‘झरी’ मा बालेनको मनपरी
राष्ट्रपति र प्रधानमन्त्री सामेल हुने इन्द्र जात्रालगायत उपत्यकामा चलिरहेका अनेकौँपर्व छल्न उपमेयर सुनितालाई स्विट्जरल्याण्ड पठाएर आफू पोखरातिर हान्निएका काठमाडौँका मेयर बालेन साहले सरकारी सम्पत्ति दुरूपयोगमा ‘रेकर्ड ब्रेक’ गरेको पाइएको छ । उनको टोलीले फिल्मको छायांकनमा समेत महानगरीय प्रहरीलाई खटाएको छ । बालेनको सल्लाहकारसमेत रहेका नुवाकोटका हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले ‘झरीपछिको इन्द्रेणी’ चलचित्र बनाउँदैछन् । बालेनको र्याप गीत रहने चलचित्रको कथा अर्का सल्लाहकार कुमार बेन (ब्यञ्जनकार) ले लेखेका हुन् ।
गत हप्ता पशुपतिनाथ मन्दिरमा सो चलचित्रको सुटिङ्ग थियो । जसमा एक सय नगर प्रहरी परिचालन गरियो । स्रोतका अनुसार फिल्म छायांकनमा प्रयोग भएको अधिकांश सामान महानगरकै हो । ‘नगरप्रहरी महानगरभित्र सुधारको काममा खटिनुपर्नेमा बालेन र उनका सल्लाहकारले पदीय दुरुपयोग गरेका छन् । स्रोतका अनुसार सोमबार पनि महानगरको दमकलसहित भक्तपुरको बोडेमा छायांकन गरिएको छ । जतिबेला पनि खाँचो पर्न सक्ने दमकल सुटिङ्गमा दुरूपयोग गरिएपछि कर्मचारीले आपत्ति जनाएका छन् । महानगर प्रहरी बलका प्रमुख कामु एसएसपी राजुनाथ पाण्डेको निर्देशनमा उनीहरू खटिएको स्रोतको दावी छ ।
तर, पाण्डेले पशुपति निरीक्षणका क्रममा नगर प्रहरी सुटिङ्गस्थलमा पुगेको हुन सक्ने जिकिर गरे । जनआस्थासँग भने, ‘छायाकंनमा पनि कहीँ नगरप्रहरी खटाउँछ ? मिल्दै मिल्दैन । निरीक्षणका लागि नगर प्रहरीहरू स्वयम्भू, बौद्ध, पशुपतिलगायतका मन्दिरमा खटिनुहुन्छ । सोही क्रममा जम्काभेट भएको हुन सक्छ ।’
मेयरलाई डुबाउँदै सल्लाहकार
मेयर बालेनको सल्लाहकार टोलीमा रहेका अधिकांश विवादित छन् । कुनैविरुद्ध अख्तियारमा मुद्दा छ भने कुनै विवादमा तानिएर विदेश उडेका छन् । सल्लाहकार बेनलाई महानगरको खर्चमा विदेश घुमाउन लैजाँदा बालेनले अख्तियारको चक्कर काट्नुपरेको छ । अर्का सल्लाहकार सुनिल लम्सालविरुद्ध पनि मुद्दा दायर भएको छ । सल्लाहकार पाँडे महानगरको स्रोतसाधनमा फिल्म बनाउँदै छन् । बालेनद्वारा नियुक्त शहरी योजना विज्ञ शैलेन्द्र झा गत साता अमेरिका उडेका छन् । कहिलेकाहीँ कार्यालय आउने उनीहरू महानगरको कार्ड भिरेर हिँड्छन् । उनीहरूमाथि अवैध रूपमा बजार अनुगमनमा निस्किएको आरोपसमेत लाग्दै आएको छ ।
सरकारी गाडीको दुरूपयोग
बालेन यतिबेला पोखरा घुमघाममा व्यस्त छन् । उनले फेवातालमा डुंगा चलाइरहेको तस्बिर फेसबुकमा सेयर गरेका छन् । स्रोतका अनुसार सरकारी गाडी लिएरै गएका हुन् । व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्न पाइँदैन । महानगरका सहायक प्रवक्ता ध्रुवराज काफ्लेले मेयर पोखरा गएकोबारे जानकारी नभएको बताए । ‘हामीलाई त गएको पनि थाहा छैन । भिडियोमा हेरेर थाहा पाएको हो । कहिले आउनुहुन्छ ? त्यो पनि जानकारी छैन’, उनले भने ।
महानगर खाली, जनप्रतिनिधिविहिन इन्द्रजात्रा यसपालि
आउँदो भदौ २१ गते इन्द्रजात्रा परेको छ । त्यो बेला हरेक वर्ष काठमाडौंमा भव्य जात्रा लाग्ने गर्छ । इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्री उपस्थित हुने भएकाले बालेन कहिल्यै सहभागी हुँदैनन् । गत वर्ष इन्द्रजात्रा छल्नकै लागि भारत गएका थिए । यस वर्ष गाईजात्रा र भीमसेन जात्रा छल्न पोखरा पुगेका छन् । यता, उपमेयर सुनिता डंगोल स्विट्जरल्याण्ड जाँदैछिन् । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीका अनुसार सेप्टेम्बर २ देखि ४ सम्म ‘योङ ग्लोबल लिडर्स’ सम्बन्धी दुई वटा कार्यक्रम रहेको छ । ‘कार्यक्रमचाहिँ दुई दिनको हो । अब उहाँ कहिले फर्किनुहुन्छ, त्योचाँहि जानकारी भएन’,उनले भने ।
टिप्पणीहरू