रविका दाहिने हात अमेरिकाबाट निष्कासित
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापा भनी चिनिने म्याग्दीका मोहनबहादुर थापा अमेरिकाबाट निष्कासित भएका छन् । अमेरिकी अध्यागमन कार्यालयले गैरकानुनी रूपमा न्युयोर्क बसेको भन्दै देश निकाला गरेको हो । साउन २२ गते विहीबार तदनुसार अगस्त ७ तारिखका दिन थापा निष्कासनमा परेपछि एयरइण्डिया एआइ २११ नम्बरको उडानबाट सिट नम्बर नाइन ईमा राति ८ बजेर ५ मीनेट जाँदा नेपाल ओर्लिएका थिए । दुई दिन हिरासतमा राखेर बल्ल उनलाई नेपाल फर्काइएको बुझिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी युसएस इमिग्रेशन एण्ड कष्टम इन्फोर्समेन्टले जारी गरेको वारेन्ट अफ रिमुभल– डिपोर्टेशन पत्रका अनुसार वर्षौंदेखि विभिन्न फैजदारी काण्डमा मुछिँदै आएका उनी पछिल्लोचोटि न्युयोर्कमा ११ मार्च २०२४ का दिन छिरेका थिए ।
आइडी नम्बर ३९२४५४३९४ धारण गरी बस्दै आएका थापाविरुद्ध अध्यागमन कार्यालयले ०७३१६४४२६ एनआइसी २४०३००११०२ दर्ता नम्बर भएको पछिल्लो मुद्दा २०२५ को अगस्त ५ तारिखमा दर्ता गरेको थियो भने नेपालको राहदानी बिए ०१४९५६२ लिएर हिँड्ने गर्थे । अमेरिका बसेर राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको आम्दानी व्यवस्थापन गर्ने मूलपात्रका रूपमा उनी चर्चित थिए । थापा लामिछानेले नेपालबाट हुण्डीमार्फत् पठाएको सहकारीको रकम र अन्य आर्जनलाई ह्वाइट मनीमा परिणत गर्न सघाउ पु¥याउने, लामिछाने अमेरिका बस्दा लागेको ऋण तिर्ने र उताका दुईवटी श्रीमती तथा छोराछोरीलाई खर्च व्यवस्थापन गर्ने काममा खटिएको श्रोतको दावी छ ।
उनी पछिल्लो समय २०८१ असोज २४ गते नेपाल आएर मंसिर २१ गते जापान गएका थिए । टोकियोमा हप्ता दिन बसी कास्की जिल्ला अदालतअघिल्तिर जुलुस व्यवस्थापन गर्न मंसिर २९ गते नेपाल आएर फागुन ३ गते अमेरिकातिर लागे । त्यसबखत यहाँ रहँदा थापामाथि रास्वपा सभापति लामिछानेको नाममा निकै फूर्तिफार्ती देखाउनुका साथै लामिछाने गृहमन्त्री हुँदा प्रहरीको सरुवा बढुवामा चासो देखाउँदै जम्मा भएको कमाइलाई यथास्थानमा थान्को लगाएको आरोप थियो । लामिछानेको निर्देशनमा थापा अमेरिकाबाहेक दक्षिण कोरिया, थाइल्याण्ड र जापान आवतजावत गरिरहन्थे । ती देशमा रास्वपाका नाममा चन्दा संकलन गर्दै लामिछानेलाई बुझाउने गर्थे । थापाको ट्राभल हिस्ट्री हेर्दा २०२३ अक्टोबर १० तारिखमा दक्षिण कोरियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, २०२४ फेब्रुअरी २१ देखि २६ सम्म थाइल्याण्ड र पटक–पटक अमेरिका आतेजाते गरेको देखिन्छ ।
(जनआस्था साप्ताहिकको साउन २८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू