सहकारी, सुन र शरणार्थीका मिसिल छानी–छानी खरानी
जेन जीको ध्वंसात्मक आन्दोलनका क्रममा सर्वोच्चसहित मुलुकका २३ वटा अदालत ध्वस्त भएका छन् । मुद्दाका मिसिलसँगै इतिहास, अभिलेख र नजीर जलाएर खरानी पारिएको छ । आक्रमणमा परेका अदालतमध्ये सर्वोच्च, काठमाडौँ जिल्ला अदालत र कास्की अदालतमा मुद्दाका मिसिल र दस्तावेज सबैजसोलाई खरानी बनाइएको छ ।
काठमाडौँ जिल्ला अदालतका कर्मचारीहरुका अनुसार फाँट नम्बर ९, १३ र १४ लाई आक्रमणको तारो बनाइएको पाइएको छ। ती फाँटमा स्वर्णलक्ष्मीलगायत सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी काण्ड र सुन तस्करीसम्बन्धी मुद्दाका मिसिलहरू थिए । ती काण्डमा हाई–प्रोफाइल व्यक्तिहरू जोडिएका छन् । ती मुद्दा सबै बयान, साक्षी र बहस सकिएर अन्तिम सुनुवाइको चरणमा पुगेका थिए । तर भदौ २४ गते उल्लिखित फाँट आगजनीबाट ध्वस्त बनाइएको छ ।
तीनवटै फाँटमा रहेका धेरै प्रतिवादीका मुद्दाका फाइल खरानी भएपछि मुद्दाको प्रक्रिया सुरुदेखि नै अघि बढाउनुपर्ने बाध्यता आएको छ । जटिल प्रकृतिका मुद्दा भएकाले कसरी पुनः जगाउने भन्ने कानुनी प्रश्नसँगै चिन्ता थपिएको छ ।
भदौ २४ गते दिउँसो सुरुमा काठमाडौँ जिल्ला अदालतको भुईँतलामा रहेको अभिलेख शाखामा आगजनी गरिएको प्रत्यक्षदर्शी एक जना कर्मचारीले बताए। त्यहाँ विक्रम संवत् १९९९ देखि २०३० सम्म र २०५४ सालदेखि हालसम्मका मिसिलका अभिलेख थिए। सबैजसो अभिलेख जलेर खरानी भएकाले हजारौँमध्ये के कति अभिलेख खरानी भए भन्ने सम्बन्धमा खोजबिन थालिएको छ ।
अभिलेख शाखामा आगो लगाएपछि एउटा समूह ह्याम्मर बोकेर १३ नम्बर फाँटमा पुगेर तोडफोड गर्दै आगो झोसेको बताइन्छ । उक्त फाँटमा नक्कली भुटानी शरणार्थी प्रकरणका मिसिलहरू थिए। १३ नम्बर फाँटमा आगो झोसेपछि १४ नम्बर फाँटलाई निशाना बनाइयो। त्यस फाँटमा सहकारीसम्बन्धी मुद्दाका मिसिल थिए। यी दुबै फाँट अदालत भवनको चौथो तलामा थिए। उक्त तलामा तोडफोड र आगजनी गरेपछि त्यही समूहले तेस्रो तलामा रहेको ९ नम्बर फाँटमा आगो लगाएको थियो ।
उक्त फाँटमा ६० किलो सुन तस्करी प्रकरण समेतका मुद्दाका मिसिल थिए। अदालतका कर्मचारीका अनुसार सो प्रकरणमा भर्खरै बकपत्र सुरु भएको थियो। आगजनीका कारण उक्त फाँटमा रहेका सम्पूर्ण मिसिलहरू जलेका छन् । सुरुमा यी तीन फाँटलाई लक्षित गरेर आगो लगाइए पनि पछि पूरै अदालत नै जलाइदिँदा अन्य फाइल पनि डढेका हुन्।
कफ्र्युका बीच नख्खू र सुन्धारा जेल तोडेर कैदी–थुनुवा भागेलगत्तै अदालतमाथि हुल बाँधेर आगो लगाउन आउनुले अनेकौं आशंका उत्पन्न भएको छ । आक्रमणकारी जत्थाले छानी–छानी अदालतका फाँटमा आगो लगाएको देखिन्छ। मिसिल नै नभएपछि अभियोग र मुद्दा नै शून्य बनाउन सकिने सुनियोजित मनसायका साथ आगो लगाइएको आशंका छ ।
यता, कास्की र चितवन जिल्ला अदालतमा भएको ध्वंस पनि काठमाडौँ अदालतकै जस्तै ढाँचाको पाइन्छ । कास्कीमा प्रदर्शनकारीले भदौ २३ गतेदेखि नै जिल्ला अदालत आसपास प्रदर्शन गरेपछि दिउँसो निषेधाज्ञा जारी गरिएको थियो। नख्खू जेलबाट रास्वपा सभापति रवि लामिछाने निस्किएर उत्सव मनाएलगत्तै कास्की अदालतमा आगो लगाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।
कास्कीमा पनि सुरुमा अदालतमा आगो लगाइयो, त्यसपछि जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय जलाइयो। कास्की जिल्ला अदालतमा प्रदर्शनकारीले सुरुमै ३ नम्बर फाँटलाई निशाना बनाएको थियो । उक्त फाँटमा लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी मुद्दासम्बन्धी मिसिल थिए। लामिछानेले यही फाँटबाट मुद्दामा तारिख बुझ्ने गर्थे। यही फाँटमा तोडफोड र आगो लगाइएको सिसीटिभी फुटेजको हार्डडिस्कमा देखिन्छ ।
लामिछानेले काठमाडौँमा उत्सव मनाइरहँदा दिउँसो ४ बजेतिर कास्की जिल्ला अदालतमा तोडफोड र आगजनी भएको समय मिल्न आउँछ । एउटा हुल अदालतभित्र पस्दा न्यायाधीश र कर्मचारी त्रसित हुँदै बाहिरिएका थिए। कास्की जिल्ला अदालतमा करिब आधाजसो मिसिल जलेर खरानी भएका छन्।
यी हुबहु र मिल्दोेजुल्दो घटनाक्रमले जेन जी ध्वंसलाई भड्काएर दुरुपयोग गर्दै अपराधलाई राजनीतिकरण गर्ने प्रयास भएको अड्कल धेरैको छ ।
टिप्पणीहरू