पोखरा–भरतपुर–बुटवललाई ट्रलीले जोडिदिन जर्मनीसँग आग्रह

पोखरा–भरतपुर–बुटवललाई ट्रलीले जोडिदिन जर्मनीसँग आग्रह

जर्मनीका राजदूतसँगको भेटमा ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले पोखरा,बुटवल र भरतपुर शहरलाई जोड्ने गरी ट्रली बस सञ्चालन गर्ने योजना अघि सारेका छन्। सिंहदरबारमा हिजो भएको नेपालका लागि जर्मन राजदूत उडो युजेन भोल्जसँगको भेटमा मन्त्री घिसिङले ती शहरहरूबीच विद्युतीय सार्वजनिक यातायात प्रणाली स्थापना गर्न आवश्यक अध्ययन र प्रविधिगत सहयोगका लागि समर्थन मागेका हुन्।

उनका अनुसार पोखरा–बुटवल–भरतपुर क्षेत्रमा हाल सडक विस्तार भइरहेकाले ट्रली बस सञ्चालनका लागि पूर्वाधार तयारी गर्न सकिने अवस्था छ। उनले चार्जिङ स्टेशन स्थापना, प्रसारण तथा वितरण सञ्जाल विस्तार, र बढ्दो विद्युत् भारको व्यवस्थापनका लागि आवश्यक योजना तुरुन्त सुरु गर्नुपर्ने बताए।

भेटमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, सौर्य परियोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन, र हरित ऊर्जा रूपान्तरणका विषयमा समेत छलफल भएको थियो। मन्त्री घिसिङले जर्मनीको सहयोगमा निर्माण भएका मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजनालाई नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भन्दै सहयोग अझ विस्तार गर्न आग्रह गरे।

राजदूत भोल्जले जर्मनीले नेपालका लागि आगामी दुई वर्षका सहकार्य क्षेत्र पहिचान गर्न डिसेम्बरमा परामर्श टोली पठाउने जानकारी दिएका छन्।

टिप्पणीहरू