सेनापतिको मावलीलाई ठाउँठाउँमा स्वाद

सेनापतिको मावलीलाई ठाउँठाउँमा स्वाद

राजा वीरेन्द्रले त्यतिखेरै एमए पास भएका गणेशप्रसाद महरालाई सेनापति बनाउन खोजेका थिए । तर, गडुलसमशेर राणालाई तान्नैपर्ने बाध्यताले वीरेन्द्रको रोजाइका पात्र दोस्रो नम्बरमा पुगे । ०४८ देखि ०५२ सालसम्म प्रधानसेनापति रहेका गडुल आइए पास मात्रै थिए । त्यतिबेला तीनतारे थिएन, मेजर जनरल सेनापतिपछिको सिनियर हुन्थे । समय कति बलवान भने उनैको भाञ्जा अशोक सिग्देल सेनापति हुँदा यतिवेला महरा खलकलाई नियुक्ति लिन भ्याइनभ्याइ छ । 

उनै महरा डोटीबाट १३ दिन हिँडेर काठमाडौँ आई एमएस पास हुन् । अशोक सिग्देलका मामा हुन् गणेशप्रसाद महरा । महराका तीन वटी श्रीमती थिए । मल्ल थरकी श्रीमतीको केही दिनअघि निधन भयो । जसलाई महराले जागिर खानुभन्दा अगाडि नै विवाह गरेका थिए । ती धनगढीमै बस्थिन् । त्यतै बिलाइन् । 

दुइटा छोरामध्ये आमाको किरिया सिध्याएर सुधिर अमेरिका फर्केका छन् ।  भावी प्रधानसेनापति अनुपजंग थापासँग पनि सुधिरको साइनो छ तर त्यो पारिवारिक होइन । उनीहरूको सम्बन्ध र सैन्य पृष्ठभूमि भने उस्तै र रोचक छ । २८ बेसिकमा ती दुवैले सँगै बेलायत स्यान्डहस्र्टबाट तालिम लिएका थिए । तालिममा सुधिर एक नम्बर र अनुप दुई नम्बर थिए । इन्टरनेशनल स्टुडेन्टमा दुवै तगडा हुँदा महरा अनुपजंगभन्दा प्रतिभाशाली रहेको सैन्य स्रोत बताउँछ । तर बिडम्वना, सुधिरले व्यक्तिगत कारणले क्याप्टेन हुँदा नै जागिर छाडे । 

२८ बेसिककै गजेन्द्र बोहरा, जो राजा युवराज दीपेन्द्रको एडीसी थिए र आइजिपी मोतीलाल बोहोराका छोरा हुन्, को दरबारहत्याकाण्डमा जागिर गयो । उनी पनि उत्तिकै तगडा रहेको सोही स्रोत बताउँछ । त्यसबेला आइजिपीको छोरो छनोट नभएर एक नम्बरमा महराको छोरो सुधिर, दोस्रोमा तेजेन्द्रजंगको छोरा अनुप आए । अनुपका बाबुको पनि उस्तै ख्याति थियो । पाइलटसमेत रहेका ब्रिगेडियर जनरल तेजेन्द्रले १४ वर्ष त ११ बाहिनी चलाए । नेपालकै सबैभन्दा राम्रो पाइलट, इमानदार छविको, प्रोफेसनल । स्रोत भन्छ, ‘तर क्याप्टेन सुधिरले जागिर छाड्दा अनुपजंगको भाग्य खुल्यो ।’

त्यतिबेलै महरा जर्साबले ल्याएर भक्तपुरको सुपिङ क्याम्पसमा भर्ना गर्दिएको हो भाञ्जो अशोकराज सिग्देललाई, अनि लप्टन पनि बनाइदिए । घुमीफिरी दिन आउँछ भनेजस्तो प्रधान सेनापति सिग्देल आफूलाई मामाले लगाएको गुन त्यतिवेला उनका छोरा–नातिलाई तिर्दैछन् । 

सिग्देलको जेठा मामाका छोरा हुन् नवजीवन महरा । जो फास्ट ट्र्याकमा नछिरिकन २७ बेसिकका भएर पनि लेफ्टिनेन्ट कर्णेलमै रिटायर्ड भए । बाबु कर अधिकृत (कुस्त धनी) थिए । अहिले उनैलाई नेपाल आर्मीको कुबेत मानिने पेट्रोल पम्पमध्ये लगनखेल रिपुमर्दिनीको हाकिम बनाइएको छ । भूपू भएकै सात वर्ष भइसक्यो । 

सिग्देलको गुन यत्तिमै सकिँदैन । सुधिरकी बहिनी, सहायक रथी नम्रता महरा साइकोलोजिस्ट हुन् । उनलाई गत हप्ता छाउनी अस्पतालको सिइओ बनाइएको छ । उनका श्रीमान् सुशील रावल पनि मेडिसिटी अस्पतालका सर्जन निर्देशक तथा सेनामा २४ बेसिकका खुकुरी होल्डर महासेनानी हुन् । भैरवनाथको कमाण्डो पल्टनमा थिए । 

डाक्टर नम्रतालाई सेनापति सिग्देलले भारत भ्रमणताका पनि लिएर गएका थिए । गणेशप्रसाद महराको छोरीपट्टिका नाति रोशनसमशेर राणा सहायक रथी छन् । हाल उनलाई राष्ट्रिय सेवा दलको साथसाथै फास्ट ट्रयाकतर्फ बन्दोबस्ती अधिकृतको पनि जिम्मेवारी दिइएको छ । उनले सम्पूर्ण बजेट हेर्ने गर्छन् । गणेशप्रसादको कान्छो छोरा सुमन गुप्तचरमा डिएसपी थिए । तर सुतिरहेको बेला पाँच–सात वर्षअगाडि उनको निधन भयो । सुधिर भर्जिनिया युनिभर्सिटीमा पढाउँछन् भने अशोक सिग्देल सेनापति हुनासाथ शशीभवनको सुरक्षा कमाण्डर बनाइएका मेजर निरज महरा राम्रो आम्दानी हुने कंगोमा खटाइएका छन् ।

 

टिप्पणीहरू