ठेकेदारकै गाडी चढेर तस्करी अनुगमन
सिन्धुलीको दुधौली–१४, ज्यामिरेटार आसपास अवैध रूपमा खयर कटान भइरहेको समाचार सार्वजनिक भएपछि डिभिजन वन कार्यालयले अनुगमन गरेको छ । तर अनुगमन टोली ठेकदारकै गाडीमा गएको देखिएपछि स्थानीयले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
सब–डिभिजन वन कार्यालय, दुधौलीसहितका चार जना कर्मचारी खयर तस्करी भएको स्थानमा पुगेका थिए। उनीहरू खयरका गोलिया संकलनमा प्रयोग भएको प्र.२–०१००१च–०५४२ नम्बरको गाडीमै ठेकदारसँगै अनुगमनमा गएको बताइन्छ ।
डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारीले कर्मचारी मोटरसाइकलमा गएको दाबी गरे । तर कटारीबाट ठेकदारकै गाडी प्रयोग भएको तथ्य खुलेपछि उनले कार्यालयसँग आफ्नै गाडी नभएकाले भौगोलिक कठिनाइका कारण ठेकदारकै गाडी चढ्नुपरेको बाध्यता स्वीकारेका छन्।
वन कर्मचारी नै खयर कटानमा दोषी किटान गरिएको पक्षको गाडीमा हातेमालो गर्दै अनुगमनमा गएको देखेपछि स्थानीयले उक्त अनुगमनलाई शंका गरेका हुन् । जानकारहरूका अनुसार ‘कार्यालयसँग साधन नभए बरु अनुगमनै नगरे हुन्छ, तर दोषी ठहरिएका व्यक्तिको गाडी प्रयोग गरेर जाने हो भने अनुसन्धान निष्पक्ष हुन सक्दैन।’
डिभिजन वन कार्यालयले निजी जग्गामा भएको खयर कटानको अनुमति दिने र त्यही खोस्टो देखाएर सामुदायिक वनको खयर समेत मिसाइने गरेको विभिन्न तहबाट पुष्टि भएको छ। उक्त स्थानबाट बैशाख यतामात्र ७० टनभन्दा धेरै खयर निकासी भइसकेको बताइन्छ ।
सामुदायिक वनमा बढ्दो खयर तस्करीकै कारण सकिने हो कि भन्ने चिन्ता स्थानीयमा बढेको छ । खयर कटानको विषयमा समय–समयमा गाउँमा विवाद समेत हुने गरेको छ । तर डिभिजन वन कार्यालयले भने सबै खयर कटान निजी जग्गामा नियमअनुसार भएको र सामुदायिक वनको बनमारा समेत नमिसाएको दाबी गरेको छ ।
टिप्पणीहरू