सक्कली हो कि नक्कली राजीनामा ?

सक्कली हो कि नक्कली राजीनामा ?

दर्जनौं भ्रष्टाचार काण्डमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले राजीनामाको कपाली तमसुक बनाइराखेको खुलेको छ । मोटो रकम तिरेर पद किनेका उनले नियुक्त हुनेबित्तिकै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसमक्ष राजीनामाको कपाली तमसुक बुझाएको पाइएको छ । 

व्यक्तिगत कारणले पदलाई निरन्तरता दिन नसकेको राजीनामा पत्रमा उल्लेख छ । लेखिएको छ, ‘मेरो व्यक्तिगत एवं घरायसी कारणले गर्दा पदमा निरन्तरता दिन असमर्थ रहेकोले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा पेश गरेको छु ।’ रोचक प्रसंग के भने, पत्रमा मिति नै छैन । हस्ताक्षर र ल्याप्चे भने गरिएको छ । सो हस्ताक्षर र ल्याप्चे अधिकारीकै भएको स्रोतको दावी छ । पाँच करोड बुझाउने शर्तमा महानिर्देशक नियुक्त भएकोमा दुई करोड मात्र बुझाएकाले तमसुक गराइएको र बाँकी रकम नबुझाए नयाँ मिति हालेर मन्त्रिपरिषद्मा लैजानका लागि मिति नराखिएको हो ।

‘राजीनामा पत्र उनकै हो । ढोका थुनेर पत्र लेख्न लगाइएको थियो । पाँच करोड दिन्छु भनेकोमा दुई करोड मात्र दिए । तीन करोड तिर्न बाँकी भनेर कागज गराउन नमिल्ने भएपछि राजीनामा पत्र लेख्न लगाइयो । पैसा नदिएमा नयाँ मिति हालेर मन्त्रिपरिषद्मा लैजानका लागि ठाउँ खाली राखिएको हो’, स्रोतले भन्यो । तत्कालीन मन्त्री आलेले भने अधिकारीका विषयमा आफूले बोल्दै–नबोल्ने बताए । 

जनआस्थासँग ‘त्यो फटाहाबारे मलाई नसोध्नुस् । त्यो अपराधीका विषयमा केही बोल्दिनँ’ भन्दै फोन काटिदिए । अधिकारीलाई क्यानको महानिर्देशक नियुक्त गर्दा आले नै मन्त्री थिए । २०७८ माघ १७ गतेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका अधिकारीमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि जनकपुर र भैरहवा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल निर्माणको क्रममा अर्बाैं भ्रष्टाचार गरेको आरोप छ ।

त्यसैगरी, सिनामंगलस्थित प्राधिकरणको नयाँ भवनमा पनि ठूलो घोटाला गरेको आरोप लागेको छ । तीनवटै शीर्ष नेतालाई हात लिएर जोगिइरहेका अधिकारीमाथि अख्तियारले भने कहिल्यै नटुंगिने छानबिन गरिरहेको छ । 

टिप्पणीहरू