खास कुरा के हो त काशीनाथ कमरेड !
तथ्यभन्दा तर्कको सहारा लिएर आफ्ना कुरा माथि पार्न सिपालु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चतुर राजनीतिज्ञका रूपमा चिनिनुहुन्छ । दुई वर्षअगाडि नै सदस्यता नवीकरण गराइसकेकी पूर्वराष्ट्रपति तथा तत्कालीन पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीमा प्रतिवन्ध लगाउँदा उहाँले त्यस्तै चतुरता प्रदर्शन गर्नुभयो । ‘साम, दाम, दण्ड, भेद’ को रणनीति अपनाएर पूर्व राष्ट्रपतिलाई साइड लगाउन सफल भएका ओली तेहेरिएर अध्यक्ष खाने तयारीमा हुनुहुन्छ । तर, विद्याको सम्भावित राजनीतिक पुनरागमनको भयबाट उहाँ अझै पनि मुक्त नभएको शुक्रबार च्यासलमा गरेको भाषणबाट खुलस्त हुन्छ ।
प्रभु साहको आम जनता पार्टी परित्याग गर्नेहरूलाई एमालेमा स्वागत गर्न भदौ ६ गते शुक्रबार च्यासलमा कार्यक्रम आयोजना गरिएको थियो । ओलीले प्रभुका मान्छेलाई भित्र्याउँदै पूर्वराष्ट्रपतिको चर्को निन्दा गर्नुभयो । पार्टी कार्यालयका कर्मचारीलाई झुक्याएर सदस्यता नवीकरण गराएको भन्दै उग्र सुनिनुभएका उहाँले विद्याले राष्ट्रपति खानका लागि मरिहत्ते गरेको आरोप लगाउनुभयो । ओलीको भनाइ थियो– ‘कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिरबाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन ।’
पार्टीमा असन्तुष्ट र हरूवाहरूलाई बटुलेर आन्तरिक एकतामा चुनौती दिएको आरोप पनि विद्यामाथि थोपरियो । र, भनियो– ‘कार्यालयमा आएर दर्ता चलानी फाँटबाट सदस्यता नवीकरण शुल्क तिर्दैमा सबैले सदस्यता पाउँछन् भन्ने छ ?’ तर, स्वयं ओलीलाई प्रतिप्रश्न गर्नुपर्ने भएको छ– ‘के संगठन विभाग प्रमुख काशीनाथ अधिकारी कार्यालयका कर्मचारी हुन् ?’
किनभने २०८० वैशाखमा उनैले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गराएका थिए । त्यससमय बागमती प्रदेश इञ्चार्ज रहेका अधिकारी स्वयंले विद्यालाई भेटेर पार्टीमा फर्की नेतृत्व लिइदिन आग्रह गरेका थिए । उनैको नेतृत्वमा बाग्मतीका १० जनाको टोली भंगाल पुगेको र त्यहाँ भएका छलफलबारे पछिल्लो पोलिटब्युरो बैठकमा स्मरण गर्दै दोलखाली नेता पार्वत गुरुङले आफू एकजनाले मात्र विरोध गरेको सुनाएका थिए । संगठन विभाग प्रमुख अधिकारीले विद्यालाई पार्टीमा फर्किन अनुरोध गरेको सम्बन्धी समाचार जनआस्थामा प्रकाशन भएको थियो ।
तर, अहिले आएर कर्मचारीलाई झुक्याई रसिद काटेको भनिनु झट्ट सुन्दा सामान्य लागे पनि दुई पटक देशको राष्ट्रपति भैसकेको मान्छेमाथि लागेको यो गम्भीर आरोप हो । यदि झुक्याएर सदस्यता नवीकरण गरेको हो भने त्यसको जिम्मेवारी काशीनाथहरूले लिनुपर्ने कि नपर्ने ? टेलिभिजन अन्तर्वार्तामा विद्याको सदस्यता नवीकरण भैसकेको स्वीकार गरेका शंकर पोखरेलहरू जवाफदेही हुनुपर्ने कि नपर्ने ? प्रश्न गम्भीर भए पनि ओलीको बोली नै अन्तिम निर्णय हुने एमालेमा अहिले जवाफ पाइने अवस्था छैन ।
