यसरी पनि चोख्याउँछ अख्तियार
कहीँ नभएको दिमाग नेपालीहरूकै बढी चल्ने । बनाउनेभन्दा पनि बिगारेरै जित्नुपर्ने, प्रसंग हो अख्तियारले मुद्दा चलाउन लागेकै बेला एक जना उच्च कर्मचारीले पाउन लागेको सफाइको डर देखाएर डलर खाने बानी परेका समाजकल्याण परिषद्का कर्मचारीमध्ये सहायक निर्देशक चित्रकुमार थापाले २०८१ कात्तिक २ गतेदेखि ६ गतेसम्म डोल्पास्थित एक संस्थाको मूल्यांकन गर्ने भ्रमण आदेश स्वीकृत गराए तर त्यता नगई कसैको स्पोन्सरमा विदेशतिर लागे । १५ दिनपछि डोल्पा गएको दावी गर्दै परिषद्बाट भ्रमणभत्ता पनि बुझे ।
दुई हातमा लड्डु बनेर आएको यो अवसर अख्तियारले हात हालेपछि अहिले भारी भएको छ । यस काण्डमा काँध हालेर उभिएको आरोप छ अख्तियार प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलमाथि । कर्मचारीबाट परिषद्मा सदस्य–सचिव बन्ने दुर्लभ अवसरप्राप्त उनीहरूको हिमचिम उतिखेरदेखिकै हो, परिषद्बाटै गएका उनले थापालाई जोगाउन रकम फिर्ता गर्न लगाई सामान्य नसिहत दिएर छाड्नुपर्ने भन्दै तीव्र लबिङ मात्रै गरेनन् मुद्दा उल्टाउने अन्तिम चरणमा पुर्याएको श्रोतको दावी छ ।
यससम्बन्धमा थप कमजोर प्रमाण बनाई सफाइलाई मजबुत पार्न प्रमाणित कागजात माग्दै श्रावण २८ गते अनुसन्धान अधिकृतलाई अत्यन्त जरुरी ३ दिने पत्र अख्तियारबाट लेख्न लगाइएको छ । जवाफ हेर्दा सहायक निर्देशक थापा विदेश हैन डोल्पा नै गएजसरी प्रतिवेदन, भ्रमण आदेशमा हस्ताक्षर गर्दै पारिश्रमिक भुक्तानी लगेको देखिन्छ ।
तर, पौडेलको आइडियाको पछि लागेर उनले यही श्रावण ६ गते नै अख्तियारवाट सोधनी भएको कारण अनियमित रकम फिर्ता गरेको जानकारी गराएका छन् । यस्तो खतरनाक आइडिया लगाउने उच्च तहका कर्मचारीबाट अरु कर्तुत कति भए होलान्, कसले छानबिन गर्ने ! परिषद्मा हुँदा पौडेलले सालीलाई संस्थाका गाडी हस्तान्तरण गर्न लगाएकोलगायत किस्सा कति छन् कति !
(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू