‘नभागेको भए उतिबेलै मारिन्थेँ’
राजसंस्था फर्काउन कस्सिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चैत १५ गते तीनकुने घटनामा आफू बालबाल बाँचेको बताएका छन् । उक्त दिन सरकारले आफूलाई इन्काउन्टर गर्न चार वटा छुट्टाछुट्टै टोली खटाएको उनको दावी छ ।
करिब चार महिना थुनामा बसेर साउन २० गते २८ लाख धरौटी बुझाएर रिहा भएका प्रसाईंले आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ स्थित निजी निवासमा पत्रकार सम्मेलन गरेर अनुभव सुनाएका हुन् । ‘म आउनुभन्दा अघि नै बन्दुक पड्किसकेको थियो, मैले अगाडिपट्टीको घरमा मलाई नै बन्दुक ताकेर बसेका केही मान्छे देखेपछि सिधै पुलिसकै एरियामा छिरेँ’, उनले सुनाए, ‘डिएसपी सापले तपाईले मञ्चमा गएर आफ्नो कुरा राख्नुस् र गइहाल्नुस् भनेपछि म मञ्चमा पनि गएँ, आँखा पिरो भइरहेको थियो, साथीहरुलाई हल्ला नगर, संयमित होउ भन्दै थिए, तर टियर ग्यास रोकिएन ।’
प्रहरीले आफूलाई लक्षित गरेर धारावाहिक रुपमा टियर ग्यास फालेपछि भाग्नुपरेको प्रसाईको भनाइ छ । ‘त्यतिबेला एक जना पुलिस, सिभिलमा मान्छे हुन्, मेरो पनि शुभचिन्तक हुन्छन् नि त्यहाँ, उनले तपाई मार्ने योजना छ भनेपछि म भागेँ’, उनले अघि सुनाए, ‘कतिपयले मलाई भाग्ने हैन भनेर सल्लाह पनि दिए, त्यो आफ्नै ठाउँमा छ, तर त्यतिबेला म नभागेको भए यति म जीवित रहँदैन थिए, इन्काउन्टर भइसक्थेँ, बालबाल बाँचेँ ।’
राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोल समितिका जनकमाण्डर समेत रहेका प्रसाईंले हिरासत र थुनाभित्र आनान्दको जीवन बाँचेको पनि बताएका छन् । ‘यो संविधानले कसैलाई खान–लाउँन दिदैन, अब आर्थिक क्रान्ति गर्ने हो’, उनको भनाइ छ ।
टिप्पणीहरू