मोहनको साथ छोड्नासाथ आइलाग्याे मन्त्री

मोहनको साथ छोड्नासाथ आइलाग्याे  मन्त्री

आफूलाई सिन्धुपाल्चोकको स्थायी सरकार दाबी गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा निलम्बित प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतलाई साथ छोड्नेहरूको लर्को लाग्न थालेको छ ।

२०७९ को संघीय निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं २ बाट विजयी भएका थिए । उक्त क्षेत्र साविक ३ मा कांग्रेसले पहिलोपटक माओवादी र एससँग गठबन्धन गरेर जितेको हो । सोही क्षेत्रको प्रदेश (ख) बाट कृष्णकुमार तामाङ (समिर) ले बस्नेतको साथ छाडेका छन् । नुवाकोटका बहादुरसिंह लामालाई बाग्मतीको मुख्यमन्त्री हटाउन अग्रभागमा हस्ताक्षर गर्नेमा कृष्णकुमार तामाङ (समिर) समेत थिए । इन्द्र बानियाँलाई साथ दिएका कृष्णकुमार अहिले बागमती प्रदेशमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री भएका छन् । 

निकट स्रोतका अनुसार गत वैशाखमा समिर मेलम्ची र हेलम्बुका केही कार्यकर्तासहित सिपा–२ (ख) को लागि विभिन्न योजना लिएर आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडामा मन्त्री कुन्दन काफ्लेलाई भेट्न गए । काफ्लेको सचिवालयले मोहन बस्नेतलाई यसबारे विस्तृत विवरण दियो । बस्नेतले काफ्लेलाई फोन गरेर त्यो योजना कुनै पनि हालतमा नपार्न अनुरोध शैलीमा थर्काए । उनले भनेका थिए ‘भोलि बागमतीको नेता हुन्छ, त्यो भोटेसँग पैसा छ,, केटाहरू पनि टन्नै छन् । तिनीहरूलाई अघि बढ्न दिनु हुन्न । हाम्रो अधिनमा राख्नुपर्छ’ त्यसपछि कुन्दन काफ्लेले दोलखाली नरे भन्ने मानिसको घरसम्म भन्दै रु. १००० को खुद्रो योजनासमेत हाले । 

समिरले पछिल्लो समय बस्नेतको हेपाई खाँदै आएका थिए । त्यहीमाथि बस्नेतको असली व्यवहार देखेपछि उनीबाट टाढिने उपयुक्त मौका हो भन्दै सम्बन्धबिच्छेद गरे । र, इन्द्र बानियाँको सम्पर्कमा पुगे । मेलम्चीका मेयर आइतमान तामाङको राम्रो सम्बन्ध छ, इन्द्र बानियाँसँग । समिर र आइतमान फरक कित्तामा थिए । २०७४ मा समिर मेलम्ची वडा नं. ४ को सदस्यमा निर्वाचित भए । २०७९ को स्थानीय निर्वाचनमा उनले आइतमानलाई खुलेर सहयोग गरेका थिएनन् । उता समिरले पनि प्रदेश सभाको टिकट पाउने आश गरेका नै थिएनन् । बढीमा मेयर, नत्र वडाध्यक्षसम्मको आशा थियो । तर, सोचेभन्दा ठूलो भाग पाए । प्रदेश सभा निर्वाचनमा समिरलाई आइतमानको टिमले खासै सहयोग गरेन । ३ दलीय गठबन्धन, मोहनको दबदबा र एमालेभित्र २४ क्यारेट र २२ क्यारेट अर्थात् ओली पक्ष र १० बुँदेका कारण एमाले जित्ने निर्वाचन गुमाएको थियो । हस्त पण्डित जस्तो राजनीतिज्ञलाई राजनीतिमा योगदान र क्षमता नभएकाले हराएका थिए । 

शुरुमा जहाँ जाँदा पनि मोहनले समिरलाई सँगै लिएर हिँड्थे, समिरले पनि मोहनको साथ छाडेका थिएनन् । तर मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भए देखि नै समिर टाढा हुन थालिसकेका थिए । त्यही माथि उनको योजना बस्नेतले कुन्दनलाई काट्न लगाएपछि, के चाहियो र ? पछिल्लो समय मेलम्ची मेयर आइतमान तामाङका र प्रदेश सभा सदस्य कृष्णकुमार तामाङको (समिर) जुगलबन्दी हेर्नलायक छ । रोचक कुरा त मोहनबहादुर बस्नेतले आजसम्म पनि समिरलाई बधाई दिएका छैनन् । 
 

टिप्पणीहरू