ती मन्त्री फेराउन सक्नुहुन्छ श्रीमान् ?

ती मन्त्री फेराउन सक्नुहुन्छ श्रीमान् ?

‘हामी प्रमाण दिन्छौं, तपाईंले प्रधानमन्त्रीलाई देखाएर न्याय तथा कानुन मन्त्री फेर्न भूमिका खेल्नोस् । यति गर्न सक्नुहुन्छ ?’ यस्तो भन्ने सात जना वरिष्ठ अधिवक्तालाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ‘कहाँ सक्छु र ?’ भन्ने जवाफ दिएका छन् । ती वकिलहरू संवैधानिक इजलाश सुचारु गरियोस् भन्दै २९ गते दिउँसो २ बजे उनकै च्याम्बरमा भेट्न पुगेका थिए । उनीहरूले मन्त्री चौरसियाका कारण न्यायालयप्रति जनताको विश्वास डग्मगाउने अवस्था आएको भन्दै कानुनमन्त्री परिवर्तनको निम्ति पहल लिन आग्रह गरेको बताइन्छ । 

वकिलहरूले यस्ता मन्त्रीसँग बसेर श्रीमान्हरूले कसरी कार्य सम्पादन गर्न सक्छन् भन्दै आश्चर्यसमेत पोखेका थिए । भेटमा मन्त्रीकै कारण न्याय परिषदका काम विवादमा परेको बताउँदै उताको लिस्टमा खुरुखुरु सहमति गरिएको, विभिन्न स्वार्थसमूहबाट परिचालित भएका उनले झगडियाहरूको काम गरिदिने भन्दै नजराना उठाउने गरेको प्रसङ्ग निस्किएको थियो । ‘इतिहासमै बदनाम कानुनमन्त्रीसँग न्यायालयको अभिभावक र नेतृत्वकर्ताले डल्लिनुपर्ने कारण के हो ?’ अधिवक्ताहरूको प्रश्न थियो ।

मन्त्री चौरसियाले उच्च अदालतका मुख्य न्यायाधीशदेखि जिल्लाका १ नम्बर न्यायाधीशसम्मलाई ११ बजे बिहानसम्म फोन घुमाएर हैरान पार्ने गरेको गुनासो छ  । विभिन्न पक्षका मुद्दाहरूको सुनुवाइलाई प्रभावित गर्न उनले यसरी फोन घुमाउने गरेका हुन् । मुद्दाका पक्षहरूसँग रकम लिएर न्यायाधीशहरूलाई फोन गर्दै आएको दावी स्रोतको छ । सो भेटमा वकिलहरूले मन्त्रीले झगडियासँग एसएमएस गरी डिल गरेका प्रमाणहरू प्रधानन्यायाधीश राउतलाई उपलब्ध गराउने बताएको दावी स्रोतको छ । 

ओमप्रकाश अर्याल अध्यक्ष रहेको संवैधानिक कानुन व्यवसायी मञ्चका तर्फबाट अधिवक्ताहरू भेटघाट गर्न गएका थिए । पौने २ महिनादेखि संवैधानिक बेञ्च बस्न सकेको छैन । भेटमा अध्यक्ष अर्याल र टीकाराम भट्टराईले ‘के फूर्ति लाउनुहुन्छ, तपाईंले उच्च अदालतमा नियुक्त गरेकाहरूले सर्वोच्च अदालतमा आएर पाँच वटा मुद्दामा बहस गरेको देखाउनुहोस्’ भन्दै मन्त्रीले ल्याएको लिस्टमा खुरुखुरु सही नगर्न अनुरोध गरेको दावी स्रोतको छ । न्यायपालिका सुधार्ने भाषण धेरैपटक ठूल्ठूला स्वरले गर्नुभयो, वकिलबाट नियुक्त ३ जनालाई कसरी डिफेन्ड गर्नुहुन्छ ? उहाँहरू औसतभन्दा धेरै तलको हैसियतका हुनुहुन्छ । यस्तालाई कसरी नियुक्त गर्नुभयो ? न्यायाधीश बन्न इच्छुकमध्येबाट बेस्ट वकिललाई नियुक्त गर्नुपर्ने होइन र ? अनिच्छुक भए पनि राम्रा हुन् भने रिक्वेस्ट गरेर पनि न्यायाधीश बन्न प्रेरित गर्नुपर्ने होइन र ? यस्तो कामले तपाईंको कुरासँग तालमेल खायो त भन्दै वकिलहरूले प्रश्न तेस्र्याएका थिए । प्रतिउत्तरमा प्रधानन्यायाधीशले न्यायपरिषद्मा ‘म एक्लै छैन, अरु पनि छन्, राजनीतिक मान्छे मन्त्री छन्’ भन्दै निरिहता प्रदर्शन गरेको दावी स्रोतको छ । 

दलमा आवद्ध नभएका वा साना दलमा रहेकाहरूलाई न्यायाधीश हुने रोस्टरमै नपार्ने, ती छलफलको विषय नै नहुने । यस्तो चलन कहिलेसम्म रहन्छ ? के पारा हो यो ? कुर्सीमा बसेर दलीय आधारमा कसैलाई हेर्न मिल्छ ? समेत भन्न भ्याएको दावी स्रोतको छ । जवाफमा राउतले ‘अहिले दलविहिन त को छन् र ?’ भनेका थिए । विशेष गरी जर्नेल हिक्मत विष्टकी पत्नी शर्मिला, बालकृष्ण गैरे र अरुण पञ्जियारको विपक्षमा वकिलहरूको समूहले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । ती वकिलहरूले यी भनाइ राख्दा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको पनि उपस्थिति थियो ।
 

टिप्पणीहरू