आतंकवादी छिरेको खबरपछि भारतमा खैलाबैला

आतंकवादी छिरेको खबरपछि भारतमा खैलाबैला

तीन पाकिस्तानी आतंकवादी बिहार राज्य प्रवेशको सूचनाले भारतीय सुरक्षा संयन्त्रमा तरंग उत्पन्न भएको छ । भारतको प्रहरी मुख्यालयले आतंकवादीको नाम र तस्बिर सार्वजनिक गर्दै बिहारको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको जनाइएको छ ।

अन्य प्रदेशका सुरक्षाकर्मीहरुलाई समेत उच्च सतर्कतामा राखिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जैश–ए–मोहम्मद नामक आंतकवादी समूहका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको सीमा नाका हुँदै बिहार पुगेका हुन् । बिहारमा प्रदेश सभा चुनाव प्रचारका लागि विभिन्न दलका शीर्ष नेताहरु पुग्ने क्रम जारी छ । 

भारतीय कांग्रेसका नेता राहुल गान्धी बिहार पुगेका छन् तर आतकंवादी गतिविधिको सूचना सार्वजनिक भएपछि उनका सबै कार्यक्रम रोकिएको छ । भारतीय प्रहरीले ती आतंकवादीहरु गएराति बिहार प्रवेश गरेको ठोकुवा गरेको छ । उनीहरुले नेपालको कुन नाका प्रयोग गरे भन्नेबारे केही खुलाइएको छैन । 

प्रहरी मुख्यालयले सीमावर्ती जिल्लाका प्रहरीलाई शंकास्पद व्यक्तिहरूको पासपोर्टसम्बन्धी विवरणहरू संकलन गर्न निर्देशन दिएको छ । खासगरी मधुबनी, सीतामढी, सुपौल, अररिया, पूर्वी र पश्चिमी चम्पारण जिल्लासहितका सीमावर्ती क्षेत्रका खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ ।
 

टिप्पणीहरू