बिरलै जुर्ने साइत, नयाँ ध्रुवीकरणको ठूलो संकेत
चीनको थिएन्चिन शहरमा जारी सांघाई सहयोग संगठन (एससिओ) को २५औं शिखर सम्मेलन विश्व राजनीतिका लागि सामान्य कूटनीतिक जमघट मात्र नभएर विश्व शक्ति समीकरण पुनः रेखाङ्कन गर्ने संकेतपूर्ण क्षण बन्दै गएको छ । २० भन्दा बढी मुलुकका कार्यकारी प्रमुखहरू सहभागी सम्मेलनमा चिनियाँ राष्ट्रपति सि चिनफिङ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म,नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीदेखि इरान, कजाखस्तान,उज्बेकिस्तान, बेलारुसलगायतका नेतासम्मको उपस्थितिले गहिरो सन्देश दिएको छ ।
हिजो साँझ राष्ट्रपति सिले सहभागी नेताहरूको सम्मानमा दिनुभएको रात्रिभोज र आज बिहान उद्घाटन भएको औपचारिक सत्रले चीनको उदीयमान विश्व नेतृत्व र क्षेत्रीय कूटनीतिक सक्रियतालाई प्रस्ट्याएको छ । तर यसपटकको विशेष आकर्षण भने चीन–रुस–भारतका शीर्ष नेताहरूको एकै ठाउँमा भएको बेजोड भेट हो । यस्तो दृश्य इतिहासमा बिरलै देख्न पाइन्छ, र यसले विश्व राजनीतिमा उत्पन्न पछिल्ला उतारचढावमा उल्लेखनीय असर पार्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
ठूला शक्तिकेन्द्रहरूबीचको यस्तो जमघटमा नेपाललाई ‘पर्यवेक्षक’ भन्दा बढी ‘सहभागी’का रूपमा उपस्थित गराउनु एससिओसँग सम्बन्ध विस्तार र चीनसँग रणनीतिक सहकार्यको निरन्तरता मान्न सकिन्छ ।
विशेषगरी अमेरिकाले रुसमाथि लगाएको दीर्घकालीन नाकाबन्दी, चीनमाथि तोकिएको उच्च भन्सार दर, भारतमाथि निरन्तर भन्सारका नाममा पर्दै आएको राजनीतिक दबाब,र समग्र एसियामाथि बढ्दो अमेरिकी रणनीतिक चासोका बीच यो भेटले ‘सम्पूर्ण एसियाली स्वायत्तताको तस्बीर’ प्रस्तुत गरेको छ । अमेरिकी र पश्चिमी शक्ति केन्द्रहरूले अलग–अलग रूपमा नियन्त्रण गर्न खोजेका यी मुलुकहरू चिनियाँ भूमिमा एकैछिनको सहमिलनमा देखिनु आफैंमा ठूलो उपलब्धि हो ।
यस भेटलाई कतिपयले ‘नयाँ शक्ति–त्रिकोणको संकेत’ नाम दिएका छन् । हुन तः भारत र चीनबीच सीमा विवाद र विश्वासघातका ऐतिहासिक घाउहरू अझै बाँकी छन् । रुस र चीनबीच पनि रणनीतिक व्यावहारिकता हावी देखिन्छ । तर वैश्विक शक्ति सन्तुलन अमेरिकाविरुद्ध धकेलिँदै जाँदा, साझा असन्तुष्टि र सामूहिक हितले यी मुलुकलाई एउटै टेबलमा ल्याएको भने निश्चित हो ।

नेपालका प्रधानमन्त्रीको उपस्थितिलाई पनि कम प्रतीकात्मक होइन भन्न सकिन्छ । ठूला शक्तिकेन्द्रहरूबीचको यस्तो जमघटमा नेपाललाई ‘पर्यवेक्षक’ भन्दा बढी ‘सहभागी’का रूपमा उपस्थित गराउनु एससिओसँग सम्बन्ध विस्तार र चीनसँग रणनीतिक सहकार्यको निरन्तरता मान्न सकिन्छ ।
थिएन्चिनमा देखिएको यो बिरलैको संयोगलाई फोटो फ्रेमले मात्र समेटेको ठान्नु उचित हुँदैन । यसलाई विश्व शक्ति सन्तुलनको नयाँ रेखा खिच्ने,अमेरिकी एकध्रुवीयताको चुनौतीलाई अझ स्पष्ट बनाउने र एसियाली नेतृत्वको स्वतन्त्र स्वरलाई मजबुत पार्ने संकेत दिएको रुपमा बुझ्नु उपयुक्त हुनेछ ।
टिप्पणीहरू