अध्यक्ष ओलीले आफूलाई संकट परेका बेला विद्यालाई आफूले नै दुईचोटि राष्ट्रपति बनाएको छाती पिटेर सुनाउने गर्नुभएको छ । पार्टीका आन्तरिक छलफलहरूमा मात्र होइन सार्वजनिक मञ्चबाट समेत उहाँले धेरैचोटि भन्नुभएको कुरा हो यो । तर, शुक्रबारको कार्यक्रममा भने आक्रामक हुँदै भन्नुभयो– ‘राष्ट्रपति हुन नजानुपथ्र्यो नि त ? मेरो सदस्यता, प्यारो सदस्यता, म त्यसैमा बस्छु, जान्न राष्ट्रपति हुन भन्नुपथ्र्यो नि त ! त्यसबेला चाहिँ छोडेर जानुभयो राष्ट्रपति हुन । अनि आएपछि सदस्यता छैन । नभएको सदस्यता नवीकरण हुँदैन ।’
प्रजातन्त्र प्राप्तिको आन्दोलनका बेला थुप्रै कांग्रेस नेता भारतमा निर्वासित थिए । बिपी कोइरालाका कान्छा भाइ गिरिजाप्रसाद र चक्र बाँस्तोला पनि उतै बस्थे । यी दुईलाई पार्टीले खर्चपानीको जोहो गर्ने जिम्मा दिएको थियो । एकदिनको कुरा हो, उनीहरू भरत समशेरकहाँ पैसा माग्न पुगेछन् । तर, गिरिजा भनेपछि पटक्कै मन नपराउने भरतले त्यसदिन उनकै सामुन्ने गर्नुसम्म बेइज्जत गरेछन् । तैपनि, गिरिजाले हात फैलाएपछि अलिकति पैसा दिएर फर्काइएछ । त्यत्रो अपमानका बीच गिरिजाले पैसा लिएको यो सन्दर्भ अस्ति च्यासलमा ओलीले विद्या भण्डारीलाई गाली गरेको दिन एकजना कांग्रेस नेताले आफूलाई सुनाएको एमालेका एक मधेशी नेताले अनौपचारिक कुराकानीमा हामीलाई बताए ।
यता, पूर्वराष्ट्रपतिलाई माइनस गर्दै जाँदा ‘मिसन ०८४’ असफल हुने चिन्ता तल्लो तहमा देखिन्छ । अध्यक्ष ओलीमा समेत त्यो आत्मविश्वास गुम्दै गएको उहाँका पछिल्ला अभिव्यक्तिबाट पुष्टि हुन्छ । हालै एक सार्वजनिक समारोहमा उहाँले कांग्रेससँगको गठबन्धन नटुट्ने विश्वास दिलाउँदै ०८४ पछि पनि सहकार्य जारी रहने घोषणा गर्नुभएको थियो ।
हुन त ०७४ र ०७९ को चुनावमा आफूले सबैभन्दा बढी भोट ल्याएको भन्दै उहाँ दम्भका साथ प्रस्तुत पनि हुने गर्नुभएको छ । तर, झापा–५ मा आफ्नो जित सुरक्षित गर्न दुवैपल्ट राप्रपासँग तालमेल गरेको तथ्य खुलाउनुहुन्न । ०७४ मा ओलीलाई माओवादीको समेत भोट खनिएको थियो । ‘स्वतन्त्र प्रतिष्पर्धा गरेर बढी भोट ल्याउनसक्नु प¥यो ! त्यो आँट छैन अनि लिङ्गदेनसँग लेनदेन गरेर ल्याएको भोटको के फूर्ति लाउनु’ आफ्नै अध्यक्षमाथि कटाक्ष गर्दै एमाले नेता भन्छन्, ‘०८४ मा कांग्रेससँग मिल्ने कुरा अहिले नै गरिसके । पार्टीका अरू नेताले जेसुकै गरुन् मतलब छैन, केवल आफूले जित्नु छ ओली र शेरबहादुरलाई ।’
०४८ देखि डडेल्धुराबाट लगातार जित्दै आएका शेरबहादुर देउवालाई गत चुनावमा भर्खरका युवा सागर ढकालले चुनौती दिए । गुल्मीमा जन्मिएका अनि काठमाडौँमा बस्ने उनले डडेल्धुरा पुगेर ढ्वाङ थाप्दा १३ हजार हाराहारी भोट पाउनु चानचुने कुरा थिएन । माओवादीको समेत साथले चुनाव जितेका देउवाले पनि अब आफ्नै बुतामा प्रतिष्पर्धा गर्ने आत्मविश्वास गुमाएको भनिंदैछ । अर्कोतिर, राष्ट्रिय राजनीतिमा आक्रामक उपस्थिति जनाइरहेका रास्वपालगायत नयाँ पार्टीको चुनौती पन्छाउन पनि ओली र देउवाका लागि सहज देखिँदैन । रवि लामिछाने आफैँ ठीक भएर होइन कि कांग्रेस–एमालेको अलोकप्रियताले रास्वपाको पक्षमा जनमत बढिरहेको छ । रविमाथि राज्यले प्रतिशोध साँधेको भन्दै त्यसविरुद्ध चलाएको हस्ताक्षर तथा सहयोग संकलन अभियानमा ३५ लाखले दस्तखत गरेको र झण्डै ७० लाख नगद जुटेको हिसाब रास्वपाले सार्वजनिक गरेको छ । कम्तीमा ५० लाख पुर्याउने योजनाअनुरूप उक्त अभियान जारी राखिएको छ ।
हस्ताक्षरको विश्वसनीयता र बैध्यतामाथि प्रश्न उठाउन सकिएला तर आमरूपमा केही न केही सहानुभूति भएकैले ठूलो संख्याले घण्टीघरमा लाइन लागेर रविको समर्थनमा सही गरेको हो भन्नेमा विवाद छैन । यो माहोल आगामी चुनावसम्म कायम रहे कांग्रेस–एमालेको हालत के होला ? काठमाडौँजस्तो ठाउँमा नानीमैयाँ दाहालले मै हुँ भन्नेहरूलाई धुलो चटाएको ईतिहास छ । त्यसैले ०८४ मा नयाँ नानीमैयाँ बनेर रवि, बालेन, हर्कहरूले ओली–देउवाहरूलाई नबढार्लान् भन्न सकिन्न ।
यो सबै सन्दर्भलाई पार्टीको परिस्थितिसँग जोड्दै एमाले नेता भन्छन्, ‘रवि र बालेनहरूलाई यी केही होइनन् भन्ने हिसाबले व्यवहार गर्दै जाँदा अहिले उनीहरू पुराना पार्टीका लागि चुनौती बनिरहेका छन् । हाम्रो पार्टीमा पनि विद्यालाई रोक्ने कदम महँगो पर्ने देख्दै छु । तर, ओली यसलाई करेक्सन गर्ने ठाउँमा छैनन् । यसले नानीमैयाँरूपी आँधीले पार्टीलाई नै बगाउने बाटोमा लैजाने खतरा बढाएको छ ।’
पार्टीको आन्तरिक किचलोसँगै राष्ट्रिय राजनीतिका यी तमाम अप्ठेरो सामना गरिरहेका ओलीलाई अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल देखिंदैन । चीन र भारतले लिपुलेकमा व्यापारिक नाका खुलाउने सहमति गर्दा नेपाललाई पूरै बेवास्ता गरेका छन् । प्रधानमन्त्री भएलगत्तैदेखिको दिल्ली जाने रहर १४ महिनापछि पूरा हुनै लाग्दा निस्किएको यो विवादले कहाँ पुर्याउने हो टुंगो छैन । भारतको चर्को विरोध गर्दा भ्रमण रोकिने डर, विरोध नगर्दा राष्ट्रवादको नारा छोडेको अर्थ लाग्ने अवस्थाबाट ओली कसरी उत्रनुहोला आगामी दिनले देखाउने नै छ । तर, भारतले नेपालका प्रधानमन्त्रीसँग नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता गर्ने परम्परालाई तोड्दै यसपटक बिहारको बोधगयामा बोलाएको छ ।
दुई देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलस्तरीय वार्ता त्यहीँ हुनेछ । भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थलका रूपमा बोधगयाको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व भए पनि यसलाई राजनीतिक भेटवार्ताको थलो किन बनाइयो ? त्यहाँ भेट्ने प्रस्ताव नेपालले गरेको हो या भारतको चाहनाअनुसार ओलीलाई त्यहाँ लैजान लागिएको हो ? खुलेको छैन । एकथरी कूटनीतिज्ञहरूले चाहिँ दिल्ली जान धेरै नै जोडबल गरेका हाम्रा प्रमको चित्त बुझाइदिन मात्र भ्रमण गराएको सन्देश जानेगरी बोधगया बोलाएको विश्लेषण गरेको पाइन्छ । ‘चीन जाँदा कुनै एउटा सानो गाउँमा लगेर राखियो भने भ्रमण गराएको भन्ने अर्थ राख्छ ? स्टेट गेष्ट हाउसमा राख्यो भने बल्ल त्यसको महत्व रहने होला नि ’, एमाले निकट उनै कूटनीतिज्ञ भन्छन्, ‘यसअघि चीन जाँदा उच्च महत्व दिएको भन्दै विष्णु रिमालले सचिवालय बैठकमा बढाईचढाई चर्चा गरेका थिए । भारत भ्रमणमा सम्भवतः बोधगयाको मन्दिरमा राखिन्छ होला, यसलाई चाहिँ के भन्ने हुन् ।’
(जनआस्था साप्ताहिकको भदौ ११ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू