रविका मान्छेलाई किन देशनिकाला ?

रविका मान्छेलाई किन देशनिकाला ?

सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान भएर नख्खु जेल हुँदै अस्पताल पुर्‍याइएका रास्वपा सभापति रवि लामिछानेका विश्वासपात्र मोहनजंग थापालाई अमेरिकाले डिपोर्ट गरेपछि अनेकौं चर्चा शुरु भएको छ । एक साताभन्दा बढी उतैको हिरासतमा बसेका उनलाई गत साउन २२ गते नेपाल पठाएर मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएकोमा प्रक्रिया पुरा गरेर छोडिएको छ । अमेरिकाले उनको ग्रीनकार्डसमेत खारेज गरेको छ । तर, उनी के कारणले नेपाल डिपोर्ट भए ? विस्तृतमा खुलाइएको छैन । स्रोतका अनुसार उनलाई पुरानै कसुरमा देशनिकाला गरिएको हो । उनीविरुद्ध अमेरिकामा तीन–चार वटा मुद्दा छ । म्याग्दीका मोहनजंग अमेरिका गएको झण्डै ३८ वर्ष भइसकेको छ । नेपाल घुम्न आएका अमेरिकी पर्यटकले उनलाई आफूसँगै त्यता लगेका थिए् । 

न्यूयोर्कमा केही समय बसेर बाल्टिमोर गएका उनी त्यहाँ बस्ने पहिलो नेपालीमध्येमा पर्छन् । अंग्रेजीमा राम्रै दख्खल राख्ने उनले नेपालीसहित बंगलादेशी, पाकिस्तानीलगायतका मुलुकका नागरिकहरूको परीक्षा दिन्थें र पास भएबापत डलर लिन्थे । त्यसरी नै धेरै सम्पत्ति कमाए । लोकदोहोरी गायक प्रेमराजा महत र सिने कलाकार सरोज खनाललगायतलाई अमेरिकामा स्थापित गराउने उनै हुन् । 

उनी यहाँबाट कलाकारलाई बोलाउँथे र कार्यक्रम गर्थें । नेपालीहरू भर्खरभर्खर अमेरिका जाने क्रम शुरु हुँदा उनी सेटल भइसकेका थिए । चार वटा रेष्टुरेण्ट सञ्चालनमा थिए । गाडी आवश्यक पर्नेहरूका लागि जमानी पनि बसिदिन्थे । लाइसेन्स दुरूपयोगको अभियोगमा अमेरिकामा चार वटा मुद्दा खेपिरहेका छन् । ती मुद्दामा अमेरिकी प्रहरीले उनीसहित चार जनालाई हेलिकप्टरमार्फत घर घेरेर समातेको हो । जसमा रवि लामिछाने, भूपू मेजर ईश्वर अधिकारी र विक्रम पाण्डे पनि रहेका छन् । उनीहरू चारै जना बागलुङ्गका रामबहादुर केसीको घरमा भाडामा बस्थे । भारतीय सेनाका सिपाही केसी अवकाशपछि सन् १९९० मा अमेरिका गएका हुन् ।

बोस्टनस्थित एक पञ्जाबीको रेष्टुरेण्टमा काम गर्दै आएकी छोरीको शरीरमा तेल पोखिँदा उनले १९९१ मा सरकारविरुद्ध मुद्दा दायर गरे र तीन मिलियन डलर क्षतिपूर्ति पाए । मोहनजंगले बोस्टनबाट बाल्टिमोर ल्याएर छोरीको एक वर्ष अस्पतालमा उपचार गराए । अप्ठेरो घडीमा गरेको सहयोगकै कारण रामबहादुरले मोहनजंगलाई आफ्नो घरमा बस्न दिएका थिए । समातिएका चारमध्ये ईश्वर र विक्रमसँग वर्क परमिट मात्र भएकाले त्यतिबेलै नेपाल डिपोर्ट गरियो । ग्रीनकार्ड होल्डर रवि भने २४ घण्टा प्रहरी हिरासतमा थुनिएका थिए । मोहनजंगविरुद्ध लामो समय मुद्दा चल्यो । सो घटनापछि मोहनजंग र रवि छुट्टिएको स्रोत बताउँछ । अलग हुनुअघिसम्म रविलाई मोहनजंगले नै पालिरहेका थिए । घर सरे पनि उनीहरूबीच राम्रै सम्बन्ध थियो । उक्त प्रकरणका कारण उनको अमेरिकी नागरिकता खोसियो । 

ग्रीनकार्डकै भरमा अमेरिका बसिरहेका थिए । रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि हुण्डी उता पठाएकोदेखि लिएर मन्त्री बनाउन करोडौं रूपैयाँ मागेको आरोपसमेत लाग्यो । उनी ग्रीनकार्ड होल्डर भएकाले डिपोर्ट गरिएको स्रोतको जिकिर छ । ‘पुरानै केसले डिपोट गरिएको हो । सिटिजन भएको भए डिपोर्ट गर्दैनथें, ग्रीनकार्ड होल्डरलाई कुनैपनि बेला डिपोर्ट गर्न सक्छन्’,स्रोतले भन्यो । 

रविको पार्टीलाई एक करोड 

रविलाई पार्टी खोल्नका लागि रामबहादुरले शुरुमै एक करोड रूपैयाँ सहयोग गरेको स्रोतको दावी छ । रामबहादुरको अमेरिकामा एक सय मिलियनभन्दा माथिको सम्पत्ति छ । आठ वटा रेष्टुरेण्ट छन्् । जेठी श्रीमतीसँग डिभोर्स भइसकेको छ जो अष्ट्रेलियामा बस्छिन् । कान्छी श्रीमती गोमा केसी रास्वपाको केन्द्रीय सदस्य छिन् । ‘त्यो रकम रविले पार्टीमा खर्च गरे कि अन्यत्र ? थाहा भएन । तर, पैसाचाहिँ दिएकै हो’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू