पैसा माग्ने,नदिनासाथ नक्कली मोसो दल्ने !
नापी कार्यालय खैरहनी,चितवनका प्रमुख शालिकराम लम्सालमाथि दुर्व्यवहार गर्ने आफ्ना कार्यकर्ता छुटाउन नेकपा (बहुमत) का नेताहरुले प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई भेटेका छन् ।
शुक्रबार सिडिओ कार्यालय पुगेका बहुमतका केन्द्रीय नेताहरुले प्रहरी हिरासतमा रहेका चितवन जिल्ला इन्चार्ज ध्रुव खड्का ‘बिरामी’ भएकोले छाडिदिन अनुरोध गरेका हुन् ।
घटनाको तीन दिनअघि मात्रै जिल्ला इन्चार्ज फेरिएको र भूलबश त्यस्तो घटना हुन पुगेकोले एक पटक माफ गरिदिन उनीहरुले आग्रह गरेका थिए ।
यद्यपि, उक्त अनुरोधलाई सिडिओ पौडेलले अस्वीकार गरेका छन् । खड्कालाई अदालतले थुनामा राखी अनुसन्धान गर्न आदेश दिएकोले छुटाउन नसकिने उनले स्पष्ट पारे ।
लम्सालमाथि कालोमोसो दल्न खोज्ने बहुमतका तीन कार्यकर्तामध्ये जिल्ला इन्चार्ज खड्का प्रहरी हिरासतमा रहे पनि अन्य दुई जना भने फरार छन् । उनीहरुको खोजतलास द्रुत गतिमा भइरहेको सिडिओ पौडेलले जनआस्थालाई बताए ।
उनका अनुसार घटनाको दुई घण्टामै खड्कालाई समातिएको थियो । अन्यलाई समेत कानूनी दायरामा ल्याउने सिडिओ पौडेलको भनाइ छ ।
‘उनीहरुले सम्पूर्ण कर्मचारीबाट सहयोग उठाएर दिनुस् भने । चन्दाजस्तो कुरा व्यक्तिले मनबाट जे जति सकिन्छ गर्ने हो ।’
उनले भविष्यमा त्यस्ता घटना हुन नदिन सुरक्षा सतर्कतालाई थप मजबुत बनाइएको पनि बताए । साथै, कानूनलाई हात लिने जुनसुकै समूह वा व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको चेतावनी दिए ।
यता, घटनाको विरोधस्वरुप नापी कार्यालय खैरहनीका कर्मचारीहरुले सेवा ठप्प पारेकोमा केन्द्रीय नापी विभागको निर्देशनपछि सुचारु भएको छ । विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार सेवा पूर्णरुपमा सुचारु भइसकेको छ ।
उनले भने, ‘कुनै पनि कुराले सेवामा बाधक पुर्याउन नहुने हाम्रो सोचाई हो । त्यसैले, हाम्रो निर्देशन दिएपछि त्यहाँ सेवा सुचारु भइसकेको छ ।’
कालोमोसो दलिएको नक्कली फाेटाे देखाइएकाेमा नापी कार्यालय खैरहनीका प्रमुख शालिकराम लम्सालले जनआस्थासँग दुःखेसो पोखेका छन् । चन्दा नदिएकै कारण आफूमाथि दुर्व्यवहार भएको उनको ठम्याई छ ।
लम्सालले भने, ‘उनीहरुले सम्पूर्ण कर्मचारीबाट सहयोग उठाएर दिनुस् भने । चन्दाजस्तो कुरा व्यक्तिले मनबाट जे जति सकिन्छ गर्ने हो ।’
उनले सरकारी सेवामा जोडिएको दिनदेखि हालसम्म जानेर वा नियतवश कुनै पनि सेवाग्राहीलाई दुःख दिने, काममा झुलाउनेजस्ता अनैतिक कार्य नगरेको पनि बताए ।
‘जुन कुरा मेरो संस्कारमा कहिल्यै सिकिन र मलाई त्यस्तो गर्न सिकाइएन पनि,’ लम्सालले थपे, ‘मैले पदको दुरुपयोग गरेर कुनै गलत काम गरेको छु भने ममाथि छानबिन गर्ने राज्यका सक्षम निकाय छन् ।’
साथै, आफ्नो बेइज्जति र आफूमाथिको दुर्व्यवहारको भरपाई कसरी हुन्छ ? भन्ने प्रश्न पनि उनले गरेका छन् ।
लम्सालले आफूमाथि कालोमोसो भने नदलिएको स्पष्ट पारे । उनका अनुसार मोसो दल्ने प्रयास भएको हो तर फोटोमा देखाएजसरी दलिएको चाँहि होइन । प्रविधिको दुरुपयोग गरेर अरुलाई भ्रमित बनाउन त्यस्तो फोटो बनाइएको त्यहाँस्थित कर्मचारीहरुले बताएका छन् ।
टिप्पणीहरू