केपी र विद्याबीच ‘ड्रामा’ हैन मारामार

‘यतिसम्म होला भन्ने त लागेकै थिएन’

केपी र विद्याबीच ‘ड्रामा’  हैन मारामार

‘केपी ओली र विद्या भण्डारीबीच अहिले देखिएको विवाद साँच्चै होला कि नक्कली ?’ पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खारेज गर्दै पार्टीमा प्रतिवन्ध लगाउने औपचारिक निर्णय गरिसक्दा पनि एमालेकै एकथरी नेता–कार्यकर्तामा यस्तो भ्रम देखिन्छ । पार्टीभित्र लामो समय यौटै खेमामा रहेका यी दुईको विगतको घनिष्टतालाई नजिकबाट बुझेकाहरू भन्छन्– ओलीले विद्यालाई पार्टीमा प्रतिवन्ध लगाउने कुराको कल्पनासमेत गर्न सकिंदैन ।

तर, २०३८ सालमा मदन भण्डारीको हातबाट लिएको सदस्यता अध्यक्ष ओलीले खोसिदिएपछि विद्याको राजनीतिक पुनरागमन अहिले स्थगनमा छ । सक्रिय राजनीतिमा लाग्ने अठोटसहित पाइला अघि बढाइसकेको अवस्थामा एकाएक रोकिनुपर्दा अप्ठेरोमा रहेकी उहाँको आगामी यात्रा कसरी अघि बढ्ला ? यो प्रश्न उठिरहँदा कतिपय बाहिरकाले पनि एमालेमा चलिरहेको विवादलाई कृत्रिम ठानेका छन् । सनसनीपूर्ण समाचारको खोजीमा हिँड्ने युट्यबरले मात्र हैन नामको अगाडि डाक्टर झुण्ड्याउनेहरूले समेत त्यस्तो विश्लेषण गरेको पाइन्छ ।

ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णुप्रसाद पौडेलहरूले आफूलाई ओलीको उत्तराधिकारी दावी गरिरहेको अवस्थामा विद्यालाई अघि सार्दा किचलो चर्किने भएकाले दुई जनाको सल्लाहमै बनावटी विवाद सृजना गरिएको भन्ने बुझाई एक तहमा अहिले पनि देखिन्छ । तर, यस्ता विश्लेषण र आशंकाहरू तथ्यको नजिक नरहेको यसबीच विकसित घटनाक्रम र दुवै पक्षको आन्तरिक रणनीति हेर्दा स्पष्ट हुन्छ ।

पार्टीमा प्रतिवन्ध लागेको पर्सिपल्ट पत्रकार सम्मेलन गरेर चुप नबस्ने घोषणा गरेकी पूर्व राष्ट्रपतिले यसबीच भंगालमा विभिन्न पक्षीय भेटघाट गरेर आगामी रणनीति बनाउनुभएको छ । भनिंदैछ, उहाँको गृह प्रदेशको यात्रा त्यसैको एउटा श्रृंखला हो र यो क्रमशः देशैभर चल्दै जानेछ । संस्थापन पक्षले पनि बालुवाटारमा गुटको भेला, बैठक गरेर पूर्वराष्ट्रपतिको पक्षमा नलाग्न र त्यस्ता कार्यक्रममा नजान उर्दी जारी गरिरहेको छ । विद्यातिर लागेका नेता–कार्यकर्तालाई सकभर सम्झाउने, नभए कारवाहीको तरबार उज्याउने ओलीको रणनीति देखिन्छ ।

साताअघि विराटनगर ओर्लनुअघि एमालेसहित विभिन्न पार्टीका नेतासँग छलफल गर्नुभएकी विद्याले राजनीतिमा फर्किने निर्णयउपर पुनर्विचार नगर्ने पनि प्रष्ट पारिसकेको बुझिन्छ । अध्यक्षले बाटो छेकेपछि केही समय अलमलमा परेकी उहाँले यसबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि कांग्रेस नेता शेखर कोइराला हुँदै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसम्मलाई छुट्टाछुट्टै भेट गरिसक्नुभएको छ । ती भेटमा राजनीतिमा फर्किने निर्णयबाट पछि नहट्ने स्पष्ट सन्देश दिँदै सुझाव माग्ने गरेको बताइन्छ ।

गत साता भंगाल पुगेर लामो छलफल गरेका एक नेता भन्छन्– उहाँ राजनीतिमा फर्किने कुरामा अलमल देखिंदैन ! बरू विभिन्न विकल्पसहित ढुक्क हुनुहुन्छ ।’ एमालेमा अहिले चलिरहेको विवादलाई बाहिरबाट कतिपयले बनावटी भनेकोमा उनको जवाफ छ– कहाँ ड्रामा हुनु, ‘मारामार’ रहेछ ! ती नेताका अनुसार विद्याको भनाइ छ– केपीले यो हदसम्म गर्लान् भन्ने लागेकै थिएन । अब के गर्ने त ? भनेर सोधिएकोमा उहाँले दुई वटा विकल्प सुनाउने गर्नुभएको छ । सकेसम्म महाधिवेशनअघि नै केन्द्रीय समितिको निर्णय सच्याउन पहल गर्ने पहिलो विकल्प हो । त्यसनिम्ति सबै तहका कमरेडलाई भेटेर सुझाव लिने अनि नेतृत्वमाथि क्रमशः दबाब बढाउने योजना छ । यो सम्भव नहुँदा पार्टीभित्र आफू निकटलाई संगठित गर्दै बाहिरबाट सामाजिक अभियान चलाउने ।

विद्यालाई एमालेमा फर्काएर नेतृत्वमा स्थापित गराउने र वाम एकताको वातावरण बनाउने प्रयासमा रहेकाहरू यो घटनाबाट निराश देखिन्छन् । भूराजनीतिक सन्तुलन मिलाउँदै विद्यालाई मियो बनाएर कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न सकिन्छ भन्ने आत्मविश्वास एकथरी नेताले राखेका थिए । एमाले, माओवादी र एकीकृत समाजवादीको दोस्रो र तेस्रो पुस्ताका ती नेता भंगालसँग नियमित सम्पर्कमै छन् ।

यता, एमालेबाहेकका वामपन्थीहरूलाई एकजुट गराउने प्रयासले पनि सार्थकता पाउन सकेको छैन । समाजवादी मोर्चामा रहेका चार पार्टी सैद्धान्तिक रूपमा एकताका लागि तयार भए पनि ‘बाक्लो दाल’ खाने बानी परिसकेका उनीहरू एक ठाउँमा आइहाल्ने सम्भावना तत्काल देखिँदैन । स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजीले उपचारार्थ बेइजिङ जानुअघि  विभिन्न दलका नेतासँग लगातार भेटघाट गरेका छन् । केही हप्तायता उनले उपेन्द्र यादव, घनश्याम भुसाल, विप्लवलाई पालैपालो भेटे । तर, यस्ता भेट उल्टै गुनासो सुनाउने र मुख्य नेतृत्वप्रति असन्तुष्टि जनाउने माध्यमजस्तो बनिरहेको छ ।

केपीले देश सिध्याउन लागे, मिलेर केही गर्न पाए हुन्थ्यो भन्नेमा सबै सहमत हुन्छन्, तर एकले अर्कालाई विश्वास गर्दैनन् । उपेन्द्र यादवले त खुलेरै भनिदिए– प्रचण्डले मजस्तो मान्छेलाई त सिध्याए भने अब कसरी विश्वास दिलाउनुहुन्छ ? विप्लव र घनश्यामहरूको त्यस्तै गुनासो छ । यसअघि प्रचण्डका कारण पार्टी एकता तुहिएको आरोप लगाउँदै आएका विप्लव माओवादीले एकता गर्ने निर्णय गरेपछि भने अलमलमा परेको देखिन्छ ।

पहिले प्रचण्डका कारण एकता भाँडियो भन्ने विप्लवका नेताहरू अहिले एकताप्रति अनुदार रहेको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ । माओवादी स्थायी समिति बैठकले नेकपाको नामै किटेर पार्टी एकताको ढोका खोल्ने औपचारिक निर्णय गरेको छ । त्यसनिम्ति वार्ता टोली बनाएर छलफल अघि बढाउने भनिएको छ । तर, छलफल सकारात्मक ढंगले अघि बढेको देखिँदैन ।

 

टिप्पणीहरू