मूर्ति राख्ने मन्दिरमा कि थुपार्ने प्रहरी चौकीमा ?
हिन्दु धर्मावलम्बीहरूले मूर्तिलाई भगवान् मानेर पुज्छन् । मूर्तिमाथि धार्मिक आस्था राख्छन् । त्यतिमात्र नभएर मूर्ति नेपालको इतिहास, सभ्यता, धर्म र संस्कृति चिनाउने एउटा माध्यम हो । मूर्ति हेर्न र अध्ययन गर्नका लागि विदेशबाट पर्यटकहरू आउँछन् । तर, सरोकारवाला निकायलाई मूर्ति संरक्षणमा चासो छैन । मन्दिरमा राखिएका मूर्तिहरू धमाधम चोरी भइरहेको छ ।
प्राचीन स्मारकको संरक्षणका लागि स्थापित पुरातत्व विभाग न हराएको मूर्ति खोज्छ न भेटिएको मूर्तिलाई सही ठाउँमा पुनःस्थापित गर्न भूमिका नै खेल्छ । मूर्तिको सही ठाउँ मन्दिर भएतापनि दर्जनौं मूर्ति नेपाल प्रहरी मातहतका कार्यालय, चौकी र क्लबमा छन् । जसको एउटा जल्दोबल्दो उदाहरण हो–महेन्द्र पुलिस क्लब । त्यहाँ दुई दर्जन बढी मूर्ति छ । जसलाई सिसाको शो केसभित्र राखिएको छ । कहाँबाट ल्याइयो ? जनचासोको विषय बनेको छ ।
राजधानीमै रहेको प्रहरी क्लबबाट मूर्ति फर्काउन नसक्ने विभागले अरु के गर्छ ? प्रश्न उठेको छ । क्लबमा मात्र नभई धुलिखेल र बनेपास्थित प्रहरी चौकीमा पनि मूर्तिहरू छन् । धुलिखेलमा चार र बनेपामा दुई वटा गरी कूल ६ वटा मूर्ति छ । ती मूर्ति विभागलाई हस्तान्तरण गर्नुको साटो प्रहरीले आफैंसँग राखेको छ ।
प्रहरीबाटै कानुन उल्लंघन
प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय हो । तर, मूर्ति सरोकारवाला निकायलाई नफर्काएर प्रहरीले नै कानुन तोडेको छ । ‘प्राचीन स्मारक संरक्षण ऐन, २०१३’ ले मूर्ति फेला परेमा पुरातत्व विभाग वा छाउनीस्थित राष्ट्रिय संग्रहालयको जिम्मा लगाउनुपर्ने व्यवस्था गरेको छ । प्रहरीले कानुनको उल्लंघन गर्दै मूर्ति सिसाको शोकेसमा राखेको हो । सिसाको डब्बाभित्र मूर्तिहरू थुनी प्रहरीले सम्पदामाथि खेलबाड गरेको जानकारहरू बताउँछन् । संवेदनशील विषयमा प्रहरीले लापरवाही देखाएको उनीहरूको आरोप छ ।
कहाँबाट आयो मूर्ति ?
सो मूर्ति कहाँबाट आयो ? कसले ल्यायो ? कति वटा ल्यायो ? यसको प्रष्ट जवाफ सरोकारवालासँग छैन । प्रहरीले मूर्तिलाई सजाएर राख्ने काम मात्र गरेको छ । यसअघि देशभरका प्रहरी कार्यालयबाट दुई सय वटा मूर्ति निकालेर राष्ट्रिय संग्रहालयलाई बुझाइएको थियो । पुरातत्व विभागका अधिकृतहरूको रोहबरमा सो मूर्ति संग्रहालयमा राखिएको सम्पदाविद यादवलाल कायस्थ बताउँछन् ।
‘दुई सय वटा मूर्ति बेवारिसे अवस्थामा थियो । पुरातत्व विभागका अधिकृतहरूको रोहबरमा त्यो राष्ट्रिय संग्रहालयमा राखियो । त्यतिबेला मूर्ति भेटिएमा तत्काल यथास्थितिमा फर्काउने निर्णय पनि भएको थियो’, उनले भने । स्रोतका अनुसार ती मूर्ति फेला परेका हुन् । चोरी भई भेटिएका, हराएका मूर्तिहरू प्रहरीले राष्ट्रिय संग्रहालयमा लगेर राख्ने भनी आफैंसँग राखेको स्रोतको भनाइ छ । भन्छ, ‘प्रहरीले भेट्टाएको मूर्तिहरू कि पुरातत्व विभाग कि संग्रहालयमा दिनुपर्छ । तर, त्यसो नगरिकन आफैंसँग राखेको हो ।’
पत्राचारमै रोकियो विभाग
नेपाल पुलिस क्लब परिसरभित्र मूर्ति फेला परेपछि सम्पदाविद कायस्थ, केदार महर्जन र कृष्णगोपाल आयोलगायतले विभागमा निवेदन दिएका थिए । विभागले गत साउन २९ गते प्रहरी मुख्यालयलाई पत्राचार ग¥यो । रोचक प्रसंग के भने, एक महिना बित्न लागिसक्दासमेत पत्राचारबाहेक अरु कुनै प्रगति हुन सकेको छैन ।
केही समयअघि जाँदा सबै शो केसमा मूर्ति थिए । अहिले एकाध खाली छ । पुरातत्वले लगेको छजस्तो मलाई लाग्दैन । त्यो मूर्ति कहाँ गयो ?
संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले लेखेको पत्रमा भनिएको छ, ‘नेपाल पुलिस क्लब परिसरभित्र ऐतिहासिक एवं पुरातात्विक महत्वका मूर्तिहरू रहेको भनी निवेदक यादवलाल कायस्थ, केदार महर्जन र कृष्णगोपाल आयोहरूको निवेदनबाट यस विभागमा जानकारी प्राप्त हुन आएको हुँदा सोसम्बन्धमा स्थलगत निरीक्षणका लागि विभागबाट खटिई आउनुहुने पुरातत्व अधिकृत श्री सरिता सुवेदीलाई उक्त कार्यको लागि आवश्यक सहयोग गरिदिनुहुन निर्देशनानुसार अनुरोध गर्दछु ।’
सम्पदाविद कायस्थका अनुसार एउटा पत्र पठाएर विभाग हात बाँधी बसेको छ । विभागले ताकेता पनि नगरेको उनको गुनासो छ । विभागका प्रवक्ता प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले मूर्तिको पहिचान नै हुन नसकेको बताए । जनआस्थासँग भने, ‘अहिले त छलफलकै क्रममा छौं । मूर्तिको आईडेण्टीफाई नै हुन सकेको छैन ।’
मूर्ति नै गायब
कायस्थका अनुसार केही समयअघि क्लब जाँदा सबै शोकेसमा मूर्ति थियो । हाल एकाध शो केस खाली रहेको उनको जिकिर छ । ‘म केही समयअघि जाँदा सबै शो केसमा मूर्ति थिए । अहिले एकाध खाली छ । पुरातत्वले लगेजस्तो लाग्दैन । मूर्ति कहाँ गयो ? यो एकदमै गम्भीर विषय हो’, उनले भने ।
कानुन कार्यान्वयनमा विभागको हेलचेक्य्राइँ
प्राचीन सम्पदा संरक्षण गर्ने दायित्व विभागको हो । ऐनको दफा १७ को उपदफा (क) मा पुरातात्विक वस्तुको संरक्षणसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘निजी स्वामित्वको बाहेक अन्य पुरातात्विक वस्तु जुनसुकै ठाउँबाट प्राप्त भएतापनि विभागको संरक्षणमा रहनेछ ।’ त्यसैगरी, प्राचीन स्मारकहरूको संरक्षण, मर्मतको जिम्मा पनि विभागलाई नै दिइएको छ । तर, विभागले हेलचेक्य्राइँ गर्दा प्राचीन स्मारकहरू चोरी हुने, हराउने क्रम बढेको गुनासो छ । छाउनीस्थित राष्ट्रिय संग्रहालयमै मूर्तिको उचित संरक्षण हुन सकेको छैन । पाटन संग्रहालयमा ५६०, भक्तपुर संग्रहालयमा ७४० र राष्ट्रिय संग्रहालयमा हजारौंको संख्यामा मूर्ति जथाभावी राखिएको छ ।
प्रहरीको कमजोरी र पुरातत्वको बेवास्ता
सम्पदाविद कायस्थ ‘प्रहरी थाहा छैन’ भनेर पन्छिन नमिल्ने बताउँछन् । प्रहरीबाट गम्भीर कमजोरी भएको उनको जिकिर छ । ‘प्रहरीले जानकारी छैन भनेर सुख पाउँदैन । जसरी नागरिकको हकमा कानुनको अज्ञानता क्षम्य हुँदैन, प्रहरीको हकमा पनि त्यही हो । प्रहरीले मूर्ति राख्नै मिल्दैन । यो प्रहरीबाट भएको अत्यन्तै गैरकानुनी काम होे’, उनले भने ।
संरक्षणमा पुरातत्व विभागले पनि एकदमै लापरवाही देखाएको गुनासो छ । पटकपटक जानकारी गराउँदा पनि विभाग गम्भीर नभएको उनको भनाइ छ । भन्छन्, ‘पुरातत्व विभागलाई त मतलबै छैन । पटकपटक जानकारी गराइसकें, त्यही पनि गम्भीर हुँदैनन् । नेपालीको निम्ति मूर्ति बहुमूल्य धातु हो । एउटा मूर्ति भयो भने तीर्थस्थल बन्छ । त्यसलाई प्रहरीले थुपारेर राखेको छ भने विभागले फ्याँकेर ।’
प्रहरी कार्यालय नै सुरक्षित ठाउँ होः प्रवक्ता
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक विनोद घिमिरेले प्रहरी कार्यालयभन्दा सुरक्षित ठाउँ अरु कुनै नभएको बताए । पुलिस क्लबमा भएको अधिकांश मूर्ति हनुमान ढोकाको भएको उनको जिकिर छ । ‘पुरातात्विक हुनका लागि एक सय वर्ष कटेको हुनुपर्छ । तर, ती मूर्ति एक सय वर्ष कटेका छैनन् । स्वामित्व नखुलेकाले प्रहरीले राखेको हो’, उनले भने । उनका अनुसार सरकारको निर्णयअनुसार मूर्ति फिर्ता गरिनेछ । अगाडि थपे, ‘यहाँभन्दा सुरक्षित ठाउँ कतै छैन । सरकारले मागेको खण्डमा फिर्ता दिन्छौं ।’
(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू