ज्योतिषका कारण पहिरोमा धेरै क्षति : मन्त्री घिसिङ
दुई दिन सम्मको अविरल वर्षाले देशभर अवरुद्ध सडक सञ्जालको पछिल्लो अवस्थाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले केही ज्योतिषको कारण पहिरोको क्षति बढेको बताए । उनले नाम नखुलाउँदै भने, ‘सरकारले दिएको सूचनालाई केही ज्योतिषहरुले यो हुँदैन गलत हो भनेर प्रचार गरे । त्यसकारण पनि ट्रेकिङ हिँडेका नागरिक अघि बढेको देखियो, जबकि सरकारले तत्काल सुरक्षित ठाउँमा बस्न भनेको थियो । हामीले दिएको जानकारीलाई गलत भन्न खोजियो, त्यसले पनि थोरै क्षति बढाउन सहयोग गर्यो कि भन्ने छ ।’
यसरी कुलमानले लक्षित गरेका ज्योतिष चाहिँ हरिहर अधिकारी हुन्, जसले आफ्नै भविष्यवाणी गर्न नसकेको पुष्टी भइसकेको छ । कलाकार समेत रहेका अधिकारीले दुई वर्ष लगाएर बनाएको चलचित्र ‘ह्रस्वदीर्घ’ गत वर्ष कात्तिक ३० गते प्रदर्शनमा आएको थियो । अधिकारीले चलचित्र हिट हुने साइत हेरेर उक्त मिति तोकेका थिए । त्यतिबेला प्रचारको क्रममै भनेका थिए, ‘साइत हेरेर प्रदर्शनको मिति फाइनल गरेका छौँ, दर्शकको राम्रो प्रतिक्रिया पाउने आशा छ ।’
तर चलचित्र प्रदर्शन भएपछि यसरी फ्लप भइदियो कि सिनेमा हलहरुमा एक हप्ता पनि टिक्न सकेन । दक्षिण भारतीय कलाकारलाई समेत अनुबन्धित गरिएको र केही छायाँकन पनि भारतमै गरिएको उक्त चलचित्रलाई दर्शकले ‘साउथ कपी’ नै भने । जसले अधिकारीको भविष्यवाणीलाई खारेज त गर्यो नै, ६ करोडमा निर्माण गरेको भनिएको चलचित्रले आधा लगानी समेत उठाउन सकेन ।
उनै अधिकारीले केही दिनअघि सरकारले भीषण वर्षा हुने भन्दै जारी गरेको सूचना गलत रहेको दावी गरेका थिए । ‘मौसम विभागले १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने भनेको छ, तर अहिलेको अवस्थालाई हेर्दा भारी वर्षा नभइ सामान्य वर्षा मात्र हुनेछ’, उनले भनेका थिए, ‘अहिलेसम्म नदेखिएको महावर्षा र ठूलो क्षति हुने देखिँदैन, ढुक्क हुनुहोस् ।’
तर विगत दुई दिनको अवरिल वर्षा, ४० भन्दा बढीको मृत्यु, दर्जनौं बेपत्ता र सयौँ घाइतेको परिदृश्यले अधिकारीको भविष्यवाणीलाई गलत सावित गरिसकेको छ ।
टिप्पणीहरू