बालेनका नाउँमा पिए विदेशतिर

बालेनका नाउँमा पिए विदेशतिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहका स्वकीय सचिव भूपदेव शाह विदेश पुगेका छन् । बालेनको निजी सहायकका रुपमा नियुक्त शाह महानगर प्रतिनिधि बनेर थाइल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय कार्यक्रममा सहभागी हुन गएका हुन् । 

‘इण्टरनेशनल युथ फोरम’ ले अगस्ट २१ र २२ मा ‘इन्क्ल्युसिभ सिटिज, इन्फम्र्ड सिटिजन्स्’ विषयक कार्यक्रम आयोजना गरेको थियो । बैंककस्थित ‘युनाइटेड नेशन्स् कन्फरेन्स सेण्टर’ मा भएको कार्यक्रमलाई उनले महानगर प्रतिनिधिको हैसियतमा संबोधन पनि गरेका छन् । शाहले आफ्नो फेसबुकमा तस्बिर सेयर गर्दै कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरन्वित महसुस गरेको बताएका छन् । 

मेयरको महानगरको प्रतिनिधि भएर विदेश जाने पाउने व्यवस्था कतै छैन । बालेनले कानुन जुन कार्यक्रम हो, त्यससँग सम्बन्धित महाशाखा वा विभागका कर्मचारीलाई पठाउनुपर्ने हुन्थ्यो । ‘स्वकीय सचिव महानगरका स्थायी कर्मचारी होइनन् । स्वकीय महानगरको प्रतिनिधि भएर कार्यक्रममा जानै मिल्दैन । तर, तिनैले महानगरको प्रतिनिधि भएर अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन पनि गरेका छन्’, स्रोतले भन्यो । 

यसअघि कुमार ब्यञ्जनकार (बेन) लाई आफूसँगै फ्रान्स लिएर जाँदा मेयरले अख्तियारको चक्कर काट्नुपरेको थियो । बेन विदेश जाँदाको लाखौं खर्चलाई महालेखानिरीक्षक कार्यालयले अनियमित ठहर गरेपछि अख्तियारले मेयरसँग सोधपुछ गरेको थियो । सो घटनाबाट पनि बालेनको चेत खुलेको देखिएन । रोचक प्रसंग के भने, उनले विदेश जाँदा सरकारी स्वीकृति पनि लिएका छैनन् । 

उनी विदेश गएकोबारे महानगरका अधिकारीहरुलाई जानकारी छैन । सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले उनलाई तीन–चार दिनदेखि कार्यालयमा नदेखेको बताए । ‘मलाई उहाँ विदेश गएकै थाहा छैन, बिदामा हुनुहुन्छ भन्नेचाहिँ सुनेको थिएँ’, उनले भने ।  मेयरसँग सम्बन्धित कार्यक्रममा मात्र पिएहरूले उपस्थिति जनाउन मिल्ने सहायक प्रवक्ता काफ्लेको जिकिर छ । भन्छन्, ‘जान मिल्छ तर त्यो मेयरसँग रिलेटेड कार्यक्रम हुनुप¥यो ।’ यता, महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले उनले यात्रा अनुमति नलिएको पुष्टि गरे । 

‘महानगरसँग सम्बन्धित कार्यक्रममा जान सचिवालयबाट स्वीकृति लिनैपर्छ । सचिवालयलाई त उहाँ गएकै थाहा छैन’, उनले भने ।
 

टिप्पणीहरू