भण्डारीको मधेश भ्रमणमा यस्तरी हाल्न खोजियो भाँजो
उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा जाँदा ५१ किलोको मालाले भव्य स्वागत गरिएकी भण्डारीलाई रोक्नको लागि बीरगञ्जमा फैलिएको हैजालाई अघि सारिएतापनि यो प्रयास असफल हुन पुगेको छ । स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने तथा सुरक्षा संवेदनशीलताको कारण जनाउँदै पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीमार्फत् कार्यक्रमका आयोजकहरूलाई भ्रमण रोक्न दवाव दिइएको दावी स्रोतको छ । कार्यक्रम रोक्न नसक्ने जवाफ पाएपछि सोही दिन काठमाडौं फर्काउन सकिँदैन र ? भनिएको छ ।
त्यसैगरी एमालेले पठाएको मौखिक सर्कुलरमा उहाँ नेपाली सेनाको परमाधिपति भइसकेको मान्छे, एयरपोर्टमा रिसिभ गर्न नजानु, कार्यक्रममा उपस्थित नहुनु भनी उर्दी जारी गरिएको दावी स्रोतको छ । सोही अनुसार पर्सा जिल्ला सचिव महेश दासले भदौ १४ गते अर्थात् पूर्व राष्ट्रपति आउने कार्यक्रम भएको भ्रममा नपर्न फेसबुक स्टाट्स पोस्ट गरेका थिए ।
अर्को कुरा, भण्डारी पार्टी फोड्न हिँडेकी छन् । तोडफोड गर्ने काममा लाग्नु हुँदैन भन्दै जसले जहाँ सक्यो त्यही सम्झाइ बुझाइ हुन थालेको छ । यसका वावजुद कलैयामा आइतबार मदन भण्डारी फाउण्डेशनले राखेको कार्यक्रममा राम्रैसँग एमाले कार्यकर्ताहरू भेला हुन पुगेका थिए । रौतहट र सर्लाहीबाट गोविन्द अधिकारी र लालबन्दीका पूर्व मेयर मानबहादुर खड्कासमेतले पार्टी कहाँ पुग्दैछ भन्ने जिज्ञासा पूर्व राष्ट्रपति भण्डारीसँग राखेको बताइन्छ ।
०७९ मा गणेश प्रसाईंलाई हरिऔनमा एमालेले उम्मेदवार बनाएको थियो । तर उनी पराजित भए । पराजित भए पनि प्रदेश सांसदमा उठाइयो । त्यसमा पनि जित्न सकेनन् । त्यसपछि संस्थापन अर्थात् ओली पक्षधरले पार्टीको जिल्ला अध्यक्षमा चुनाव लडायो । त्यस चुनावमा पनि प्रसाईंले जितेनन् । तीन पटक हारे पनि उनैलाई नै किन पटक पटक अघि सारेको भन्दै नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जिज्ञासा राख्दा आठ पटक हारे पनि उनैलाई दिने हो भन्ने जवाफ आएको बताइन्छ । मैले टिकट दे’को मान्छेलाई नजिताउने, त्यहाँको जनता थाक्नु पर्छ र अन्ततः एक दिन जिताउनु पर्छ भन्दै उल्टै दपेटेको बताइन्छ । लालबन्दीबाट पनि मेयरको टिकट पाएका व्यक्तिले बाजागाजासहित उम्मेदवारी दर्ता गरेका थिए तर पछि अर्कैलाई उठाइयो ।
विद्याको मधेश भ्रमणताका कलैयाको कार्यक्रममा एउटै परिवारका चार जना छोरीलाई लोकसेवा परीक्षा उत्तिर्ण गरेकोमा सम्मान दिइएको छ । भण्डारीले सिमरा बसाइमा महिला सञ्जालका नेतृहरूसँग दिउँसोदेखि थालेको संवाद रात अबेर आठ बजेसम्म चलेको थियो । त्यसो त भण्डारीले एमालेको सदस्यता नवीकरण गरेका दिन एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले रसिद थमाउँदै थपडी बजाएर खुशी व्यक्तसमेत गरेको बताइन्छ । तर उनैले पछिल्लो पटक गम्भीर भूल भन्दै बैठकमा आत्मालोचना गरेका छन् ।
भण्डारीले यसबारे अधिकारीलाई फोन गरेर सोध्दा उनी नाजवाफ बनेको स्रोतको दावी छ । कार्यकर्तासँगको भेटमा भण्डारीले शुरुमा पाँच प्रतिशत महिला सहभागिता, पछि २० प्रतिशतहुँदै हरेक ठाउँमा ३३ प्रतिशतको निम्ति निरन्तर लडेको, यसबाट जो महिला साथी नवौं र दसौं महाधिवेशनमार्फत् केन्द्रमा आउनुभयो उहाँहरुले नै विद्या भण्डारीको सदस्यता नवीकरण हुन हुँदैन भन्दै केन्द्रीय समितिको बैठकमा बोलेको कुरा सुन्दा दुःख लागेको बताएकी थिइन् ।
टिप्पणीहरू