बुद्ध एअरमा चाहिँ तलब बढ्दैन ?

बुद्ध एअरमा चाहिँ तलब बढ्दैन ?

आफू मोटाउने, कामदारलाई भोकभोकै सेक्ने ! सन्दर्भ मुलुककै उत्कृष्ट निजी वायुसेवा कम्पनीमा गनिने बुद्ध एअरको हो । सन् १९९७ मा स्थापित बुद्धले कामदारमाथि चरम श्रमशोषण गरिरहेको आरोप छ । नाफा बढेको र घरेलु एअरलाइन्सतर्फ अग्रणी स्थानमा रहेको गर्व गर्ने बुद्धले कामदारलाई निकै न्यून तलब दिएको छ । र, यो क्रम आठ वर्षदेखि जारी रहेको बताइन्छ । 

सरकारले प्रत्येक दुई वर्षमा तलब बढाउने गरे पनि बुद्ध एअरले सात वर्षदेखि एउटै तलबमा काम लगाइरहेको छ । जबकि यसबीच उसको नाफा दोब्बरले बढेको छ । तर, तलबको विषय निस्किनेबित्तिकै सञ्चालकको दाँतबाट पसिना छुट्छ । 

कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत हुन् । कार्यकारी निर्देशकमा छोरी आस्था बस्नेत थापा छिन् । आस्थाले हरेक पटक बैठक बोलाउँदा शुरुमै ‘स्यालरीको कुरा नगर्ने, कामको विषयमा मात्र छलफल गर्ने’ भन्ने गरेकी छन् । हाल बुद्धमा १७ सय हाराहारी कर्मचारी हेरेको हेर्‍यै छन् ।

अहिलेको महँगीमा बुद्धले दिएको तलबले बिहान–बेलुका छाक टार्नै समस्या भएको कर्मचारीको गुनासो छ । तिनले भने, ‘कम्पनीले दिएको २०–२२ हजारले कसरी परिवार पाल्ने ?, हामी कसरी बाँच्ने ?’

बुद्ध एअरमा आठ वर्षअगाडि दैनिक ४ हजारदेखि ४५ सय जनाले यात्रा गर्ने गरेकोमा हाल बढेर झण्डै १० हजार पुगेको छ । चाडपर्वमा यो संख्या दोब्बर हुन्छ । यो अवधिमा विमानको भाडा ह्वात्तै बढेको छ । तर, कर्मचारीलाई दिनुपर्ने तलब भने एक सुको पनि बढाइएको छैन ।

बुद्धमा लोडरको तलब २० हजार हाराहारी छ । काठमाडौँमा २० हजारले जीविका चल्छ ? कोठाभाडा तिर्नुपर्‍यो, खानै पर्‍यो, बालबच्चा पढाउनै पर्‍यो । सन् २०२५ को ६ महिनामा सात अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको आम्दानी यस वर्ष १४ अर्ब नाघ्ने देखिन्छ । सन् २०२३ मा आम्दानी १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ थियो । 

एक लेखा सहायक भन्छन्, ‘हाम्रो श्रम शोषण गरेर उनीहरू कमाउँछन्, नेता पाल्छन्, फ्री टिकट बाँड्छन्, कर्मचारीलाई केही न केही !’

धमाधम विमान थप

बुद्ध एअरले धमाधम विमान थप गरिरहेको छ । हालै दुई वटा नयाँ विमान किनेको छ । साउथ इण्डियाबाट एउटा जहाज ल्याइएको छ । त्यसैगरी, बंगलादेशमा डुबेको वायुसेवा कम्पनीको जहाज खरिद भएको छ । जहाज थपेको बुद्धले यसपालिको चाडपर्वमा धेरै कमाउने देखिन्छ ।

वीरेन्द्रले ज्वाइँका निम्ति पनि कम्पनी खोलिदिएका छन् । सो कम्पनीले जहाजको पार्टपुर्जा आयात गर्छ भने ‘आइपी’ लगायत एअरलाइन्सको सम्पूर्ण सिष्टम सम्हाल्दै आएको छ । पार्टपुर्जा आयातमा बाहिरको व्यक्तिलाई भित्रिन नदिन उनले कम्पनी नै खोलिदिएको हुनुपर्छ ।
 

टिप्पणीहरू