उपमेयर कान्छी बनेर विदेशतिर

उपमेयर कान्छी बनेर विदेशतिर

फेरि एक जना जनप्रतिनिधिले साउन २५ गते देश छाडिन् ! र, घरजम गर्न अमेरिकाको कनेक्टिकटस्थित ब्रान्फोर्ड पुगिन्।उच्च शिक्षा हासिल गर्न सिन्धुपाल्चोकदेखि काठमाडौँ आएकी सीता थापा, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा १०+२ पढ्दै गर्दा एमाले अखिलको सम्पर्कमा आइन् । र, केन्द्रीय सचिवालय सदस्यसम्म भइन् । 

२०७४ सालमा चौतारा साँगाचोकगढी नपामा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनिन् र माओवादीकी जानुका पराजुलीसँग १३६६ मतान्तरले पराजित भइन् । २०७८ मा अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा स्वकीय सचिव थिइन् ।

२०७९ को स्थानीय निर्वाचनमा माओवादी र समाजवादीका तर्फबाट चौतारा साँगाचोकगढी नपाकी एमाले उम्मेदवार बालकुमारी सापकोटालाई (२०७४ की जिल्ला समन्वय उपप्रमुख) २८४९ मतले पछि पार्दै उपमेयरमा निर्वाचित भइन् । उपमेयर हुनुअघि ‘सिताके च्याउ’ उत्पादन गर्थिन् ।

अहिले लामो समयदेखि अमेरिकामा बस्दै आएका एमालेकै पुराना नेता रामचन्द्र श्रेष्ठसँग वैवाहिक नाता जोडेकी छन् । श्रेष्ठ चौतारा बजारका रैथाने हुन् भने थापा साविक साँगाचोक गाविसकी । कुनै बेला थापासँग एनजिओमा सहकार्य गरेका एक सहकर्मीका अनुसार, वैशाखमै उनीहरुले अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए ।

सो को जानकारी केहीलाई मात्र थियो । असार ३२ गते पलाञ्चोक भगवती मन्दिर (काभ्रेपलाञ्चोक) मा परिवारका केही सीमित सदस्यहरूबीच औपचारिक रूपमा सिन्दुरपोते गरेका हुन् । दुई वर्षअघि पहिलो श्रीमतीको निधन भएपछि श्रेष्ठ पीडामा थिए । एमालेका नेताहरूले गत सालदेखि नै विवाह गर्न जोडबल लगाए । उनी राजी भएपछि पटकपटकको कुराकानी र भेटघाटबाट दुवै जना विवाह गर्न राजी भएको बुझिएको छ । 

एमाले नेताहरू अमेरिका जाँदा श्रेष्ठको घरमा बस्ने गरेको उनी निकटले जानकारी दिए । एमाले अध्यक्ष केपी ओलीसमेत एक रात बसेका छन् । ओलीले नेपाल फर्किएर सक्रिय राजनीतिमा आउन आग्रह गर्दै निर्वाचनमा टिकटसमेत दिने बताएका थिए । जिल्लाका एक नेताका अनुसार २०८४ पछि सीता थापा अमेरिकामा सेटल हुने या रामचन्द्र श्रेष्ठ यतै आएर सक्रिय राजनीति गर्ने भन्ने टुंगो छैन । केही दिनमा नै टुंगोमा पुग्न सक्ने स्रोतले जानकारी दिएको छ ।

सीता थापा निकट स्रोतका अनुसार नवदम्पतीले काठमाडौंको कोटेश्वरमा आकर्षक घर खरिद गरेको छ । घर नै खरिद गरिसकेको अवस्थामा नवजोडी नेपाल फर्कन सक्ने आकलनसमेत गरिएको छ । यसबीच, नेपालका थुप्रै गाउँपालिकास्तरीय जनप्रतिनिधि विदेश भासिएको अवस्था छ ।

(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू