वायुसेवा निगममा दरबन्दीभन्दा एक हजार कर्मचारी कम

वायुसेवा निगममा दरबन्दीभन्दा एक हजार कर्मचारी कम

नेपाल वायुसेवा निगमले स्वीकृत दरबन्दीभन्दा कम  कर्मचारी कार्यरत रहेको जनाएको छ । दरबन्दी बढी कर्मचारी राखिएको भनिएका समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निगमले स्पष्ट पारेको छ, ‘स्वीकृत दरबन्दी कुल दुई हजार ३६९ रहेकोमा हाल एक हजार ४५३ जना मात्र कर्मचारी कार्यरत छन् ।’ 

जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमको कुल स्वीकृत दरबन्दी २३६९ रहेकोमा हरेक तहको पदहरु भित्रै रहि स्वीकृत दरबन्दीभन्दा कम संख्यामा कर्मचारी रहेको व्यहोरा हाल कार्यरत कर्मचारी संख्या एक हजार ४५३ ले प्रष्ट गर्दछ । यसबाट निगममा स्वीकृत दरबन्दीभन्दा बढी नियुक्ति भएको भनि विभिन्न सञ्चार माध्यममा आएको अपुष्ट खबरहरु निराधार रहेको पुष्टि हुन्छ ।’

निगमले सर्वोच्च अदालतको २०७७ फागुन १० गतेको फैसलालाई आधार बनाई लोकसेवा आयोगबाट पदपूर्तिको सहमति प्राप्त नहुँदा वा निगम कर्मचारीको सेवा, शर्तसम्बन्धी विनियमावली स्वीकृत हुने प्रक्रियामा ढिलाई हुँदा आर्थिक वर्ष २०८०–८१ देखि स्थायी पदपूर्तिको प्रक्रिया अवरुद्ध रहेको पनि जनाएको छ । 

साथै, यस अवधिमा अनिवार्य अवकाश तथा राजीनामालगायत कारणले निगमबाट साढे तीन सय स्थायी जनशक्ति बाहिरिएको निगमको भनाइ छ । लामो समयसम्म स्थायी पदपूर्ति नहुँदा ग्राउण्ड सपोर्ट विभागमा ग्राउण्ड ह्याण्डलिङका लागि कर्मचारी अभावका कारण करार सेवा पदपूर्ति गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू