विधेयक पारितअघि विद्यालय सञ्चालकहरु आन्दोलन चर्काउँदै

विधेयक पारितअघि विद्यालय सञ्चालकहरु आन्दोलन चर्काउँदै

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। उनीहरूले भोलिदेखि बृहत् र्यालीसहितको आन्दोलन गर्न लागेका छन्। भोलि सबै संघीय सांसदलाई निजी विद्यालयका सञ्चालकहरूले संयुक्त रूपमा भेट्ने कार्यक्रम छ।

त्यसैगरी, राजधानीको प्रदर्शनीमार्गमा भोलि र पर्सि बृहत् र्यालीसहितको खबरदारी सभा गरिने जानकारी दिइएको छ। सो र्यालीमा देशभरका सबै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरूले अनिवार्य उपस्थिति जनाउन निर्देशन दिइएको छ। निजी विद्यालयका छाता संगठन एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त आन्दोलन समिति गठन गरेर विधेयकमा भएको पाँच वटा व्यवस्थामाथि निरन्तर विरोध कार्यक्रम गरिरहेका छन्।

उनीहरूले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउने प्रावधान पूर्ण रूपमा हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली खारेज गर्नुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजालगायत सेवासुविधामाथि गरिएको अनावश्यक प्रतिबन्ध हटाउनुपर्ने लगायतका माग राखेका छन्।

गत भदौ ५ गते शिक्षा, विज्ञान तथा प्रविधि समितिले पारित गरेको उक्त विधेयक भदौ २६ गते बस्ने प्रतिनिधि सभाले पारित गर्ने तयारी छ।

टिप्पणीहरू