सेना छाड्दै कता जान्छन् सिनियरहरु ?

सेना छाड्दै कता जान्छन् सिनियरहरु ?

कुनै पनि सेवामा प्रवेश गर्दा सबैले एउटै सपना देखेका हुन्छन् सर्वोच्च नेतृत्वसम्म पुग्ने । कठिन संघर्षपछि मात्र लक्ष्यमा पुगिन्छ । लामो समय एकै ठाउँमा बिताएका कर्मचारीहरू राम्रो पदस्थापनका लागि कोशिश गर्छन् । निजामती सेवामा त कमाउ ठाउँमा जानका लागि हानाथाप नै चल्छ । निकै कष्ट गरेर खाएको जागिर छोड्नुहुँदैन भनी उनीहरूले आफूलाई त्यसमै समर्पित गर्छन् । तर, सुरक्षा संयन्त्रमा भने ठ्याक्कै उल्टो अवस्था छ । वर्षौंको प्रतिक्षापछि गण हाँक्ने मौका पाएका अफिसरहरूले धमाधम जागिर छोडिरहेका छन् । 

पहिलोपटक गण चलाउने जिम्मेवारी पाएका दुई लेफ्टिनेण्ट कर्णेलले हालै राजीनामा दिएका छन् । जसमा उज्जवल पौडेल र पारस थापा छन् । ७१ सिरियल नम्बर भएका पौडेल उपत्यका पृतना हेडक्वार्टरमा थिए । ब्याच नम्बर ४७०४ भएका उनले गत साउन १ गते पहिलोपटक गणपतिको जिम्मेवारी पाएका हुन् । नम्बर २४ बाहिनी अड्डामा सरुवा गरिएका उनले जिम्मेवारी क्षेत्रमा नगईकन जंगी अड्डामा आफ्नो राजीनामा बुझाएका छन् । कारण भने खुलेको छैन । ब्याच नम्बर ४६१५ भएका थापाले पनि यसरी नै राजीनामा दिएका छन् । साउन १ गते निस्किएको सरुवामा सिरियल नम्बर ७४ भएका उनी १ नम्बर बाहिनी अड्डा, बालाजुमा थिए । ५ नम्बर बाहिनी अड्डा पठाइएकोमा उनी त्यसतर्फ जाँदै गएनन् । बरु, राजीनामा पेश गरेर जंगी अड्डालाई चकित बनाइदिए । 

उनीहरूको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको बुझिएको छ । उनीहरूले पाइसकेको अवसर किन त्यागे ? कौतुहलताको विषय बनेको छ । पछिल्लो समय बेरोजगारी प्रमुख समस्या बनेको छ । रोजगारी नपाउँदा युवाहरू रन्थनिएर हिँडेका छन् । दैनिक साढे दुई हजार युवा विदेशिइरहेका छन् । यता, सरकारी सेवामा जागिर खानका लागि लोकसेवाको परीक्षा दिनेहरू वर्षेनि लाखौं छन् । लाखौंले परीक्षा दिएकोमा केही हजार मात्र पास हुन्छन् । यस्तोमा कठिन परीक्षा र तालिम पूरा गरेर गण हाँक्ने ठाउँमा पुगेकाबाटै आएको राजीनामाले थुप्रै प्रश्न खडा गर्छ ।  

तल्लो दर्जाका झन् बढी 

सुरक्षातर्फ जागिर छाड्नेहरू एकाध वर्षयता ह्वात्तै बढेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको लर्को लागेको छ । सेनामा जागिर छोड्नेमा तल्लो दर्जाका बढी देखिन्छन् । उनीहरूले बीचमै जागिर छोड्दा सेनालाई ठूलो नोक्सानी भइरहेको छ । सेनाको जागिर बीचमै छोड्नुको धेरै कारण छ । जसमा प्रमुख हो, ड्युटी अवधि । सेनामा फिक्स ड्युटी अवधि छैन । परिवारलाई समय दिन सक्दैनन् । पारिवारिक प्रेसरमा आएर जागिर छोड्ने गरेको सैनिक अधिकृतहरूको बुझाइ छ । मिहिनेत गरेअनुसारको पारिश्रमिक नपाउँदा पनि राजीनामा दिने क्रम बढेको छ । ड्युटी गरेअनुसारको तलब सैनिकहरूले पाउन सकेका छैनन् । विदेशमा सुरक्षागार्डको मासिक एक–डेढ लाखसम्म कमाइ हुनेमा यहाँ जीवनयापनसमेत गर्न नपुग्ने अवस्था छ । सैन्य प्रवक्ता राजाराम बस्नेतले भर्ना र जागिर छोड्ने प्रक्रिया नियमित भएको बताए । ‘यसमा कुनै नौलो कारण नै छैन । यो नियमित प्रक्रिया हो । कतिपयले बाहिर राम्रो अवसर पाएर छोड्छन्, कतिपयले पेन्सन पाउनेबित्तिकै छोड्छन्’, उनले भने ।

प्रधानसेनापति अशोक सिग्देलले एक वर्षे कार्यकालमा बडिमालिका मन्दिरको निर्माण सकाएका छन् तर यसलाई सेनाको क्षमता अभिवृद्धिका लागि उपलब्धि मान्न सकिदैंन । दुई तारे जर्नेल आशिष नर्सिंह राणाको पहलमा मर्मत गर्न भारत पठाइएका दुईवटा एमआई १७ हेलिकप्टर डेढ वर्ष कट्दा पनि फर्किएर आएका छैनन् । हवाई निर्देशक राणा रिटायर्ड हुने बेलासम्म ती हेलिकप्टर आउने कुनै छेकछन्द छैन । मर्मतका निम्ति सरकारले ४२ करोड भारतीय रूपैयाँ अग्रिम बुझाइसकेको छ । जर्नेल राणा मृगौलामा समस्या देखिएपछि सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । आउँदो मंसिरमा अनिवार्य अवकाश हुँदैछन्  । सुवास थापाले सैनिक उपकरण र सामग्रीहरूको मर्मत तथा रेखदेख, आपूर्तिकर्ताहरूसँगको कारोबारलाई सम्हालिरहेका छन् । पूर्णचन्द्र थापा सेनापति हुँदा कर्णेल सुवाष उनको खास थिए । सेनासँग अझै एउटा हेलिकप्टर मर्मत गर्नुपर्ने अवस्थामा छ । सोको लागि आवश्यक पार्टपुर्जा मगाउने काम हुन सकेको छैन ।

(जनआस्था साप्ताहिकको भदौ ११ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू