जेन-जी विध्वंशमा भागेका पाँच हजार कैदीबन्दी अझै बेपत्ता

जेन-जी विध्वंशमा भागेका पाँच हजार कैदीबन्दी अझै बेपत्ता फाइल फाेटाे

जेन-जी प्रदर्शनको नाममा मच्चाइएको विध्वंशको क्रममा कारागारबाट भागेका पाँच हजार बढी कैदीबन्दी अझै बाहिर रहेका छन् । भदौ २३ को हिंसात्मक र २४ गतेको ध्वंशात्मक घटनाको मौका छोपेर मुलुकभरका २८ वटा कारागारबाट फरार भएका पाँच हजार ७९ जना अहिलेसम्म फर्किएका छैनन् । 

सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नक्कली कागज बनाएर नख्खु कारागारबाट फुत्किएपछि देशभरका जेलबाट साढे १४ हजार कैदीबन्दी भागेका थिए । ‘रविलाई छोड्ने,हामीलाई किन नछोड्ने’ भन्दै नाराबाजी गरेका उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरेकोमा तोडफोड र आगजनी गरेर भागेका हुन् । 

कारागार व्यवस्थापन विभागका अनुसार देशभर २९ हजार २२४ जना कैदीबन्दी रहेकोमा १३ हजार ५८९ जना भागेका थिए । झुम्का, सोलु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर कारागारबाट कैदीबन्दी फरार भएको विभागले जनाएको छ । 

जसमध्ये आठ हजार ५१० जना फर्किसकेका छन् भने बाँकीको खोजी जारी छ । केहीलाई पक्राउ गरिएकोमा अधिकांश भने स्वतःस्फूर्त रुपमा फर्किएको विभागको भनाइ छ । भाग्ने क्रममा झडप हुँदा र प्रहरीको गोली लाग्दा रामेछाप कारागारमा तीन र धादिङ कारागारमा दुई जनाको निधन भएको छ ।

त्यसैगरी, बालसुधार गृहबाट भागेकाहरु पनि धमाधम फर्किरहेका छन् । आठ वटा बालसुधार गृहबाट ९६३ जना फरार भएका थिए । जसमा मोरङबाट २०४, पर्साबाट ६९, भक्तपुरबाट २६६, मकवानपुरबाट ७२, कास्कीबाट १०९, जयण्डुबाट ११५, नौबस्ताबाट ७८ र डोटीबाट ५२ जना रहेका छन् । 

तीमध्ये ३४५ जना फिर्ता भएका छन् भने ६१८ जना अझै बाहिर छन् । बालसुधार गृहमा झडप हुँदा पाँच जनाको ज्यान गएको छ । 

विभाग र प्रहरी कार्यालयहरुले सूचना जारी गरेर कैदीबन्दीहरुलाई कारागार फर्किन भनेको छ । अन्यथा, कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू