जेलभित्र झन् बढ्यो ज्यादति

जेलभित्र झन् बढ्यो ज्यादति

गत शुक्रबार राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीको एक समूहले अर्को समूहमाथि सांघातिक आक्रमण गर्दा एक जनाको ज्यान गयो । लागुऔषध मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४, का ४० वर्षीय भरत चौधरीको मृत्यु भयो भने अन्य ४८ जना घाइते भए । कारागारमा रहेका तीन ब्लकमध्ये ‘ए’ ब्लकका कैदीबन्दीले पर्खाल तोडेर ‘बी’ ब्लकका कैदीमाथि अन्धाधुन्द आक्रमण गरेका थिए । झडपपछि शनिबार दिनभर कारागार अशान्त बन्यो । कैदीबन्दीहरूले कारागार पूर्ण नियन्त्रणमा लिँदै सुरक्षाकर्मीलाई प्रवेशमा रोक लगाए । आइतबारबाट भने अवस्था सामान्य बनेको हो । 

घटनाबारे छानबिन जारी छ । शनिबारै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएकोमा दश दिनको समय दिइएको छ । कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई अदालतको आदेशबमोजिम कारागार चलान गरिन्छ । कोही मुद्दा पुर्पक्षका क्रममा थुनामा परेका हुन्छन् भने कोही अदालत वा न्यायिक निकायले तोकेको सजायँ काट्न कारागार बस्छन् । जेल राख्नु अपराध कर्ममा लागेकालाई सुधारतर्फ उन्मुख गराउनु हो । तर, पछिल्ला केही वर्षयता कारागार अपराध सिक्ने थलोका रूपमा विकसित हुँदै गएको छ ।

जेलभित्रै वा निस्किएपछि पनि आपराधिक कर्ममा संलग्न हुने क्रम बढ्दो छ । अहिले कारागारमै सञ्जाल बनाएर अवैध क्रियाकलाप गर्नेको जमात बाक्लिँदो छ । ‘सुधार थलो’ मानिने कारगारभित्रै गम्भीर प्रकृतिका अपराधिक योजना बुनिरहेको भेटिन्छ । सजायँ भोगेर थुनामुक्त हुनेबित्तिकै पुनः गम्भीर अपराधमा पक्राउ पर्नेको संख्या दिनहुँ बढ्दो छ । श्रीमती हत्या अभियोगमा पाँच वर्ष जेल सजायँ काटेर छुटेका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले गत साउन १२ गते एक किशोरीको हत्या गरे । जनकपुरधाम उपमहानगरपालिका–४, बस्ने आशा यादवकी छोरी १५ वर्षीया अञ्जलीको खुकुरी हानेर हत्या गरियो । साहले अञ्जलीकी आमा आशा र उनकी भतिजी राधा यादवमाथि पनि खुकुरी प्रहार गरेका थिए । यद्यपि, उनीहरू भने घाइते मात्र भए । घटनालगत्तै फरार उनी साउन १४ गते प्रहरी नियन्त्रणमा पुगे ।

त्यसक्रममा उनले मृत अञ्जलीकी आमा आशासँगको सम्बन्धका कारण हत्या गरेको खुलेको हो । आशाले सम्बन्ध तोड्न खोजेपछि आक्रोशमा आएर उनले हत्याको योजना बनाएको प्रहरीको निश्कर्ष छ । साह ०७१ चैत २ गते श्रीमती सरितादेवी साहको हत्या गरेर पाँच वर्ष जेल सजायँ भोगी ०७७ मा रिहा भएका थिए ।  कर्तव्य ज्यान मुद्दामा माफी मिनाहा पाएर छुटेका मोरङको उर्लाबारी नगरपालिका–५, का सुवास तामाङले साउन १५ गते पुनः अर्काे हत्या गरे । मोबाइल चोरेको निहुँमा उर्लाबारी–४, का २१ वर्षीय कुशल दाहालको छुरा हानेर हत्या गरेका हुन् । सुवास यसअघि पनि पटकपटक जेल परिसकेका छन् ।

०७१ असोजमा उर्लाबारी–२, का नवीन राईको हत्या अभियोगमा उनलाई दश वर्ष कैद सजायँ सुनाइएको थियो । तर, प्रजातन्त्र दिवसको दिन सरकारबाट माफी मिनाहा पाएर ०७६ सालमा छुटे । छुटेलगत्तै ज्यान मार्ने उद्योगमा पुनः पक्राउ परे । ०७७ भदौमा कैद सजायँ भुक्तान गरी निस्किएका तामाङ फेरि लागुऔषध मुद्दामा समातिएकोमा पछिल्लो पटक भने अभद्र व्यवहारसम्बन्धी मुद्दामा धरौटी तिरेर छुटेका थिए । बहुविवाहको कसुरमा जेल सजायँ काटिरहेका रुकुम पश्चिम सानीभेरी–९, का ३३ वर्षीय लोकेन्द्रबहादुर बिकले ०८० सालको संविधान दिवसका अवसरमा क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाए । ‘असल चालचलन’ भएको भन्दै उनलाई माफी दिएकोमा छुटेको एक महिना नबित्दै मुसीकोट नगरपालिका–७, साखकी २७ वर्षीया भावना बिकको हत्या गरे । कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल बसेपछि महोत्तरीका रामनाथ दासले गणतन्त्र दिवसका दिन उही ‘असल चालचलन’ का आधारमा ०७९ जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाए । तर, छुटेको डेढ महिनामै काका ६० वर्षीय रामबहादुर दासको हत्या गरे ।

राजधानीका विभिन्न हाइकिङ स्पटमा हतियार देखाएर लुटपाट गर्ने मकवानपुरका धनबहादुर स्याङताङ प्रहरी नियन्त्रणमा छन् । उनले गत साउन १२ गते नागार्जुन नगरपालिका–७, बिन्दवासिनी मन्दिर नजिक जंगलमा धारिलो हतियार देखाएर लुटपाट गरेका थिए । धनबहादुरको पृष्ठभूमि आपराधिक प्रकृतिको छ । ०६९ मा ललितपुरको खोकनास्थित बालगृहमा डाँका चोरीसँगै पीडितलाई जबरजस्ती करणी गरी भागेका थिए । यो कसुरमा ११ वर्ष सात महिना जेल बसेर ०८० माघमा रिहा भएका धनबहादुर त्यसयता पनि अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

०७५ चैत १ गते रूपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरस्थित तिनाउ खोलामा एउटा शव भेटियो, उक्त शव लमजुङको मध्यनेपाल नगरपालिका–२, सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेको भएको प्रहरीले पत्ता लगायो । लामो अनुसन्धानपछि हत्याको आरोपमा कास्कीका ६८ वर्षीय बलबहादुर सुनार समातिए । तीन लाख रूपैयाँभन्दा बढी रकम लुटेर उनले हरिबहादुरको हत्या गरेको पाइएको हो । सुनार त्यसअघि पनि चोरी, डकैती, हत्या अभियोगमा पटकपटक गरी २० वर्ष जेल सजायँ भोगेर छुटेका थिए । र, निस्किएलगत्तै पुनः अपराधमा संलग्न भई जेल चलान भए ।

कारागारभित्र सरकार

मुलुकभरका कारागारमा बेथिति र असुरक्षा बढ्दो छ । सबैजसो जेलमा ‘ग्याङस्टर’ को साम्राज्य छ । कारागारभित्रै ‘शासन’ चलाउन आपराधिक पृष्ठभूमिका कैदीबन्दीबीच सधैं शक्ति संघर्ष हुने गरेको छ । हालै कैलालीमा भएको घटना पनि यसैसँग सम्बन्धित देखिन्छ । ०७८ कात्तिक २३ गते टीकापुरमा भएको भूपेन्द्र बडुवाल हत्याकाण्डका नवीन रावल समूह (नन्दु सरकार) र जयन्द्र समूहबीच ‘कारागारभित्र प्रभुत्व जमाउने’ विषयमा विवाद हुँदा शुक्रबारको घटना घटेको हो । कैलालीमा मात्र होइन, सिराहा, कास्की, मोरङ, खोटाङ, चितवन, काठमाडौं, सुनसरी, झापा, बर्दियालगायत कारागारमा पनि ‘नाइके’ भन्ने विषयमा कैदीबन्दीबीच हिंस्रक झडप भइसकेका छन् ।

‘सजायँको नाममा जेल लगेर थन्क्याउँदाको परिणाम’

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) हेमन्तमल्ल ठकुरी जेल सुधारात्मकभन्दा दण्डात्मक बनेको बताउँछन् । सजायँको नाममा जेल लगेर थन्काइदिने र सुधारमा ध्यान नदिँदा जेलभित्रै र बाहिर पनि अपराध बढिरहेको उनको भनाइ छ । ‘जेल सुधार गर्ने थलो हो । कुनै पनि अपराधमा संलग्न व्यक्ति जेल पुगेपछि निस्किँदा सुध्रिएको होस् भन्ने विश्वास गरिन्छ । तर, केही वर्षयता भइरहेका घटनाक्रमले यसविपरीत देखाउँछ । जेल पुग्नुअघि सामान्य अपराधी रहेकाहरू निस्किएपछि झन् ठूलो अपराधी बनिरहेका छन्,’ पूर्वडिआइजी ठकुरी भन्छन्, ‘सरकारले जेलको सुधारमा ध्यानै दिन खोजेको छैन । जेल लगेर थन्क्याइदिने काम मात्र भइरहेको छ । जसले जेलभित्रै पनि अपराध बढिरहेका छन् भने त्यस्ता कैदीबन्दी बाहिर निस्किँदा अर्को खतरा भएको छ ।’ जेलको सुधारमा सरोकारवाला निकायहरू नतातेसम्म यस्ता घटना (कैलाली) नरोकिने उनको ठम्याई छ । ‘यसमा राज्य नै लाग्न आवश्यक छ । राज्यले चाहेमा सुधार सम्भव छ । तर, राज्य नलागेसम्म जेल सुधार सम्भव छैन,’ ठकुरी भन्छन् ।

प्रहरी भन्छ– जेलभित्र नयाँ–नयाँ कुरा सिकेर अपराधमा विज्ञता

कारागारलाई सुधारगृहका रूपमा परिकल्पना गरिए पनि त्यसो बन्न नसकेको नेपाल प्रहरी स्वीकार्छ । केन्द्रीय प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरे कैदीबन्दीलाई शिक्षा र समाजमा पुनःस्थापित गराउन नसक्दा पुनः अपराधमा संलग्न हुने क्रम बढेको बताउँछन् ।

‘अपराधमा संलग्न हुनेमध्ये धेरैजसो पहिल्यै जेल परेर छुटेका छन्् । नयाँभन्दा पनि पुरानाको नै आपराधिक क्रियाकलाप संलग्नता देखिन्छ, ’ उनी भन्छन्, ‘जेल सुधारगृह बन्न सकेन । कारागारमा शिक्षाको अभाव भयो । कैदीबन्दीलाई सजायँ काट्न मात्र जेल पठाउँदा उनीहरू झन् बिग्रिए । ठाउँ अभावका कारण गम्भीर र सामान्य मुद्दाका कैदीबन्दीलाई एकै ठाउँ राखिएको छ । जसले उनीहरू घुलमिल भई नयाँ नयाँ कुरा सिकेर अपराधमा विज्ञता हासिल गर्छन् ।’ अर्कोतर्फ, एक पटक जेल पुगेको व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुँदा पनि पुनः अपराधकर्ममै फर्किने गरेको प्रहरी प्रवक्ता घिमिरेको ठहर छ । ‘जेल बसेर आएको व्यक्तिलाई समाजले आपराधिक पृष्ठभूमिबाटै हेर्छ । रोजगारी दिइँदैन । कतिपयसँग सीप पनि हुँदैन, समाजले नअपनाएपछि उसले फेरि गलत बाटो रोज्छ,’ उनले थपे ।

जेलभित्रै शिक्षा र सिपको व्यवस्था र निस्किएपछि समेत राज्यले रोजगारीको प्रतिबद्धता गरेमात्र कारागार र कैदीबन्दीमा सुधार ल्याउन सकिने उनको भनाइ छ । ‘प्रहरी भएकाले यो काम हामी गर्न सक्दैनौं । हाम्रो काम अपराधीलाई समात्नु र सुरक्षा दिनुमात्र हो । उनीहरूको सुधार गर्नु राज्यको काम हो,’ प्रवक्ता घिमिरेले भने ।

के भन्छ कारागार विभाग ?

कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई कारागार सुधारका काम भइरहेको र विस्तारै नतिजा देखिने बताउँछन् । जेलभित्रै पढाइदेखि सिपको व्यवस्था गरिएको उनको दाबी छ । ‘पढ्न चाहने कैदीबन्दीका निम्ति पुस्तकालयको स्थापना गरिएको छ । सिप सिक्ने चाहनेलाई विभिन्न तालिम दिइरहेका छौँ,’ भट्टराई भन्छन्, ‘कारागारमा पहिलेभन्दा सुधार भएको छ । कैदीबन्दीको आचरणमा पनि सुधार छ । केही घटनालाई हेरेर सबै कारागार र कैदीबन्दी बिग्रिएको भन्न मिल्दैन ।’
 

टिप्पणीहरू