मोबाइल चिप्लिएर दलालकोमा मन्त्री

मोबाइल चिप्लिएर दलालकोमा मन्त्री

नियमले भन्छ, कुनै पनि सहसचिवलाई वर्ष दिनअगाडि चलाउन मिल्दैन तर स्वार्थ नमिल्दा केही महिना दिनमै त केही तीन/चार महिनामै खेदिएका छन्, किन होला ?

सहसचिव कुमार दाहाल परराष्ट्रमन्त्री आरजु राणाको स्कूलदेखि कन्सल्टेन्सीलगायत निकायमा धमाधम छापा मारिरहेका थिए । कतिलाई कारवाही ठोके, केहीलाई जरिवाना तिराए । चार महिनाअगाडि दोहोर्‍याएर उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा लगिएको थियो, ८ वर्षअघि चौधरी ग्रुपमाथि हात हाल्दा लखेटिएकै शैलीमा चार महिनामै धपाएर समावेशी आयोगमा थन्क्याइएको छ । ५८ वर्षे लागेर मंसिरमा घर जाँदैछन् ।

निजामती ऐनले अवकाशको ६ महिनाअघि कर्मचारीलाई नचलाऊ भन्छ । यसरी खेदिएपछि सार्वजनिक रूपमै टिप्पणी गरेका छन्, ‘प्रधानमन्त्री नै बिचौलियाले बनाउने देशमा जाबो महानिर्देशक सरुवा गराउनु कुन ठूलो कुरा भयो र ?’ कुमारको ठाउँमा रोशन ज्ञवालीलाई लगिएको छ । रोशनले लामो समय भूमि मातहत बिताए । गिरिबन्धु टी इस्टेटको हितअनुकूल हुने गरी फाइलै बोकेर मन्त्रालय मन्त्रालय धाउने यी कर्मचारीलाई अहिले त्यहाँ लैजानुमा सुब्बा रघु घिमिरेहरूको हात छ भनिन्छ । करेन्ट चाउचाउ र गुट्खावाला व्यापारी कमलकिशोर मालपानीका सल्लाहकार हुन् रघु । उनै मालपानीको कम्पनीमा कुमारले छापा हानेबापत समावेशी आयोगतिर खेदिएको हो भनिँदै छ ।

पछिल्लो समय गृह, अर्थ र उद्योग मन्त्रालय दिपक भट्ट, विनोद चौधरीलगायत व्यापारी र बिचौलियाले चलाउन थालेका छन् । उपभोक्ता हितमा काम गर्नुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पछिल्लो ४ वर्षमा ८ जना महानिर्देशक फेरिए । ०७८ मंसिर ५ मा प्रेमकुमार श्रेष्ठलाई महानिर्देशक बनाएर लगिएकोमा चैत २५ मै सरुवामा परे । उनी पछि ०७८ चैत २८ मा लीलाप्रसाद शर्मा हाजिर हुन पुगे । उनी पनि ०७९ भदौ २२ मा सरुवा भए । त्यसपछि भदौ २७ मा महेश भट्टराई पुगे । बजार अनुगमन तीव्र पार्दै गर्दा फागुन १४ मै खेदिए । गजेन्द्र ठाकुर ५ महिना, राजन पौडेल ८ महिनाभन्दा बढी टिक्न नसकेको सो कार्यालयबाट ध्रुव घिमिरे त झन १६ दिनमा हटाइएका थिए । अहिले राजश्व अनुसन्धान विभागमा पुगेका तीर्थराज चिलुवाल पनि ८ महिनामै सरुवामा परेको कार्यालय हो त्यो जहाँबाट कुमार दाहाल चार महिनामै खेदिए ।

एनसेललाई कर छुट दिन जोडबल गर्ने राजेश्वर ज्ञवालीहरू अहिले पनि उद्योग मन्त्रालयको हर्ताकर्ता छन् । यसअघि भन्सार छली गर्ने व्यापारीहरूविरुद्ध कठोर रूपमा उत्रिएका चक्र बूढा यही निशानामा परे । पाँच महिनामै भन्सार विभागको डिजीबाट हटाएर उनलाई महिला मन्त्रालयमा थन्काइएको छ । यसअघि बासुदेव घिमिरेलाई रूपन्देहीबाट तानेर गृह प्रशासनमा कहिल्यै नबसेका, यातायात व्यवस्था विभागको नक्कली लाइसेन्स प्रकरणमा मुछिएका तान्त्रिक सहसचिवलाई एकैपटक सिडियो बनाएर पठाइएकै थियो । लामो समय बरण्डामा थन्काइएका अरुणकुमार पोखरेललाई चौधरी ग्रुपको स्वार्थ प्रतिकूल हुने काम गरेवापत पूर्वी परासीबाट खेदिएको धेरै भएको छैन । शशीकान्त अग्रवालहरूको बदमासीसँग लड्न खोज्दा अर्थमन्त्री विष्णु पौडेल नै भिडेर राजन पौडेललाई लखेटिएको पनि धेरै भएको छैन ।

केही दिनअघि मन्त्री पौडेलले बिचौलिया दिपक भट्टलाई फोन डायल गर्न खोज्दा चिप्लिएर अर्थ बिटमा कलम चलाउने पत्रकार दीपक भट्टकाेमा पुगेको थियो । अहिले अवकाशको जीवन बिताइरहेका रूपनारायण भट्टराई सात दिनमा तीन पटक सरुवामा परेको घटना पनि प्रशासन संयन्त्रमा नयाँ होइन । यातायात क्षेत्रमा बदनामी कमाएका ल्होत्सेका मालिक दीपक कुँवरबाट सेकिएका थिए, उनी । अहिले तिनै ल्होत्सेका मालिकको बूढानीलकण्ठस्थित आवास किनेर उच्च प्रशासकका अलावा पाँच पटक मन्त्री बनेका शक्ति बस्नेत, अख्तियारका पूर्वप्रमुख दीप बस्नेतकी छोरी, पूर्व गृहसचिव नविन घिमिरेहरू बस्दै आएका छन् । शक्ति बस्नेत बस्दै आएको घरको मूल्य ६ करोड ६२ लाख तोकिएको छ ।

टिप्पणीहरू