भण्डारीका कारण अज्ञात डर ! ओलीलाई सर्भेको भर !

भण्डारीका कारण अज्ञात डर ! ओलीलाई सर्भेको भर !

सदस्यता नवीकरण दुई वर्षअगाडि नै गरिए पनि एमाले अध्यक्ष केपी ओलीलाई अहिले आएर मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्ने दिव्यज्ञान प्राप्त भयो । उनले शुरुमा सदस्यता नवीकरण गर्न खोज्दा नै छेकेको भए आज यस्तो दबाब र डरको सामना गर्नुपर्ने थिएन । तर यत्ति हुँदा पनि ओली भयबाट मुक्त भएका छैनन् । आफूले उठाएको कदमप्रति भरोसा नभएर हो कि आत्मविश्वास नबढेर ओलीले सर्वोक्षणका लागि टोली नै खटाउनु परेको छ । 

यतिबेला आएर जारी भैसकेको सदस्यता रोक्नु भनेको वास्तवमा डराएर गरेको भन्ने अर्थ लाग्छ र वास्तविकता पनि त्यही हो’ एमाले स्रोतको भनाइ छ । अध्यक्षमा उठ्छु भन्ने बित्तिकै जरै काटिदिने सदस्यमा फर्कन्छु भन्दा स्वागत गर्ते, उचित भएन नि ! ‘यो त राणाकालमा श्री ३ महाराजहरुले कसैबाट जोखिम भयो कि सकाउन नडराउने,’ स्रोत भन्छ, ‘तर्साउँदा तलका नेता खोज्ने कार्यकर्ता जस्तो भयो । तर माथिकालाई आङ सिरिङ्ग हुने रहेछ ।’ यसै डरका कारण ओलीले आफ्नो र विद्याको देशैभरको अवस्था बुझ्न नेता खटाइएको विश्वस्त श्रोतबाट थाहा लागेको छ । 

ओली अघिल्लो पटक प्रधानमन्त्री भएका बेला विकास विज्ञ रहेका धादिङका गजेन्द्र थपलियाले यो जिम्मेवारी निभाएका छन् । हाल बुद्धिजीवी परिषद्को केन्द्रीय अध्यक्ष रहेकाले देशैभरिबाट भित्री रुपमा मत सर्वेक्षण गरिसकेको बुझिएको छ । रिपोर्ट ओलीलाई मात्रै बुझाइने हो वा सार्वजनिक गर्ने हो केही खुलाइएको छैन । प्रदेशप्रदेशमा देखिएको माहोल अनुसार नतिजा कस्तो हुन्छ त्यहीअनुसार अनुकूलता र प्रतिकूलताको आधारमा सार्वजनिक गर्ने हुनसक्छ । 

विद्याको अवस्था बागमतीमा त ठीक छ, कोशीको पनि कुरा त्यस्तै आएको छ । माथिकालाई अवसर गुम्ला भन्ने डर, तर तलकालाई त त्यो डर भएन नि’ एमाले स्रोत भन्छ, ‘तलकालाई गुमाउनु के छ र ? के पाएका छन् र गुमाउनु ? उनीहरूका लागि जिते संसार, हारे के जान्छ ! जिते भने एउटा वडाको टिकट पाइएला । यसैले ओलीले एक्सन लिए भनेर तलको पंक्ति डराएको छैन । जोखिम होला भन्ने पनि सोचेको छैन ।’ शुरुमा विद्यालाई बोकेका आनन्द पोखरेलहरू यतिखेर दोधारे देखिएका छन् । एमाले स्रोत भन्छ, ‘काठमाडौँका अध्यक्ष दीपक निरौलाको कुरा एकदम प्रष्ट छ । भण्डारीले उठाएका शेरधन राईले पनि कित्ताकाट गरिसकेका छन् ।

के छ अबको योजना ? 

पार्टीले सदस्यतामै बन्देज गरे पनि भण्डारीले पछाडि नहट्ने अठोट गरेकी छन् । यसैले मदन भण्डारीलेसमेत चुनावी प्रचार गरेकै बानेश्वर थापा गाउँस्थित पुरानै घरलाई सम्पर्क कार्यालय बनाउँदै छिन् । कार्यालय व्यवस्थापन गर्नको लागि घर सरसफाइका काम हुँदैछन् । यी काममा नवराज सिलवाल, कृष्ण दाहालहरू खटिएका छन् । 

हिजो ओलीले माधव नेपालहरुविरुद्ध प्रयोग गरेको मदन भण्डारी फाउण्डेसन भण्डारीको प्रमुख हतियार हुनेछ । ओलीको पेलानमा परेका, उनको पक्षसँग प्रतिस्पर्धा गरेर पराजित भएका, प्रतिस्पर्धामा बन्देज गरिएकाहरू भण्डारीको राडारमा छन् । यिनीहरूलाई समेट्दै भण्डारीले फाउण्डेशनमार्फत आफ्ना गतिविधि अगाडि बढाउँदैछिन् । मदन भण्डारीको ७५ औं जन्मजयन्तीको हीरक उत्सवमा आगामी तीन वर्षसम्मको कार्यक्रम ल्याइसकिएको छ । यसको अध्यक्षसमेत भण्डारी पुत्री उषाकिरण छिन् । पार्टीले सहज राजनीतिको ढोका बन्द गरेपछि भण्डारीले हिजोका ओलीकै सिको सिक्दैछिन् । अर्कोतिर ओलीले भण्डारी नजिकका मान्छेहरूलाई तलैबाट प्रतिनिधिमै आउन नदिने रणनीति बनाएका छन् । 

(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू