जेन जीका सबै पिता माता,होशियार !
समाजमा विकृति बढ्दो छ । सानैमा मोबाइल,इन्टरनेटसँग जोडिएका र अरुको मतलब नगर्ने नयाँ पुस्ता आफ्नो र घरपरिवारको इज्जत गर्नबाट विमुख हुन थालेका छन् । भर्खरका युवा पुस्ता मनोमानीमा रमाउँदा सानै उमेरमा बेथितितर्फ आकर्षित हुनेको जमात बढ्दो छ ।
लेखपढ गर्नुपर्ने उमेरमा जेन–जीहरु ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डका नाममा कोठा–कोठा चहार्दै हिँडेपछि अभिभावकहरु टाउकोमा हात राख्न बाध्य भएका केही घटना सार्वजनिक भएका छन् । अभिभावकहरु आफ्ना छोराछोरी स्कूल वा कलेजमा पढिरहेको विश्वासमा रहँदा छोराछोरी भने अर्कै धन्दामा व्यस्त भएको खबर प्रहरीले फोनबाट दिनुपरेको छ ।
राजधानीमा गेमिङ्ग र मुभी स्क्रिनिङ्गका नाममा केही समययता नयाँ खालका व्यवसायहरु दर्ता भएका छन् । भाडामा लिइएको पूरा घरभित्र विशेषगरी जोडीलाई सिंगो कोठा दिएर गेम खेलाउने र मुभी देखाउने भनिएपनि भित्री कथा बेग्लै हुने गरेको प्रहरीको दावी छ । नयाँ खेलबारे पत्तो लागेपछि सानेपा प्रहरी र ललितपुर महानगरका जनप्रतिनिधिहरुसमेत अचम्भित भएको बताउँछन् ।
ललितपुर महानगरपालिकाको वडा नम्बर २ र ४ का वडाध्यक्ष, सामुदायिक प्रहरी,सानेपाको संयुक्त टोलीले केही दिनअघि तीन वटा त्यस्ता गेमिङ्ग र मुभी स्क्रिनिङ्ग सेन्टरमा छापा हानेका थिए । स्थानीयले अवाञ्छित क्रियाकलाप भइरहेको जनाउँदै व्यापक जनगुनासो गरेपछि ती घरमा छापा मारिएको हो ।
त्यस्तो ठाउँमा जाने युवा तथा उमेर नपुगेका टिनएजरहरु विशेषगरी अभिभावक विदेशमा भएका, होस्टेलमा बस्ने र काठमाडौंमा एक्लै डेरामा बसिरहेकाहरु अधिक रहेको जानकारहरु बताउँछन् ।
कतिपय कोठामा किशोर किशोरीहरु नग्न अवस्थामा भेटिएको स्रोत बताउँछ । प्रहरी भन्छ,‘सडकभरि दिनभर बाइक पार्किङ्ग हुने अनि केटाकेटी आइरहने भएपछि स्थानीयले गुनासो गरे । धेरै ठाउँबाट गुनासो आएपछि छापा मार्यौं । भर्खरका केटाकेटीहरुमध्ये केही आपत्तिजनक अवस्थामासमेत भेटिए ।’
‘ह्याङ्गआउट रिल’ र ‘रिल्स एण्ड रिल्याक्स’ नाम दिइएका भवन र व्यवसायमा त्यस्तो क्रियाकलाप फेला परेको स्रोतले जानकारी दियो । जसअनुसार त्यहाँ प्रति घण्टाको तीन सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिरेपछि सबै जोडीलाई छुट्टाछुट्टै कोठा दिइन्छ । कोठाभित्र आरामदायी बेड, काउच र ठूलो स्क्रिन भएको टिभी राखिएको छ ।
केटाकेटी भित्र छिरेपछि बाहिर ‘डु नट डिस्टर्ब’ को बोर्ड झुण्डाउने गरिएको देखिन्छ । ‘गेमिङ्ग र मुभी स्क्रिनिङ्ग भनिएता पनि त्यहाँभित्र हुने भनेको क्रियाकलाप आपत्तिजनक नै हो,’ छापा टोलीमा सहभागी एकजना प्रहरीले बताए ।
‘अभिभावकलाई छोराछोरी कहाँ छन् ? भन्ने थाहा छैन । छोराछोरी त्यसरी हिँडेका छन् । हामीले सञ्चालकलाई सोध्दा गेम खेलाउने र फिल्म देखाउने ठाउँ भन्छन् । धन्दाचाँहि ठ्याक्कै उल्टो छ’,स्रोतले भन्यो । प्रहरीले अवाञ्छित गतिविधि सञ्चालन भइरहेको दुईवटै घर हाललाई सिल गरिएको बतायो ।
यता, उमेर नपुगेका तीन जोडीलाई समातेर चौकी लगिएको थियो । आमाहरु चौकीमा रोइरहेको अवस्थामा उनीहरु भने ‘हामीले के गलत काम गरेका छौं ?’ भन्दै फन्किएका थिए ।
स्रोतका अनुसार ललितपुरको सानेपा, पुल्चोक र जावलाखेलमा त्यस्ता क्रियाकलाप बढी पाइएको छ । आन्तरिक राजश्व विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयमा गेमिङ्ग र मुभी स्क्रिनिङ्ग शीर्षकमा दर्ता भएकोमा त्यहाँ रुम बुकिङ्ग इन्स्टाग्राम र टिकटकबाट हुने गरेको पाइएको छ ।
प्रहरीले छापा मारेपछि घरधनीले व्यवसायीलाई अन्यत्र जान भनिसकेका छन् । यता, काठमाडौंको विभिन्न स्थानमा पनि त्यस्तो धन्दा हुने गरेको बुझिएको छ । त्यस्तो ठाउँमा जाने युवा तथा उमेर नपुगेका टिनएजरहरु विशेषगरी अभिभावक विदेशमा भएका, होस्टेलमा बस्ने र काठमाडौंमा एक्लै डेरामा बसिरहेकाहरु अधिक रहेको जानकारहरु बताउँछन् ।
पैसा कमाउनैका लागि कम उमेर र स्कूले बालबालिका लक्षित त्यस्तो व्यवसाय सञ्चालन गरिँदा भविष्यमा किशोर किशोरीकै जिन्दगी बर्बाद हुने निश्चित देखिन्छ । यसबाट बच्न स्वयम् अभिभावक सचेत हुनुपर्ने र आफ्ना सन्तानमाथि निगरानी राख्नुपर्ने जानकारहरुको सुझाव छ ।
टिप्पणीहरू