काठमाडौँमा लुटिएको हतियार कैलालीमा फेला
जेन-जी आन्दोलनका नाममा मच्याईएको विध्वंसात्मक घटनामा काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयबाट लुटिएका हतियार फेला पर्न थालेका छन् । नेपाल प्रहरीले विशेष 'सर्च अभियान' नै बनाएर हतियार खोजिरहेको छ ।
भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रहरी युनिटमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा विध्वंसकारीले सुरक्षाकर्मीको हतियार लुटेर पड्काउँदै हिँडेका थिए । प्रहरी हेडक्वाटरले समिति नै बनाएर लुटिएका हतियारहरूको तथ्यांक संकलन गरी खोजी गरिरहेको छ ।
यसैक्रममा विध्वंसकारीले काठमाडौँबाट लुटेको केही थान हतियार कैलालीमा फेला परेको छ । उपत्यका प्रहरी अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इप्रका चौमालाबाट खटिएको संयुक्त टोलीले गौरीगंगा नगरपालिका- का १९ वर्षीय समिर खड्का र सोही ठाउँ घर भएका आभास चन्दको साथबाट विभिन्न हतियार बरामद गरेको हो ।
प्रहरीका अनुसार समिरले आफ्नै घरमा लुकाएर राखेको टाइप ५४ नम्बर २९००२०६५ को ७.६२ एमएम पेस्तोल एक थान, म्यागजिन एक थान र त्यसमा लाग्ने गोली २८ थान बरामद गरेको हो । आभासको साथबाट रिभल्बर बिआरएफ ५५८२ नम्बरको पेस्तोल एक थान नियन्त्रणमा लिएको छ ।
यी दुईसहित लुटपाटमा संलग्न गौरीगंगा- १ का २२ वर्षे हिमाल आचार्य र वर्ष २० को जिबेस सापकोटा पक्राउ छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
बरामद हतियार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहापथबाट लुटिएको बताइएको छ ।
टिप्पणीहरू