपैठ र २४ गतेको विध्वंशमा प्रसाईंका गतिविधिमाथि राज्यले मसिनो गरी अनुसन्धान अगाडि बढाएलगत्तै उनी दिल्ली पुगेको बताइन्छ । प्रसाईंले खुला रूपमै मारवाडीलाई नेपालबाट लखेट्ने पटकपटक बताएका थिए । उनकै आह्वानमा विनोद चौधरीदेखि अरु थुप्रै व्यवसायिक घराना आगजनी र लुटपाटमा परे । बैंकको ऋणसमेत नतिर्न अपिल गरेपछि व्यवहार बिग्रिएका थुप्रै युवा उनीसँग लागेको सुरक्षास्रोतको भनाइ छ ।
नेताको घर जलाउने नक्सा
भदौ २४ गते नेताको घर जलाउन पठाओले नक्शा सेयर गरेको आरोप खेपेको छ । ‘नेपालमा त पठाओसँग ग्लोबल म्याप नै हुने भइहाल्यो । तर त्यस्तो म्याप बनाउनेहरू थुप्रै छन् । सिंहदरबारमा जेनजी ग्रुप आएको थियो । कता–कता बनाएको नक्सा हो ठ्याक्कै घर पत्ता लाग्छ भन्दै थिए, ’ सिंहदरबारस्थित कर्मचारी स्रोतले भन्यो, ‘त्यो बनाउने मान्छे सिंगापुर बस्ने जेनजी रहेछ । त्यस्तो म्याप थुप्रैले बनाएका रहेछन् । त्यो दिन कसको प्रयोग भयो भन्नेमा पुलिसले अनुसन्धान गरिरहेको छ ।’ यस्ता नक्सा परिचालनमा प्रसाईंमाथि पनि अनुसन्धान चलिरहेको छ ।
भदौ २४ गते एकैचोटि राजधानीको विभिन्न स्थानमा रहेका नेताहरूको घरमा कसरी आगो झोसियो ? त्यसमा कसको हात छ ? रहश्यमयी छ । आन्दोलनकारी युवाहरूले गुगल म्यापबाट लोकेसन लिएर नेताहरूको घरमा आगो झोसेको प्रमाणसहितको समाचार यसअघि नै जनआस्थाले प्रकाशित गरिसकेको छ ।
हाल सोही विषयमा अर्को तथ्य फेला परेको छ । सो म्याप ठ्याक्कै पठाओको म्यापसँग मेल खान्छ । स्रोत भन्छ, ‘पठाओले घर–घरमा सामान डेलिभरी गर्छ । कहाँ–कसको घर छ भन्ने एक्ज्याक्ट लोकेशन पठाओसँग छ । उसले नै आन्दोलनकारीहरूलाई लोकेशन उपलब्ध गराएको हो ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि आन्दोलन सफल भएको खुशीयाली मनाएका जेनजीहरू छलफलका लागि जंगीअड्डा जाँदा पठाओका मालिक असिममान सिंह बस्न्यात पनि पुगेका थिए ।
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू