यतिसम्म गर्‍यो म्यानपावरले !

यतिसम्म गर्‍यो म्यानपावरले !

छोरा विदेशमा अलपत्र, आमाको यहाँ हारगुहार । यो पीडा हो, स्याङ्जाको पुतलीबजार नगरपालिका–११, की डल्लीकुमारी बिकको । घरको आर्थिक अवस्था निकै कमजोर भएपछि २३ वर्षीय छोरा सौगात असार २१ गते वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया उडे । 

उनलाई लागेको थियो, अब दुःखका दिन हट्दै जानेछन् । तर, छोरा विदेश उडेको एक महिना नबित्दै डल्लीकुमारीमाथि बज्रपात आइपरेको छ । एकातिर छोरा बन्धक, अर्कोतिर घरमा श्रीमान्को अवस्था नाजुक । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई काठमाडौंको वसुन्धरास्थित अलताज इन्टरनेशनल प्रालिलाई दुई लाख ४० हजार रूपैयाँ बुझाएर सौगात उडेका थिए । उनलाई सो म्यानपावर पुर्‍याउने, पुतलीबजार–१२, बस्ने अर्जुनबहादुर गुरुङ र इन्द्रबहादुर गुरुङ हुन् । 

मासिक १५ सय रियाल तलबमा ‘साजेब विभरेज सर्भिङ स्ट्याब्लिसमेण्ट’ कम्पनीमा ‘स्विट मेकर’ पदको लागि भनी म्यानपावर कम्पनीले पठाएको थियो । कम्पनीले दैनिक आठ घण्टा काम गर्नुपर्ने बताएको थियो । यद्यपि, त्यहाँ पुगेपछि भने शौचालय तथा सरसफाईको काम लगाएको र दैनिक १२ घण्टा बढी गर्नुपरेका परिवारको भनाइ छ । आमा डल्लीकुमारीले भनिन्, ‘त्यही सरसफाइको काम भए पनि छोराले गरिरहेको थियो । तर, त्यसबाट पनि निकालिदिएछन् । अहिले रोजगारविहीन छ । खानाबस्नको पनि व्यवस्था छैन रे । केही समयअघि साहुले मध्यरातमै घरबाट निकालेको पनि भनिरहेको थियो ।’

छोरा विदेशमा अलपत्र परेपछि अर्को कामको व्यवस्था गरिदिन वा स्वदेश फर्काइदिन अर्जुन र इन्द्र (म्यानपावर पुर्‍याउने) लाई सम्पर्क गरिन् । तर, उनीहरूले बेवास्ता गरे । त्यसपछि म्यानपावर कम्पनी गुहारेकी उनलाई अलताजले ललाईफकाई उजुरबाजुर नगर्ने कबुलियतनामा गराएको छ । कम्पनीले तोकेको तलब, सेवासुविधा पाएको तर आफ्नै पारिवारिक कारणले नेपाल फर्किनुपर्ने भएको भन्दै सौगातकी भाउजू चञ्चला पराजुलीलाई गत साउन २५ गते अलताज इन्टरनेशनलले कबुलियतनामा गराएको हो । ‘यस म्यानपावर कम्पनीमार्फत पठाई तोकिएको तलब एवं सेवासुविधा पाएको तर मेरो आफ्नै पारिवारिक कारणले गर्दा उक्त कम्पनीबाट म नेपाल फर्किआएको ठीक साँचो हो,’ कबुलियतनामा भनिएको छ, ‘नेपाल फर्किआएपछि पाउनुपर्ने क्षतिपूर्ति र बाँकी आर्थिक लेनदेन यस कार्यालयसँग केही पनि नरहेकोले म र यस अलताज इन्टरनेशनल प्रालि र यस प्रालिसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई कुनै पनि ठाउँमा उजुरबाजुर गर्ने छैन ।’ 

कबुलियतनामापछि समेत म्यानपावरले सौगातलाई स्वदेश फर्काउन बेवास्ता गरेपश्चात् डल्लीकुमारीले वैदेशिक रोजगार विभाग गुहारेकी छन् । उनले शुक्रबार काठमाडौंस्थित आफन्तमार्फत निवेदन दिएकी हुन् । छोराको जिउ ज्यान जोखिममा रहेको भन्दै तुरुन्त स्वदेश फिर्ता गराइदिन हारगुहार गरेकी छन् । डल्लीकुमारीका अनुसार ६ लाख रूपैयाँ नदिएसम्म फिर्ता नपठाउने साहुको अडान छ । ‘मेरो आठ हजार रियल परेको छ । त्यो नपाएसम्म यहीँ बन्धक बनाइराख्छु भन्छ रे साहु,’ उनले भनिन्, ‘हामीसँग त्यत्रो पैसा छैन । बल्लतल्ल ऋण गरेर छोरालाई विदेश पठाएको । त्यही ऋण तिर्न बाँकी छ, अब यत्रो पैसा कहाँबाट ल्याउनु !’

‘हाम्रो परिवारमा त्यति पैसा दिने अवस्था नभएको कारण मेरो छोरालाई छिटोभन्दा छिटो झिकाई जिउ ज्यानको रक्षा गरिपाऊँ भनी आवश्यक कागजातका प्रतिलिपि राखी यो निवेदन पेश गरेको व्यहोरा अनुरोध छ,’ निवेदनको अगाडि भनिएको छ, ‘हामीले अलताज इन्टरनेशनलमा फिर्ता बोलाइदेउ भन्दा विभिन्न प्रलोभनका कुरा गरी श्रममा निवेदन दिएमा ढिलाई हुने बरु मैले कही उजुर बाजुर गर्ने छैन भनी ललाईफकाई गरी अर्को कबुलियतनामा गराएको, साउदी अरबमा करकापमा मेरो खुशी राजीले फर्किन्छ भनी भिडियो बनाई थप ६ लाख रूपैयाँ क्षतिपूर्ति पाए फिर्ता पठाउँछु भनी बन्धकमा राखेको ।’

यता, छोरा विदेशमा बन्धक भएको खबरपछि बाबु मनबहादुर विकलाई हृदयघात (हार्ट अट्याक) भएको छ । केही वर्षअघि मात्र जेठा छोरा गुमाएका उनी अर्को सन्तानसमेत गुमाउनुपर्ने चिन्तामा छन् । ‘उहाँको स्वास्थ्य अवस्था नाजुक छ । अहिले उपचार गराइरहेका छौं,’ डल्लीकुमारीले भनिन्, ‘हामीले पहिले एउटा सन्तान गुमाइसक्यौं, अब अर्को पनि गुम्यो भने कसरी बाँच्नु !’ सौगातलाई सुरक्षितसाथ नेपाल फर्काइदिन मात्र आफ्नो माग रहेको उनको भनाइ छ ।
 

टिप्पणीहरू